-एनसी राई
धरानः ‘जीत निश्चित छ भने त कायर मानिस पनि लड्न सक्छ तर बहादुर त ऊ हो, जो हार नै निश्चित भएपनि लडाइँको मैदानमा उत्रन्छ र अन्तिमसम्म नै लडिरहन्छ ।’
२०७६ सालको स्थानीय उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएका वर्तमान लोकप्रिय मेयर हर्कराज राई साम्पाङ जम्मा ४२२ मत प्राप्त गरेर हार्नुपरेको थियो । यति कम मत प्राप्त गरेका साम्पाङले यदि आफ्नो निम्तिमात्रै वा कुनै पार्टीको निम्ति उम्मेदवार बनेको भए सायद उनी बिलाएर जाने प्रायः निश्चिति थियो । तर आफ्नो अभियान, जनचेतना, धरानभित्र भइरहेको सबै खाले बेथितिको खबरदारी र भन्डाफोर आफ्नो व्यक्तिगत लाभ र फाइदाको लागि नभएर धरान र यहाँको जनताको हितको निम्ति हो भन्ने कुरा धरानेलाई बताउन या बुझाउन झन्डै साम्पाङलाई १० वर्ष जति लाग्यो ।
आफूलाई जनताले चिन्न नसके पनि साम्पाङले जनता, जनताको सामूहिक समस्याहरु, नगरभित्रका सबै खाले भ्रष्टाचारका कारण अनि त्यसका तत्वहरु, जनताको वास्तविक चाहनाहरु र विकासका बाधकहरुको सुक्ष्मरुपमा अवलोकन र अध्ययन गरिरहे । आफू हारे पनि जनतालाई हार्नु दिनुहुँदैन भन्ने भावना लिएर साम्पाङले कहिले एक्लै त कहिले थोरै आफ्ना समर्थकहरुको साथमा नगरभित्रको यावत समस्या र बेथिति–विसङ्गतिविरुद्धको स्थानीय युद्धको उढ्घोष गरे । उतिबेला पनि साम्पाङलाई धेरैले पागलकै संज्ञा दिएका थिए ।
साम्पाङको खबरदारी अब स्थानीयस्तरमा मात्रै सीमित भएन एमसीसीजस्ता राष्ट्रघाती सन्धीदेखि कालापानी लिपुलेकको सीमा विवादसम्म नै विस्तार भएर गयो । नेपाली सेनाको ब्यारेकमा गएर नेपाली सेनालाई तपाईंहरु यहाँ होइन देशको सीमा बचाउन सीमानामा तैनाथ हुनुपर्छ भनेर विरोध प्रदर्शन गर्ने पहिलो नागरिक भनेको उही साम्पाङ मात्रै हुन् । धरानको बीपी प्रतिष्ठानको सुधारको निम्ति आवाज उठाउनु पुग्दा अनेकौं पटक अपमानित भएर फर्केर आउनुपरयो । आफूलाई कस्ले के भन्ला भनेर पर्खेर नबस्ने साम्पाङ आफूले के गरिरहेको छु भन्नेमा बढी केन्द्रीत रहन्छन् । यति सानो शहरको यति सानो मान्छेले उठाएको राष्ट्रिय अन्तर्रास्ट्रिय मुद्दाहरुमा धर्ना र विरोध गरेको देखेर अब भने सबैले पागल होइन मुर्ख पनि थालिसकेको थिए ।
धरानमा खानेपानीको ब्याप्त समस्यालाई नजिकबाट नियालेका साम्पाङले एडिबी परियोजनाको त यसरी विरोध गरे कि साम्पाङ नै सही छन् बाँकी सबै भ्रष्ट । यस्तै सर्दु जलाधार क्षेत्रमा भएको जग्गा किनबेच, सर्दुमा हुने गिटी वालुवाको सङ्गठित तर अनाधिकृत उत्खनन, नगरपालिकाभित्र हुने अन्य ढिलासुस्ती र बैमानीको फेहरिस्त लिएर साम्पाङ यसरी बौलाहा बनेर गल्ली गल्ली, चोक–चोक भौतारिए, कराए चिच्याए, रिसाए र बर्बराए कि लाग्थ्यो के आम धरानेको सुख अनि समृद्धिको ठेक्का उसैले मात्रै लिएको छ । साम्पाङ एउटा ब्यक्ति मात्रै हो हामी त ठूला पार्टी हौ सबै हाम्रै चल्छ भनेर यहाँका स्थानीय पार्टी र नेताहरू साम्पाङका ती सबै हर्कतहरुको सिर्फ दर्शक मात्रै बनिरहे । नेतृत्व नै उखान टुक्काको सिद्धान्तबाट सञ्चालिन भइरहेको पार्टीहरु साम्पाङलाई यसरी हल्काफुल्कारुपमा मात्रै लिए ।
‘नमक्चिने पिङको सय झड्का’, ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भन्ने उखान त सबैले सुनेकै हुनुपर्छ । तर वास्तविकता अर्कै थियो । वर्षौसम्मको दलीय व्यवस्थाबाट आजित जनताहरु विकल्पको खोजीमा थिए । सधै एउटै मेनुबाट वाक्कदिक्क भएको धराने भोटर्सहरु नयाँ मेनुको स्वाद लिन आतुर थिए । अन्ततः स्थानीय चुनाव २०७९ घोषणा भयो । आफ्ना थोरै सहयोगीहरुको साथमा उम्मेद्वारी दर्ता गर्न पुगेको साम्पाङ फेरि मेयर पदको बाजी मार्न आफूलाई होमिदिए । ‘कर्म गर तर कर्मको फल आशा नराख’ भन्ने नेपाली उखानलाई साँचो अर्थमा बुझेका साम्पाङले धराने जनताको निम्ति सधै प्रतिपक्षको भूमिका निर्वाह गरिरहे । बाँकी दल र झुन्डहरु त एकअर्कालाई विरोध गरेजस्तो गर्ने तर खाने मामलामा सधै सँगै रहने यथार्थ बुझेका साम्पाङले सधैं जनताको पक्षमा वकालत गरिरहे चाहे अरुले जेनै भनोस् ।
अत्यन्तै किफायती तरिकाले मेयरको चुनावमा भाग लिएर प्रचार–प्रचार गरेको स्वतन्त्र उमेदवार साम्पाङले हरेक वडाबाट अत्यन्तै लोकप्रिय मत ल्याउँदै आफूलाई सबैभन्दा अगाडी राखिराखे तब विश्व अचम्मित बन्यो भने राष्ट्रिय राजनीतिमा तरङ्ग नै पैदा हुन शुरु भयो । गत जेठ–०१ देखि मत गणना शुरु भएको धरानमा जेष्ठ ८ मा अन्त्य हुँदै गर्दासम्म धरानलाई विश्वले एकैचोटी चिनिसकेको थियो । राष्ट्रिय सञ्चार माध्यमको मुख्य समाचार बनिसकेको धरान गुगल अनि सामाजिक सञ्जालमा अत्याधिक खोजीमा परिसकेको थियो । अन्ततः जेष्ठ–०८ को मध्यदिन हुँदै थियो मत परिणामको अन्तिम नतिजा आउनै लाग्दा धेरै स्थानीय नेता तथा कार्यकर्ताहरु लाखापाखा लागिसकेको थिए । महागठबन्धनका नेताहरु महाशोकमा परिसकेका थिए भने लालकिल्लावालहरु सबैको अनुहार प्रायः लाल नै बनिसकेको थियो । अब धरान हर्कमय र हर्षमय दुवै बन्दै थियो । धरान धेरै वर्षको दलीय र मिलीभगतको राजनीतिबाट मुक्त हुँदै थियो ।
फलतः २०७६ सालको आफ्नै ४२२ जम्मा मत परिणामलाई चुनौती दिँदै साम्पाङले २० हजार ८ सय २१ मत प्राप्त गर्दै पूर्वको सुदर, शान्त र शिक्षित शहरको पहिलो स्वतन्त्र मेयरमा विजयी भएको घोषणा गरियो । डेढ वर्षअघि जम्मा ४२२ मत मात्रै प्राप्त गरेर हार स्वीकार्नु परेको एउटा उम्मेदवारले कसरी यति छोटो समयमा आफूलाई जनताको योग्य र भरपर्दो उमेद्वार बनाउन सफल भए ? आफैलाई हराउनु वा जित्नु निकै कठिन संघर्ष पछिमात्रै सम्भव छ, जुन साम्पाङले सावित गरिदिए । हरेक हारको पछि जीत नै हुन्छ भन्ने यथार्थलाई आफैले सिद्ध गरिदिए । तर स्थानीय दलहरुको सामूहिक हार र एक्लो स्वतन्त्र उमेदवारको विजयमा धरानका पुरानो पत्रकार गोपाल दाहाल लेख्छन्– राजनीतिक दलहरूले आँखा चिम्लिएका नागरिकका समस्या र स्थानीय बेथितिलाई नै मुख्य मुद्दा बनाएर अभियान चलाउँदै आएका साम्पाङले धरान उपमहानगरका स्वतन्त्र उम्मेदवारका रूपमा धेरैले नसोचेको जनमत पाएका हुन् ।
वास्तवमै साम्पाङको उदयले अहिले धरानको त्यो पुरानो परिचय बदलिएको छ । आज ठीक एक वर्ष भयो धरानले साम्पाङलाई पाएको । उनीमा धरानको विकास र जनताको समस्याको निकासको बाहेक अर्को मुद्दा केही छैन । ३६५ दिनमा मेयरले कुनै त्यस्तो दिनै छैन जुनदिन नगरको विकासको निम्ति काम नगरेको र नलेखेको होस् । सबैभन्दा मेयरको सबल पक्ष भनेको जनतालाई सानो–सानो कुराको सूचना दिनु हो । चाहे त्यो महत्वको होस् या कम महत्वको होस् । उनले जनतालाई सूचना दिन्छन्, अरुले के भन्छ फरक पर्दैन । मेयरको ३६५ दिनको भौतिक विकासको लिस्ट तयार गर्ने हो भने विगत २० वर्षमा नभएको काम भएको छ भने दर्जन भन्दा बढी राजनीतिक दलहरुले गर्न नसकेको कामहरु उनी एक्लैले गर्न भ्याएका छन् । ३० वर्ष पहिला नै योजना बनेको कोकाहको पानी ल्याउने योजना मेयरले २ महिना नबित्दै धरान पाइप जोडेर ल्याइसकेका छन् । जुन अभियानमा श्रमदान गर्न प्रायः देशैभरीबाट आइसकेका छन् भने विश्वभरबाट सहयोग प्राप्त भइरहेको छ । यी सबै काम र योगदानको मूल्याङ्कन भविश्यमा अवश्य नै यहाँको जनताले गर्ने नै छन् ।
उपमहानगरपालिकासँग अहिले आफ्नै रोलर, डोजर र ट्रीपरहरु छन् । यो भन्दा धेरै सफलता र श्रेष्ठ काम धरानबाट श्रम संस्कृतिको विकास भएको छ । श्रमदानबाटै मेयरले करोडौंको खानेपानी ट्याङ्कीहरु निर्माण गर्नुको साथै जलाधार क्षेत्रमा लाखौं विरुवाहरु रोप्ने काम गरिसकेका छन् । मिनी प्रोटोटाइपको हाइड्रोपावर निर्माणदेखि लिएर विन्ड टर्वाइनबाट विद्युत उत्पादन समेत गरिसकेका छन् । सम्मानको आशा नगर्ने, खादामालामा नरमाउने मेयरको परिणाम उल्टो छ, यहाँ चुनाव जितेको दिनदेखि प्रत्येक दिन सम्मान थाप्ने भाग्यमानी मेयर उनी नै हुन् । आफ्नो प्रतिबद्धताप्रतिको इमान्दारिताको कारणले यति ठूलो जनताको सम्मान र साथ पाएका छन् उनले । शनिबार पनि छुट्टी नबसी जनताकै काममा नगरकै विकासमा अहोरात्र खटिने मेयर सायद उनी मात्रै हुन् । हरेक बिहीबार नगर सफा गर्नमा ब्यस्त हुने मेयर हरेक शुक्रबार लागूऔषधविरुद्ध अभियानमा सामेल हुन्छन् र जनचेतना बाँडिरहन्छन् ।
प्रत्येक शुक्रबार नेपाली दौरा–सलवालमा कार्यालय पुग्ने मेयरले हरेक निजी र सामुदायिक विद्यालयको विद्यार्थीहरुका लागि पनि सो शुक्रबार नेपाली जातीय पहिरन लगाउनुपर्ने निर्णय गराएका छन् । धेरैले यसलाई सह्रानीय काम पनि भनेका छन् । आफ्नो बाचा पूरा गर्न, जनताको आधारभूत आवश्यकताहरु पूरा गर्न नगरको विकासमा रातदिन नभनी खटिरहने मेयर वास्तवमै पागल हुन् । विकास र समृद्धिको बाटोमा कहिले धरानलाई तीब्र गतिमा लाने भन्ने हुटुहुटी अरु कोही धरानेमा छ भने त्यो मेयर साम्पाङमै मात्र हुन् लाग्छ । उनको निम्ति कहिल्यै रात नपरोस्, सधैं उज्यालो मात्रै होस् ताकि अनवरत विकासको काम मात्र गर्न सकौं । कुनै पनि खोज अनुसन्धान र आविष्कारको निम्ति हरेक मानिसहरु पागल जस्तै लागेको हुन्छ । उनको पागलपनले गर्दा विश्वका सज्जन भनौदाहरुको दैनिक जीवनमा ठूलो सहयोग पुग्थ्यो । जसरी मेयर साम्पाङको पागलपनले गर्दा धरानेहरुको सुखको दिन नजिकिँदो छ । समाजमा यी यस्ता पागलहरु भने कमै जन्मने गर्दछन्, वीरलै भेटिन्छन् । यी मध्येका हाम्रो मेयर सा’प पनि एक हुन् ।
जेठ ८ गते हो हामी धराने स्वतन्त्र भएको । अझै कति पार्टीका इमान्दार कार्यकर्ता र नेताहरु मेयरको असल र पुन्यको काममा साथ दिन, सहयोग र योगदान दिन चाहँदा पनि पार्टीको निर्देशन पालन गर्नुपर्ने बाध्यता रहेको छ । धरान स्वतन्त्र भइसक्यो तर उहाँहरु अझै पिँजडाको चरी जस्तै बन्नुपरेको छ । यो समाज, दुनियाँले आफू भन्दा फरक मानिसलाई पागल नै भन्ने गर्दछ । महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि अक्सर मानिसहरुले पागलकै संज्ञा दिएको थिए । त्यही पागलपनले गर्दा देवकोटाले सम्पूर्ण राष्ट्रलाई साहित्यको क्षेत्रमामा कहिल्यै नरितिने सिर्जनाको भन्डार छोडेर गए । यो दुनियाँले त इतिहासको कयौं कालखण्डहरुमा यस्ता समाजका रुपान्तरण गर्न चाहानेहरुलाई फाँसीको सजाय नै उपहारस्वरुप पनि दिएको उदाहरणहरु छन् । यति सानो शहरमा मेयर साम्पाङको पनि अनगिन्ती विरोधीहरु सल्बलाइरहेका छन् । धेरैको निन्द्रा सकिएको छ भने कतिको राजनीतिक यात्रामा पूर्णरुपमै बिराम लाग्ने डरले साम्पाङ हिँड्यो, लौ डौदियो भन्दै भुक्न थालेका छन् । चौतर्फी घेराबन्दीमा पर्दा पनि विचलित नभई जनताकै काममा अहोरात्र खटिएको मेयरलाई जनताको भने अपार माया, साथ र सहयोग छ । साम्पाङबिनाको धरानको कल्पना गर्न नसकिने तर्क अघि सर्न थालिसकेको छ भने साम्पाङ र धरान भने एकार्काको पर्याबाची शब्द बनिसकेको छ ।
मेयर साम्पाङ मानिसको रुपमा केही कमीकमजोरीहरु पनि छन् । ब्यक्तिको स्वाभावको रुपमा केही अस्वाभाविक आचारणहरु छन् । जुन अरुलाई मन परिरहेको छैन र जसको यदाकदा विरोध हुने पनि गर्दछ । चर्चामा पनि दाग हुने वास्तविकतालाई मनन गर्दै चर्चाको दागमा होइन उसले दिने शितलता र ज्योतिको उपयोग गर्नुपर्दछ । यसरी नै हर्कबाट पनि राम्रो कुराहरुको मात्र अनुसरण गर्नु पर्दछ । उनको खराब पक्षको पछि लागिरहनुपर्छ र राम्रै कुराको पनि सधै पृष्ठपोषण गरिरहनुपर्छ जस्तो पनि लाग्दैन । उनलाई स्वतन्त्ररुपमै काम गर्न दिनुपर्छ । अहिले सम्पूर्ण देशको आम युवाहरु साम्पाङ वादको कुरा गरिरहेको अवस्थामा धरानले भने उनीबाट धेरै राम्रो कुराहरु लिन सक्नुपर्छ ।
दुनियाँ सबैले होइन कोही एउटैले मात्र बदल्न सक्छ र बदल्दै गर्दा पागलपनको पनि आवश्यकता पर्छ । विकास र समृद्धिको सवालमा धरानको मेयर घाइते बाघ जस्तै पागल नै साबित भएका छन् । धरान अब विकास, सुशासन र श्रमदानको पाटोमा अगाडि बढिसकेको छ । यो कसैले पनि रोकेर रोकिनेवाला छैन । यो महाअभियानमा हामी सबैको साथ सहयोग आवश्यक छ । किनभने मेयर साम्पाङले कहिल्यै पनि मैले गर्छु र गर्न सक्छु भनेका छैनन् । सार्वभौम जनतालाई आफ्नो शक्तिको स्रोत ठान्ने र मान्ने मेयर साम्पाङले धरानको कुभलो र भ्रष्टाचार गर्न सक्दैनन् । यो उनकै कामले देखाइसकेको छ । हामी सबैलाई हार्दिक बधाई तथा शुभकामना कि जनप्रिय मेयर साम्पाङले एकवर्ष सफलताको साथ धरान नगरलाई अगाडि बढाउँदै धरानको नाम उच्च गतिमा संसारलाई चिनाउन सफल भएकोमा ।