धरानः माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी (नन ग्रेड) ल्याएका विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार यस्तो निर्णय गरेको हो।
एनजी आएका सबै विद्यार्थीहरुलाई मौका परीक्षा दिन पाउने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए। उनले भने, ‘यदि एनजी आएका कुनै विद्यार्थीले मौका परीक्षा दिएर कक्षा ११ पढ्ने चाहना राख्छन् भने उनीहरुले मौका परीक्षा दिन पाउन् भनेर मन्त्रीस्तरीय निर्णयबाट यो मौका दिइएको हो।
मन्त्रालयले एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका-२०७८ संशोधन गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन गरिसकेको छ।
यसैगरी पाठ्यक्रम विकास केन्द्र, परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय समेत गरेको दाहालले जानकारी दिए।
उनले भने ‘एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने भन्ने मन्त्रीस्तरीय निर्णय भएको छ । त्यहीअनुसार हामीले सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशनसहित पत्राचार गरिसकेका छौं ।’
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी)मा परेका छन् । यो संख्या परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीको ५२.१४ प्रतिशत हो ।
बोर्डले लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक हुने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरिन्छ ।
तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक पाएको छैन भने प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, ग्रेडवृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।
निर्देशिकामा दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था छ ।
तर, ठूलो संख्याका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन नपाउने भएपछि मन्त्रालयले दोस्रो पटक निर्देशिका संशोधन गर्ने र सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको हो ।
यसअघि निर्देशिकामा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले अर्को वर्ष सबै विषयमा परीक्षा दिनुपर्ने व्यवस्था रहेको थियो । गत वर्ष निर्देशिका संशोधन गर्दै दुईभन्दा बढी विषयमा एनजी लागेकाले अर्को वर्ष परीक्षा दिनुपर्ने तर एनजी लागेका विषयमा मात्रै दिनुपर्ने व्यवस्था गरिएको थियो ।
यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ ।