धरानः धरानमा गाईजात्रा (सापारू) निकालिएको छ । बिहीबार धरानमा गाईजात्रा निकालिएको हो ।
भानुचौकबाट शुरु भएको नेवार समुदायको गाईजात्रा रयाली छाताचौक हुँदै भानुचौकमा पुगेर टुंगिएको थियो । कतिपयले मृतकहरूको सम्झनामा गाईको भेषधारण गरी पनि गाईजात्रा निकालेका थिए । नेवारी समुदायले आजको दिनलाई सापारू पर्वको रूपमा मनाउने गरेका छन् ।
विशेषतः भाद्रकृष्ण प्रतिपदाका दिनदेखि भाद्रकृष्ण अष्टमीसम्म यो पर्व मनाइने गरिन्छ । मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाईजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरूको तस्वीरका साथै पुतलाहरू बनाएर आ–आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ । यसरी नगर परिक्रमा गर्नाले दिवङ्गत आत्माले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईकै रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू मुक्त हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनमा शोक विह्वल भएको रानी भुवनलक्ष्मीलाई हाम्रा मात्र सन्तान होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिनको लागि गाई जात्रा मनाउन थालिएको इतिहासमा उल्लेख छ । यिनै राजा प्रताप मल्लले जो जसका घरमा मानिस मरेका छन्, ती घरबाट गाई ल्याउनू भनेर उर्दी दिएकाले आशौच परेका घरबाट गाई शृङ्गार गरेर हनुमानढोका दरबारमा उपस्थित गराउने चलनअनुसार यो पर्व मनाउँदै आइएको छ । तस्वीरः डेविड बस्नेत






