धरानः प्रेस युनियन केन्द्रले २०८० लाई प्रशिक्षण घोषणा गरेलगत्तै सुनसरी प्रेस युनियनले नयाँ कार्यसमितिले पहिलो प्रस्तुत कार्यक्रमको रुपमा पत्रकारिता क्षमता विकास सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सुनसरीको हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सोही गाउँपालिकाको सभाहलमा ब्यानर उल्लेखित शब्द वाचन गरेर उदघाटन गरेका थिए । सभाहलमा आयोजित तालिममा पत्रकारिताका आचारसंहिता, पत्रकारितामा प्रविधिको प्रयोगलगायतका विषयमा जानकारी दिइएको थियो । प्रेस युनियन सुनसरी तथा पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारी, पत्रकार महासंघ केन्द्रीय सदस्य क्रमशः अमर खड्का, भीषण राई, इकवाल अहमद र अग्रज पत्रकार कृष्ण भट्टराई (जुनेली) ले तालिममा सहजीकरण गरेका थिए ।
प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा भएको पहिलो चरणको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले आफ्नो शुभकामना मन्तब्यमा धेरै शीर्ष नेताहरुले नेतृत्वमा पुगेता पनि सुनसरीको दक्षिणी क्षेत्रका् विकासमा कुनै चासो नराखेको र पछाडि परेको समेत गुनासो गरे । अन्सारीले २०७४ सालपछि आफूले नेतृत्व गरेपछि यहाँको समग्र विकासमा योगदान गरेको भएता पनि यहाँ भएको विकासको बारेमा सञ्चार माध्यममा आउन नसकेको गुनासो समेत गरे । सोही पहिलो चरणको कार्यक्रममा प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितले विकास र ग्रामीण पत्रकारितालाई जोड दिनु आवश्यक रहेको बताए ।
त्यसैगरी युनियनकी केन्द्रीय सचिव रोजिना गौतमले प्रशिक्षण वर्षका लागि पाठ्यक्रम तयार भइरहेको जानकारी दिँदै प्रशिक्षण पहिलो कार्यक्रमको रुपमा सञ्चालन गरेकोमा सुनसरी प्रेस युनियन धन्यवादको पात्र रहेको बताइन् । प्रेस युनियन सुनसरीका पूर्वअध्यक्ष गणेश निरौला, धनबहादुर पुरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
केन्द्रीय समिति युनियनले २०८० लाई प्रशिक्षणको वर्ष घोषणा गरेको छ । केन्द्रीय समितिले घोषणा गरेको अभियानलाई सुनसरीको ग्रामीण क्षेत्रबाट सुरु गरिएकोसँगै यो प्रशिक्षण तालिम सुनसरीको प्रत्येक गाउँ तथा नगरपालिकामा निरन्तर रहने सुनसरी अध्यक्ष ढकालले जानकारी दिए । तालिममा सुनसरीका ४० जनाभन्दा बढी सक्रिय पत्रकारको सहभागिता रहेको जानकारी समेत उनले दिए । कार्यक्रममा स्वागत मन्तब्य सुनसरी सदस्य सरस्वती कुमारी चौधरीले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन युनियन सुनसरीका सचिव बाबुराम कार्कीले गरेका थिए ।
तस्वीरः लक्ष्मण थापा




