Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गणतन्त्र स्थापनाको १६ वर्ष, यसरी आएको थियो नेपालमा गणतन्त्र, महत्त्वपूर्ण उपलब्धि तर निराशा कायमै

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०८०, सोमबार
गणतन्त्र स्थापनाको १६ वर्ष, यसरी आएको थियो नेपालमा गणतन्त्र, महत्त्वपूर्ण उपलब्धि तर निराशा कायमै

धरानः १६ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद पुन:स्थापना गरे । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रुपमा स्थापित भयो । संसद्‌ विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने श्रृंखला चल्यो ।
राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीकाबीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो ।
विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।
नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुन:स्थापनाको घोषणा गरी बैठक समेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।
विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।
यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो ।
विसं २०७० मंसिर ४ गते सम्पन्‍न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधान बमोजिम तीनै तहको निर्वाचन सम्पन्‍न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

सरकारका उच्च पदस्थ कर्मचारी, मन्त्री, उपप्रधानमन्त्रीलगायत नै भ्रष्टाचार र अनियमिततामा संलग्न भएको घटना सार्वजनिक भैरहँदा नागरिकमा आक्रोश र असन्तुष्टि बढाएको छ । गरिखाने वर्गलाई अझै हातमुख जोड्न धौ–धौ भइरहेकै छ । कतिपय गाउँठाउँमा सामान्य रोगको समेत उपचार नपाएर ज्यान गुमाउनुपर्ने स्थिति छ । नागरिकमा बढ्दै गएको निराशा कम गर्नु सरकार र दलहरुको दायित्व हो । राष्ट्रिय सभा सदस्य एवं सङ्घीयताविद् डा.खिमलाल देवकोटा नागरिकलाई परिवर्तनको अनुभूति गराउन सकेमा मात्रै गणतन्त्रप्रतिको निराशा घटाउन सकिने बताउँछन् ।

प्रकाशित मिति: जेष्ठ १५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend