धरानः चर्चित लोकपप गायक तथा कलाकार कुमार न्यौपानेले ‘मेरी स्वास्नी पोइला गई’ गीतको म्युजिक भिडिओ सार्वजनिक गरेका छन् ।
उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीत टिकटक जस्ता सामाजिक सञ्जालमा भाइरल भइसकेको छ । यो गीत स्पोटिफाई, युट्युब म्युजिक र एप्पल म्युजिकमा पनि उपलब्ध छ ।
‘मेरी स्वास्नी पोइला गई’ भिडियो गीतमा कुमार आफैंसँगै चर्चित पहलवान अस्मिता जुरेली, भगवती खड्का (युनिका), अमितजंग कार्की, कुसाङ रुम्बालगायतका कलाकार छन् । गीतकार दीपक पौडेलले लेखेको गीतमा कुमार न्यौपानेको संगीत र बाबुल गिरीको एरेन्ज छ । ‘मेरी स्वास्नी पोइल गई’ हास्य र मनोरञ्जनको अनुपम मिश्रणको साथ सुन्न लायकको गीत हो ।
न्यौपानेको गृहजिल्ला दोलखाको खरिढुङ्गास्थित सुन्दर स्थानमा छायांकन गरिएको गीत रमाइलो र मनोरञ्जनात्मक छ । सुँगुरले भिडियोमा थप रमाइलो थपेको छ । कुमार न्यौपानेका यसअघिका ‘ढाका टोपी मैलो’, ‘जुलुस’ र ‘हङ्कङ बजारमा’ जस्ता गीत नेपाली दर्शकमाझ अझै लोकप्रिय छन् ।