धरानः धरानस्थित दुई छुट्टाछुट्टै स्थानबाट दुई थान पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १७ डाँडा घोपाका २९ वर्षीय हुकमेन जिमी, उनका भाइ २४ वर्षीय दीपक जिमी र धरान–१५ का २४ वर्षीय रोहित राई रहेका छन् ।
विशेष सूचनाका आधारमा आइतबार राति कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हुकमेन र दीपक जिमीलाई उनको घर कोठाबाट नियन्त्रणमा लिएको हो ।

सोधपुछको क्रममा हुकमेन जिमीले दुई थान पेस्तोल खरिद गरी ल्याएकोमा १ थान दीपक जिमीलाई राख्न दिएको र १ थान रोहित राईलाई दिएको भनी बताएअनुसार घर पश्चिम रहेको सर्दुखोला नजिकको झाडीमा झोलामा लुकाइछिपाइ राखेको नचल्ने अवस्थामा रहेको १ थान पेस्तोल प्रहरीले बरामद गरेको हो ।
यस्तै, सोही राति रोहितको घरकोठा खानतलासी गर्दा पलङको डस्ना मुनी लुकाइछिपाइ राखेको अवस्थामा म्याग्जिनसहितको मेड इन इटाली लेखेको १ थान पेस्तोलसहित राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।