धरानः धरानमा आयोजित कोशी प्रदेशस्तरीय एसईई स्पिकर-२०८१ को उपाधि धरान–६ पानबारीस्थित शिक्षा सन्देश बोर्डिङबाट एसईई दिएकी छात्रा ममता तामाङले जितेकी छिन् ।
रयाडिकल लाइट नेपाल प्रा.लि. धरानले आयोजना गरेको प्रतिस्पर्धात्मक कार्यक्रममा उनले उपाधि जितेकी हुन् । १५ प्रतिष्पर्धीहरूमध्ये १४ जनालाई पछि पार्दै ममताले उपाधि चुमेकी हुन् । उपाधि जितेसँगै ममताले २० हजार रुपैयाँ नगद, प्रमाणपत्र र प्लस टु अध्ययनका लागि शत प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन् । चतरास्थित हिमालयन बोर्डिङ स्कुलकी दिया राई फष्ट रनर अप भइन् । यससँगै दियाले १५ हजार रुपैयाँ नगद, प्रमाणपत्र र प्लस टु अध्ययनका लागि ७० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन् । यसैगरी धरान–१८ स्थित जेम आवासीय माविकी क्याथरिन योन्जनले सेकेन्ड रनर अपको उपाधिसँगै १० हजार नगद, प्रमाणपत्र र प्लस टु अध्ययनका लागि ६० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन् । इटहरी–२० तरहरास्थित जनसहयोग माविकी रेशिका शर्माले थर्ड रनर अपको उपाधिसँगै ५ हजर नगद, प्रमाणपत्र र प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन् ।
सव–टाइटलतर्फ सहिद स्मृति माविका जेलिशा पौडेल र झरना राईले क्रमशः वेस्ट प्रिजेन्टर र मस्ट ओविडियन्टको उपाधि प्राप्त गरेका छन् । धरान–१५ स्थित हिबिस्कस इङ्लीस बोर्डिङका जनक शाह र चिल्ड्रेन एकाडेमीका सेनिता लिम्बूले क्रमशः बेस्ट प्रनाउनसियसन र मस्ट पङ्चुअलको उपाधि जितेका छन् ।
धरान–६ स्थित सरस्वती माविका जेनिशा सुनाम र एभरेस्ट चिल्ड्रेन होम बोर्डिङकी स्मृति लिम्बूले क्रमशः मस्ट एक्टिभ र मस्ट सिन्सियरको उपाधि हासिल गरे । धरान–१० स्थित युएन स्कुलका प्रेम विश्वकर्माले मस्ट कोअपरेटिभको उपाधि जिते । धरान–३ स्थित भानु स्मृति माविकी निशा बराइलीले मस्ट फ्लुएन्टको उपाधि जितिन् भने धरान–१६ स्थित सियोन स्कुलकी सोनिया नेपालीले मस्ट सोसियलको उपाधि हासिल गरिन् । यसैगरी बराहक्षेत्र कालाबन्जारस्थित जडेज माविकी कन्चन पौडेलले पब्लिक चोइसको उपाधि जितिन् । धरान–१७ पट्नालीस्थित ज्वालामुखी माविकी बिबिका राईले मस्ट डिसिप्लिनको उपाधि जितिन् । सब टाइटलको उपाधि जित्ते विद्यार्थीहरुले १–१ हजार नगद, प्रमाणपत्र र प्लस टु अध्ययनका लागि ३० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन् ।
प्रतियोगीताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही र शिक्षा सदन माविका शिक्षक अशोक पोख्रेल थिए । २०८० सालको एसईई दिएर बसेका विद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्रालिका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए ।
प्रालिका प्रबन्ध निर्देशक हिमाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश योजना आयोगका सदस्य भवानी बराल प्रमुख अतिथि थिए । राष्ट्रिय राजनीतिमा बहस गर्नुपर्ने विषयवस्तुमा एसईई स्पिकरका सहभागीहरूले बोल्नु अत्यन्तै राम्रो भएको प्रमुख अतिथि बरालले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव देवेन्द्र कार्की, सहिद स्मृति माविका प्रधानाध्यापक राम विष्ट, एसईई स्पिकर २०८० कि बिजेता एन्जिला कार्की लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा सुमेधा एजुकेसन कन्सल्टेन्सी प्रालिका अध्यक्ष सुरेन्द्र घिमिरे, शिक्षा सन्देश बोर्डिङका प्रिन्सिपल विद्याभुषण गुप्ता, युएन नवोदय कलेजका पब्लिक रिलेसन अफिसर राम लिम्बू, सुनाखरी एकेडमीका प्रिन्सिपल मिलनकुमार राई लगायतको उपस्थिति थियो । एसईई स्पिकरको पहिलो अडिसनमा कोशी प्रदेशका विभिन्न जिल्लाका १७३ विद्यार्थीहरु सहभागी भएको आयोजकले जनाएको छ ।
कार्यक्रम धरान–८ स्थित सहिद स्मृति माविको सभाहलमा सम्पन्न भएको थियो ।













