Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘साङ्केतिक विद्रोह’ सहितको कार्यक्रमको तयारी

हाम्रो कोशी आवाज
जेष्ठ १० २०८०, बुधबार
धरानमा ‘साङ्केतिक विद्रोह’ सहितको कार्यक्रमको तयारी

धरानः सांस्कृतिक साङ्केतिक विद्रोहसहित धरानमा किरात राई साँस्कृतिक कलाकार संघद्वारा छैटौं ऐतिहासिक राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
धरान-१० स्थित यलम्बर स्मृति सङ्ग्रग्रहालयको सभाहलमा बुधबार किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो ।
पत्रकार समेलनमा संघका उपाध्यक्ष एवं मुन्धुमविद् शालिक शतासक राईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रेस विज्ञप्तिमार्फत् किरात राई सांस्कृतिक कलाकार संघ किरात राई समुदायको भाषा, संस्कार, संस्कृति, मुन्दुम, गीत–सङ्गीत, कला–साहित्य जस्ता सांस्कृतिक कुराहरूलाई संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न गठित एक सामाजिक सांस्कृतिक संस्था हो, जसले सम्पूर्ण किरात राई समुदायका कलाकर्मीहरूलाई एउटै मञ्चमा गोलबद्ध र सङगठित गर्नका लागि ‘मानव सभ्यताको प्रतीक हो, कला र संस्कृति ।’ भन्ने मूल नाराका साथ वि.स. २०६३ सालदेखि नै यस संस्थाले निरन्तररूपमा कार्य गर्दै आइरहेको छ ।

यस संघले किराती गीत–सङ्गीत, कला–साहित्य, संस्कार, संस्कृति, मुन्धुमजस्ता किरातीपनमा आस्था र विश्वास गर्ने देश–विदेशमा रहेका सम्पूर्ण सांस्कृतिक राई कलाकर्मीहरूलाई यस संघमा गोलबद्ध गर्दै यी क्षेत्रहरूको विकास गरी समग्र समाज, राष्ट्र समुदाय र देशलाई महत्पूर्ण योगदान पुयाउँदै आएको छ ।
यो संस्थाले आफ्नो विधानलाई पालना गर्दै देशका विभिन्न क्षेत्रहरूमा सफलतापूर्वक सम्मेलन सम्पन्न गरिसकेको बताउँदै उनले थपमा यस सङघको पूर्ण बैठकबाट निर्णय भएअनुसार २०८० जेष्ठ १३, १४ र १५ गते साँस्कृतिक साङ्केतिक विद्रोहसहित धरानमा नगरमा छैटौं राष्ट्रिय सम्मेलन सम्पन्न हुने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा किराँत साँस्कृतिक कलाकार संघका अध्यक्ष एवं राष्ट्रिय सम्मेलनका संयोजक रामकर राईले सम्मेलनको उद्घाटन सत्र भानुचोकमा हुने र सो दिन कोशी प्रदेश नामाङ्कन खारेजीको माग गर्दै जनप्रदर्शन आयोजना गरिने समेत बताए ।
अध्यक्ष राईले साँस्कृतिक संघको स्वदेशमा १३ वटा जिल्ला कार्य समिति रहेको र विदेशमा ७ वटा कार्य समिति शाखाहरुबाट जम्मा १२० प्रतिनिधिहरुको सहभागी रहने बताए । कार्यक्रमअनुसार सांस्कृतिक जागरणसहितका मन्तव्य, संस्कृतिकर्मीद्वारा सांस्कृतिक साङ्गीतिक प्रस्तुति सांस्कृतिक साङ्केतिक विद्रोह, कोशी प्रदेश खारेजीको माग (हजारौंको संख्यामा कफन बाँधेर प्लेकार्डसहित धरान बजार परिक्रमा गर्दै झाँकीसहित रयाली), पहिचानसहितको किरात प्रदेश नामाकरणका लागि दबाव, भाषा, साहित्य, सङ्गीतसम्बन्धी विभिन्न विज्ञबाट कार्यपत्र प्रस्तुत गरी बहस गरिने जनाइएको छ ।
यस्तै, जेष्ठ ११ गते साङ्गीतिक सूचना सभा ( इटहरीका विभिन्न १० वटा चौकहरूमा आयोजना गरिने), जेष्ठ १२ गते साङ्गीतिक सूचना सभा (धरानका विभिन्न १४ वटा चौकहरूमा आयोजना गरिने ), जेष्ठ १३ गते उद्घाटन सत्र (धरानको भानुचौकमा बृहत् जनसहभागितामा ) जेष्ठ १४ गते बन्द सत्र (५ वटा कार्यपत्र प्रस्तुत, बहस, स्थान यलम्वर स्मृति सङ्ग्रहालय धरान १०), जेष्ठ १५ गते बन्द सत्र (जिल्ला कार्यसमितिका प्रतिवेदन प्रस्तुत, छलफल, अनुमोदन, केन्द्रबाट प्रस्तुत ) र धरान घोषणापत्र जारी गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा , पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन वसन्त वान्तावा राईले गरेका थिए ।
तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: जेष्ठ १० २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend