धरानः धरानका १० राजनीतिक दलहरूले विगत चार दिनदेखि धरान खानेपानी बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक र लेखा शाखामा लगाएको ताला खोलेका छन् ।
धरान उपमहानगरपालिका मेयर हर्कराज राई साम्पाङले तालाबन्दी गर्ने दलहरूले कदमविरूद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । मंगलबार न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले उत्प्रेषण परमादेश माग भएको निवेदनमा साउन २८ गतेसम्मको लागि खानेपानी बोर्डमा तालाबन्दी नगर्नू–नगराउनू भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
सो आदेशपछि दलहरुले खानेपानी बोर्ड कार्यालयमा पत्रकार सम्मेलन गरेर बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक र लेखा शाखामा लगाएको ताला खोलेका हुन् । दलहरूले बुधबार नै वडा ११, १६ र १५ मा रहेको बिल काउण्टरमा लगाएको ताला पनि खोलेका छन् ।
दलहरूले पत्रकार सम्मेलन गर्दै आन्दोलन जारी रहने जनाउँदै भोलि बिहीबारदेखि धरान उपमहानगरपालिकाको गेटमा धर्ना दिने कार्यक्रम रहेको जनाएका छन् । नेपाली कांग्रेसका नगर सभापति श्याम पोख्रेलले आन्दोलन जारी रहेको बताउँदै भोलिदेखि नगरपालिकासम्म पुगेर धर्ना दिइने बताए । उनले मेयर र कर्मचारी समेतलाई अफिस प्रवेशमा रोक लगाइने समेत बताएका छन् । दलले चलाएको आन्दोलनमा उपमेयर, वडाध्यक्षहरु पनि आन्दोलित छन् ।
दलहरूले खानेपानीको महसुल तथा शुल्क पुरानै दररेट कायम हुनुपर्ने माग राख्दै आन्दोलित छन् । मेयर साम्पाङले भने राजनीतिक दलहरुले धरानलाई बोकाएको एडिबीको ऋण ५७ करोड १९ लाख रुपैयाँ मिनाहा गरिदिने भए एक मिनेटमा महसुल वृद्धि फिर्ता लिने बताउँदै आएका छन् ।