धरानः लायन्सको डिस्ट्रिक ३२५ सी अन्तर्गत पहिलोपटक धरानमा ऐतिहासिक महाधिवेशन हुने भएको छ ।
बुधबार धरान-१० स्थित चौठो रेष्टुरेष्टमा पत्रकार सम्मेलन गर्दै आयोजकले जेठ १२ गते बिहान शान्ति रयालीपश्चात् किरात याक्थुङ चुम्लुङको भवनमा औपचारिक उद्घाटनका साथ कार्यक्रम हुने जनाएको छ ।
पत्रकार सम्मेलनमा धरानका डिस्ट्रिक गभर्नर धिरज गुरुङले कार्यक्रमको विस्तृत जानकारी दिँदै ‘हामी सेवा गर्छौं’ भन्ने मूलमन्त्रको साथ समाज परिवर्तन र सेवाको भावना साथ लायन्सको स्थापना भएको अवसरमा यस्तो कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
गभर्नर गुरुङले थप भनाईमा नेपालमा लायन्स स्थापनाको ५२ बर्षको इतिहासमा धरानमा पहिलो पटक ऐतिहासिक महाधिवेशन हुन लागेको बताउदै आफू धरानको ३८ बर्षे लायन्सको इतिहासमा पहिलो डिस्ट्रिक गर्भनर रहेको समेत बताए । गर्भनर गुरुङले आफू पहिलो डिस्ट्रिक गर्भनर हुँदा एलसीआइएफबाट करिब १ करोड ७० लाख प्राप्त गर्न सफल भएको बताए । सो रकमबाट लायन्स सत्य साई स्कुल धरान १३ मा भवन निर्माण गर्न सकेको उनले जानकारी दिए ।
यस्तै, लायन्स क्लबहरुमार्फत फरक क्षमता भएकाहरुलाई मेशिन, सेतो छडी वितरण, सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई कापी, कलम वितरण गर्नुका साथै रक्तदान कार्यक्रमको आयोजना सामाजिक कार्यमा तीब्रता दिइएको समेत उनले जानकारी दिए । गभर्नर गुरुङले लायन्सको छुट्टै ब्लड बैंक कीर्तिपुरमा स्थापना भएको र चाँडै धरान लगायत क्षेत्रहरुमा पनि शाखा विस्तार गरिने समेत बताए ।
त्यसैगरी गभर्नर गुरुङले धरान–१५ स्थित चुम्लुङ भवनमा हुने महाधिवेशनमा १० वटा जिल्लाबाट ७ सयको हाराहारीमा प्रतिनिधि तथा अतिथिहरुको सहभागिता रहने जानकारी दिए । महाधिवेशनको उदघाटन लायन्सका पूर्व डाइरेक्टर एवं इन्जिनियर सञ्जय खेतानले गर्नेछन् । पर्यटन प्रवद्र्धनमा टेवा पुरयाउने उद्देश्यले महाधिवेशनमा सहभागी अतिथिहरुको चाहनाअनुसार विभिन्न पर्यटकस्थहरुमा पुरयाउने ब्यवस्था पनि गरिने उनले जानकारी दिए ।
धरानमा सन १९८५ देखि शुरु भएको संस्थामा हाल २१ वटा क्लबहरु रहेको छ भने डिस्ट्रिक ३२५ सीअन्तर्गत कोशी प्रदेशको १० वटा जिल्लाहरु रहेको छ । करिब १६० वटा क्लबहरु छन् भने ४ हजार सदस्यहरु पनि रहेको पनि जनाइएको छ ।
तस्वीरः लक्ष्मण थापा