कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक स्वास्थ्य समस्या हो। तपाई कब्जियतको समस्याबाट ग्रस्त हुनुन्छ रु कतै तपाईले यी गल्तीहरू त गरिरहनु भएको छैन रु जसले तपाईलाई कब्जियतको समस्या निम्त्याएको छ। जाडो याममा कब्जियतको समस्या भएको महसुस धेरैले गर्ने गरेको पनि सुनिन्छ। विशेषतः अल्छीलाई यो कब्जियतले बढी सताउने गरेको छ ।
सामान्यतया हप्तामा ३ पटकसम्म दिशा भएको अवस्थालाई सामान्य मानिन्छ। यदि कसैलाई हप्तामा ३ पटकसम्म दिसा भएन भने कब्जियत भएको भनेर बुझ्नपर्छ।
मोटो आन्द्रामा दिसा बन्छ। कहिलेकाँही मोटो आन्द्रा नै अल्छी भइदिन्छ। हामीले खाएको खाना पचेर आएको घोल आन्द्रामा आउँछ। आन्द्राको मुभमेन्ट कम भयो भने दिसा आउँदैन।
सही तरिकाले दिसा गर्न नजान्दा पनि कब्जियत हुन्छ। थाइराइडको मात्रा कम भएको अवस्था, मलद्धारमा पोलिभ भएमा, आन्द्रामा क्यान्सर भएमा पनि कब्जियत हुनसक्छ।
जाडोमा कब्जियत हुन्छ ?
जाडोमा कब्जियत हुन्छ भन्ने गलत हो। सिजनले कब्जियत गराउने होइन। हाम्रो व्यवहारले कब्जियतको समस्या निम्त्याउँछ।
कब्जियत हुन नदिन पानी र फाइबर निकै महत्वपूर्ण मानिन्छ। जाडोमा दिसा गर्न जान अल्छी गरेर, च्यापेर बस्ने बानी पनि कतिपयको कारण हुन्छ । यस्तो बानीले कब्जियतको समस्या देखिन्छ। समयतालिका बनाएर दिसा गर्ने बानी बसाल्नुपर्छ।
कब्जियतबाट जोगिन नियमित व्यायाम, रेसादार खानेकुरा खानुपर्छ। बिहान उठ्नेबित्तिकै नित्य क्रिया वा दिसा गर्ने बानीले कब्जियतबाट बचाउँछ। दिसा लाग्दालाग्दै च्यापेर बस्दा पछि कब्जियत हुन्छ।
कब्जियत कति खतरा ?
अल्छी आन्द्राले कब्जियत भएको छ भने खासै समस्या नहुन सक्छ तर क्यान्सरले पनि कब्जियत गराएको हुनसक्छ, मलद्धारमा मासु पलाएर कब्जियत भएको हुनसक्छ यस्तो अवस्थामा थप स्वास्थ्य जटिलता देखिन्छ।
कब्जियत भएपछि खाना खान मन नलाग्ने, शरीर भारी भइरहेको र टाउको दुखिरहेको जस्तो महसुस हुन्छ।
भोक नलाग्ने,पेट फुल्ने, टाउको दुख्ने, बान्ता र वाक्वाक् हुने लगायतका समस्या कब्जियतले ल्याउँछ। विशेषगरी बोक्रासहितका फलफूल, तरकारीहरू जस्तो गाँजर, काँक्रो, मुला र त्यस्तै प्रकारले चना, भटमास, गृडागुडी लगायतका रेसादार खानेकुरा खाने गर्नुपर्छ। आँटा, नफलेको चामल, मकै, कोदो, बोक्रासहितको आलु, फापरमा पनि रेसादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ।
पेटको स्वास्थ्य राम्रो भएमा शरीरबाट धेरै प्रकारका रोगहरु टाढा रहन्छन् । कब्जियत, एसिडिटी, पखाला, अपचजस्ता समस्याहरू पाचन प्रणालीसँग सम्बन्धित छन्, जुन खराब जीवनशैली, गलत खानपान र लामो समयसम्म बस्ने कारणले पनि हुनेगर्छ ।
यदि तपाई पनि पेटसम्बन्धी यस्ता समस्याबाट ग्रसित हुनुहुन्छ भने घरमै उपचार गर्न सक्नुहुन्छ । भान्साकोठामा पाइने यस्ता ४ चिज (कब्जियत घरेलु उपचार) छन्, जसलाई पेटको समस्या कम गर्न रामबाण उपाय मानिन्छ ।
कब्जियत, ग्यास र पेटको समस्याबाट छुटकारा पाउने घरेलु उपाय
१. हीङ्ग
हाम्रो घरमा पकाउने खानामा हीङ्गको प्रयोग गरिन्छ। आयुर्वेदमा हीङ्गको धेरै महत्व छ । यसले बच्चादेखि वयस्कसम्म पेटसम्बन्धी समस्यालाई हटाउन मद्दत गर्छ।
यो दुखाइ रोक्न र पाचन बढाउन पनि प्रयोग गरिन्छ। हीङ्गले शरीरबाट विषाक्त पदार्थलाई पनि बाहिर निकाल्छ। यसले मेटाबोलिजमलाई पनि स्वस्थ राख्छ।
ग्यासको समस्याबाट छुटकारा पाउनको लागि एक चौथाई चम्चा देसी घिउमा एक चिम्टी हीङ्ग मिसाएर नाभिमा लगाउनुहोस् । छिट्टै राहत पाउनुहुनेछ।
कब्जियतको समस्याबाट छुटकारा पाउन एक चिम्टी हीङ्ग र बराबरको मीठो सोडा मिसाएर राती सुत्नुअघि पानीसँग पिउनुहोस् । यसो गर्दा पेट राम्रोसँग सफा हुन्छ ।
साना बालबालिकाको पेट दुख्ने समस्या भएमा पानीमा हीङ्ग मिसाएर नाभिमा लगाउनाले आराम मिल्छ ।
२. अदुवा
अदुवा पनि हाम्रो भान्साको महत्वपूर्ण अंग हो । आयुर्वेदमा पनि यसलाई निकै महत्वपूर्ण मानिन्छ । अदुवामा जिंजरोल नामक तत्व पाइन्छ, जसले पाचन प्रणालीलाई सुधार्ने काम गर्छ।
अदुवाको नियमित सेवनले ग्यास, एसिडिटी, कब्जियत, पेट फुल्ने जस्ता समस्याबाट मुक्ति मिल्छ । यसले सुन्निने काम कम गर्छ र पाचन प्रक्रियालाई गति दिन्छ।
दिनको सुरुमा अदुवाको चिया पिउनु फाइदाजनक हुन्छ । एक कप पानीमा अदुवा र चिनी मिसाएर राम्ररी उमालेर छानेर पिउनाले यस्ता समस्याबाट छुटकारा मिल्छ ।
३. सौंप
मानिसहरु प्रायः खाना पछि सौंप खान्छन्। खाना सजिलै पच्ने भएकाले यस्तो हुन्छ । सौंपमा प्रशस्त मात्रामा फाइबर हुन्छ । यसले पाचन क्रिया सुधार्ने काम गर्छ । यसो गर्दा ग्यास र ब्लोटिंग जस्ता समस्याबाट राहत मिल्छ। कब्जियत पनि हट्छ ।
यसका लागि सौंपको पानी प्रयोग गर्न सकिन्छ । राती एक गिलास पानीमा एक चम्चा सौंप भिजाएर छानेर बिहान पिउनुहोस् । यसले पाचन प्रणालीमा सुधार ल्याउनुका साथै तौल पनि छिटो घट्छ ।
४. घ्युउकुमारी
घ्युउकुमारीको जुस ग्यास्ट्रोइंटेस्टाइनल समस्यामा मात्र नभई एसिड रिफ्लक्स, ग्यास र कब्जियतको समस्यालाई हटाउन पनि उपयोगी हुन्छ। यसले पाचन प्रणालीलाई बलियो बनाउँछ र पेटलाई राम्ररी सफा गर्छ।
खाली पेटमा एलोभेराको जुस पिउनाले शरीरलाई डिटक्सिफिकेसन गर्छ । यसले आन्द्राको स्वास्थ्यमा पनि सुधार गर्छ । एलोभेराको जुस बजारमा सजिलै पाइन्छ । -एजेन्सीबाट