धरानः किरात याक्थुङ चुम्लुङ धरानको आयोजनामा धरानको भानुचोकैमा लिम्बू समुदायहरुको चाड र सांस्कृतिक प्रदर्शनी भएको छ ।
यक्वा तङ्नाम (उभौली पर्व ऐले सम्वत ५०८३) मनाउने क्रमको शुुरुवातमै ढोलझ्म्टासहित आन्दोलनको घोषणा गरेका थिए । आज बैशाखे पूर्णिमाको दिन आदिवासी जाती समुदायको प्रमुख पर्वमध्ये एक पर्व (उभौली पर्व एले ५०८३) यक्वा तङ्नाम शुरु भएको छ । धरानका राई, लिम्बू, सुनुवार, याख्खालगायत किरात समूहका जातिहरूका जातीय संस्थाहरूको आयोजनमा आफ्ना संस्कारका साथ बिहान प्रकृतिको पूजा अर्चना गरेका छन् ।
भानुचोकमा आयोजित कार्यक्रममा कियाचुकै केन्द्रीय सल्लाहकार नरप्रसाद लिम्बूले यसपालि पहिचानवादीहरुको संयुक्त संघर्ष समितिको निर्णय बमोजिम उभौलीलाई कोशी नाम खारेज र पुनः नामाकरणको जारी आन्दोलनसँग जोडेर मनाउने क्रममा सडकमा आदिबासी जातिका सांस्कृतिक प्रदर्शनीसँगै परम्परा संस्कारसँग जोडिएको परिकारहरूको खानपानका साथ उपस्थित भएको बताए ।
भानुचोकमा आयोजित प्रदर्शन कार्यक्रममा प्रदेशका ८२ सांसदलाई बहिस्कार गरौंलगायतका नारालगायतका नारा पनि लगाएका थिए । जनता समाजवादी पार्टी धरानका अध्यक्ष ताजुब लिम्बूले नश्लीय चिन्तन बोेकेका केही नेता र राजनीतिक दलका कारण अहिले यो अवस्था आएको बताए । उनले जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने वस्तुमा जाँडलाई लिम्बू संस्कृतिमा बाँडेर खाने चलन रहेको बताउँदै त्यसले एकता र भावनात्मक सम्बन्धकहरु बढाउने समेत बताए ।
कार्यक्रममा ढोलझ्म्टासहित च्याब्रुङ नाचको प्रदर्शन समेत भएको थियो । कार्यक्रम कियाचु धरान समितिका अध्यक्ष पदमा लिम्बूको संयोजकत्वमा सम्पन्न भएको थियो ।
तस्वीरः लक्ष्मण थापा


