धरानः स्वयम्भू चैत्य महाविहार धरान–१२ मा गुँला पर्वको समापन कार्यक्रम सम्पन्न भएको छ ।
विशेषगरी बौद्ध धर्मालम्बी नेवारहरुले यो पर्व एक महिनाभर मनाउने गर्दछन् । श्रावण शुक्लका प्रतिपदादेखि शुरु भएको यो पर्व भाद्र शुक्ल प्रतिपदा यो पर्व समापन भएको हो । भाद्र २९ गते, स्वयम्भू चैत्य महाविहार धरान–१२ अनागारिका आभासवतीबाट गुँला धर्म देशना गरिएको थियो । महिनाभर पञ्चशील र अष्टशीलको बस्नेहरुले आज आफ्नो ब्रतको समापन गरेका थिए ।
नेपाल सम्वत् अनुसार नवौं महिनालाई नेवाः भाषामा गुँला महिना भनिन्छ । नेपाल भाषामा गुँ को अर्थ नौ र ला को अर्थ महिना भएकाले नेपाल सम्वतको नवौ महिनालाई नेवाः भाषामा गुँला महिला भनिन्छ । यस महिनाभर मनाइने हुनाले यस पर्वलाई गुँला पर्व भनिएको हो । भगवान बुद्धले बुद्धत्व ज्ञान प्राप्त गर्नु भएको पवित्र महिनाका रुपमा महिनाको रुपमा यस महिनालाई लिने गरिन्छ । यस पर्वमा भगवान बुद्धप्रति आस्था प्रकट गर्ने र बुद्ध शिक्षालाई पालना गरिने गरिन्छ । प्रायःजसोले यस महिनाभर अष्टशील पालना गर्ने गर्दछन् ।
यस पर्वमा स्वयम्भू चैत्यका साथै बौद्ध विहारहरुमा गुँला बाजा बजाउँदै परिक्रमा गरेर यो पर्व शुरु गरिन्छ । दिवंगत भएका आफन्तको सुखावती भुवनमा बास परोस् भन्ने कामना गर्दै चैत्य विहारहरु परिक्रमा गर्दछन् । यसो गर्दा मनमा शान्ति तथा एक आपसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारक सुख, शान्ति कायम हुन्छ भन्ने जनविश्वास रहेको छ ।
बुद्ध विहारमा बुद्ध पूजा गर्ने, भिक्षु तथा गुरुमाहरुबाट प्रवचन सुन्ने, दान गर्ने, पञ्चशील तथा अष्टशील लिने गरिन्छ । प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, झुटो नबोल्ने, व्यविचार नगर्ने, मादक पदार्थ आदि सेवन नगर्ने पञ्चशीलमा पर्दछन् भने पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ । अपरान्हपछि ठोस आहार सेवन गर्ने, अग्लो विलासी ओछ्यानमा नसुत्ने, नाच गीत वाद्यवादन रमाइलो नगर्ने, आभूषण ग्रहण नगर्ने र ब्रह्मचार्य बस्ने जस्ता नियम पर्दछ ।




