धरानः धरानमा लामो समयदेखि स्थगित कार्यपालिका बैठक आइतबार बस्ने भएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले आइतबार बैठक बस्ने सहमति भएको जानकारी दिए । ‘अहिलेसम्म जे जति भए, पुराना कुराहरु सबै बिर्सिएर आइतबार कार्यपालिका बैठक बस्ने एकखाले सहमति भइसकेको छ’, उनले भने, ‘आइतबार बैठक बस्छ, सबै वडाध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिति हुनेछ ।’
शुक्रबार मेयर, उपमेयर अइन्द्रविक्रम बेघा साथै वडाध्यक्षहरु छलफलमा जुटेका थिए । सो छलफलपछि आइतबार बैठक बस्ने निर्णयमा पुगेको जनाइएको छ ।
गत चैतमै भएको कार्यपालिका बैठक एजेण्डामा प्रवेश नगरीकन स्थगित भएको थियो । गत चैतमा मेयर साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले वडाध्यक्षहरूलाई पठाएको पत्रको विषयमा वडाध्यक्षहरूले कुरा उठाएको थिए । सो विषयमै वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले हालसम्म अडान राख्दै आएका थिए । उनीहरुले सो सँगै पाँच बुँदे माग वडाध्यक्षलाई स्पष्टीकरण सोधिएको, स्वकीय सचिवलाई कारवाही हुनुपर्ने, कार्यपालिका बैठक तुरुन्त बोलाइनुपर्ने, संघ र प्रदेशसँग योजना मागको सिफारिस गर्नुपर्नेलगायतका पाँचबुँदे माग राख्दै आएका थिए ।
मेयर साम्पाङले भने स्वकीय सचिवलाई नभई प्रशासन फाँटका कर्मचारीलाई पत्र काट्ने विषयमा भनेको बताएका थिए । मेयर साम्पाङले कर्मचारीमाथि नै कारवाही हुनुपर्ने माग राख्दै आएका थिए । हाल मेयरले कारवाही गरिनुपर्ने भनिएका कर्मचारी अर्कै फाँटमा सरुवा समेत भइसकेका छन् ।