Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चाडपर्व, लामो विदा र बालबालिकाप्रति अभिभावकको भूमिका

हाम्रो कोशी आवाज
कार्तिक १२ २०८१, सोमबार
चाडपर्व, लामो विदा र बालबालिकाप्रति अभिभावकको भूमिका

-सदीक्षा राई
नेपालीहरूको महान चाड दशैंपछि अब तिहार, छैठ आउन बाँकी छ । तिहार र छठ भित्रिने क्रममा छ । यो चाडपर्वको मौसम हो । घरमा स्कुले बालबालिका भएपछि यस्ता चाडपर्वको रौनक झनै बढी देखिन्छ । गाउँघरतिरको कुरा गर्ने हो भने कोही चङ्गा उडाउन मस्त हुन्छन् भने कोही पिङमा झुम्मिएका भेटिन्छन् । विशेषतः बालबालिकाहरू यस चाडमा रमाउने गर्दछन् । दशैं, तिहार र छठको आप्mनै महत्व छ । दशंै–तिहार र छैठ जस्ता चाडपर्वमा सबै बालबालिकाको विद्यालयमा लामो बिदा हुने गर्छ । लामो समयसम्म बिदा हुने भएकाले यो समयमा कोही बालबालिका मावली घर पुग्लान् त कोही बाबुआमासँग घुमघाममा समय बिताउलान् । लामो समय विद्यालय पनि विदा हुने भएकोले घुमघाम, रमाइलोसँगै अध्ययन अध्यापनलाई पनि ध्यान दिनुपर्छ । अचेल धेरै स्कुलहरूले बच्चाहरूको बिदाको होमवर्क दिएको हुन्छ । त्यसका लागि दैनिक एक घण्टा छुट्याएर होमवर्क गर्ने साथै अध्ययनमा ध्यान दिने गर्नुपर्छ । जसले पढाइमा पनि एउटा नियम बस्छ । नियमित पढ्ने बानीको पनि विकास हुन्छ । यस्ता विषयमा ध्यान पु¥याउन सके बालबालिकाको छुट्टीको समयको सदुपयोग हुनुको साथै उनीहरूको शारीरिक मानसिक सामाजिक तथा संवेगात्मक विकासमा सहयोग पुग्छ । हुन त चाडपर्व बालबालिकालाई आफ्नो संस्कृति र परम्परा सिकाउने साथै यसको महत्व बुझाउने अवसर पनि हो । यसले उनीहरूलाई चाडपर्वको महत्व मात्र होइन, विभिन्न धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्न समेत प्रोत्साहन गर्छ । यसका लागि बालबालिकाको रूचिअनुसार अभिभावकले पनि साथ दिनुपर्छ ।
जब यस्तै चाडपर्वको बेला बालबालिकाको विद्यालय लामो समय बिदा हुन्छ, त्यो समयमा उनीहरू सक्रिय गतिविधिबाट केही टाढा हुन्छन् । यो समय उनीहरूको क्षमतालाई नियाल्ने एउटा अवसर पनि हो । यदि कुनै बच्चालाई कुनै विषयमा खास रुचि छ भने यो समय पर्याप्त उपयोग गर्न सकिन्छ । कसैलाई गीत–सङ्गीतमा कसैलाई लेखनमा रुचि होला त कसैलाई खेलकुदमा, उनीहरूको रुचिअनुसार लगाइदिन सकिन्छ । जसकारण उनीहरूको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउन मद्दत पुग्छ तथा उनीहरूको चौतर्फी विकासमा समेत टेवा पुग्छ ।
तिहारको बेला दियो बत्तीको नजिकै धेरै समय बिताउनुपर्ने भएकाले सकभर सम्हाल्न सजिलो र आगोले झट्टै टिप्न नसक्ने कपडा लगाउनुपर्छ । ठूलो आवाजमा बिस्फोट हुने पड्का, सुतरी बम, रकेट, झिरझिरेलगायतका बिस्फोटक सामग्रीको प्रयोग गर्नुहुँदैन। मनोरन्जनका लागि प्रयोग गरिने यस्ता सामग्रीले बालबालिका, वृद्धावृद्ध, मुटुका बिरामीहरूलाई नकारात्मक असर पु¥याउँछ। वरिपरिको वातावरण दूषित बनाउँछ । साथै आगोका झिल्काहरू आँखामा पर्न गएमा जीवनभर दृष्टिविहीन हुने जोखिम हुन्छ । केही मानिसहरू कुकुरको शरीर, पुच्छरमा पट्का बाँधेर आगो लागाई दिने गर्छन् । यो कार्य अमानवीय भएकाले कहिल्यै गर्नुहुँदैन । कहीँ कतै यस्ता दृश्य देखेमा कुकुरमाथि हामी जघन्य अपराध गरिरहेका छौ भन्ने कुरा सम्झाउनुपर्छ ।
चाडपर्वको बेलामा घरको काम महिलाले मात्रै गर्ने र पुरुषहरू रमाइलोमा बिताउने प्रचलन हामी कहाँ अलि बढी नै छ । यसले चाडपर्वका अवसरमा आमा, दिदीबहिनीहरूलाई रमाइलोको साटो कामको भारीले थिच्ने गर्छ । यो क्रमलाई रोक्नका लागि घरका सबै सदस्यहरू मिलेर आफूले सकेको काम गर्नुपर्छ । बालबालिकाहरू पनि आफूले सकेअनुसारको काममा सहयोग पुरयाउनुपर्छ । यसले गर्दा चाडपर्व झन रमाइलो हुन्छ ।
मोबाइल वा टेलिभिजनबाट टाढा रहेर चाडपर्वको धार्मिक तथा साँस्कृतिक पक्षका बारेमा बढीभन्दा बढी जानकारी लिनुपर्छ । आज हामी जे सिक्छौं भोलि त्यही कुरा हामीले आफ्ना सन्ततीलाई पनि सिकाउनुपर्छ । आफूभन्दा ठूलाले जे गर्छन् त्यही नै सानाले पनि देखेर अनुशरण गर्ने भएकाले हाम्रो मौलीक संस्कृतिलाई बचाइ राख्न पनि उत्तिकै सघाउँछ ।
अभिभावकहरुले घरमा हिजोका हाम्रा चाडबाड अनि रितिथितिहरु किन र कसरी मनाइन्छ भनेर सिकाउने गर्नुहुन्छ । अहिले बिदाको समय पनि छ बालबालिकाका अनलाइन वा भौतिक कुनै पनि कक्षा भएका छैनन् । तर सबै भन्दा बढी ज्ञान हासिल गर्ने समय यो हुन सक्छ । हुन त अहिले कतिपय बालबालिकाले स्मार्टफोनमा अत्यधिक समय बिताएर बस्ने पनि गरेको पाइन्छ । एकातिर यस्ता कुराहरुमा व्यवस्थापनको चिन्ता छ भने अर्को तिर उनीहरुको न्युनतम हासिल गर्नुपर्ने ज्ञान हासिल गर्न नसकेर पछाडि परेको अवस्था पनि छ । यस्तो अवस्थामा यी सबै कुराको खाडललाइ पुर्ति गर्ने उपयुक्त समय चाडबाडको बिदा हुन सक्छ ।
यो बेला बालबालिकाहरु आफ्ना सबै परिवारका साथसँगै हुने हँुदा पनि परिवारको महत्व अनि घर परिवारमा रहेका आफू भन्दा ठूलाले गर्ने राम्रा व्यवहारहरु पनि प्रतिबिम्बित हुनेहँुदा पूजापाठका कुराहरू सही तरिकाले गर्न सकियो भने बालबालिकाले सिकेर ज्ञान हासिल गर्ने र आफ्नो जीवनमा अवलम्वन गर्न सक्छन् । सकेसम्म बालबालिकालाई यो बेला रचनात्मक बनाउँदै हाम्रा धार्मिक ऐतिहासिक महत्वका कुराहरु सिकाउादै ब्यस्त बनाउनुपर्छ ।
अबको संसार सूचना प्रविधिको हो । बालबालिकालाई सुचना र प्रविधिको पहँुचबाट टाढा राख्नु भनेको उनीहरुको भविष्यलाई पछाडि धकेल्नु पनि हो । त्यसैले घरपरिवारमा रहँदा सूचना र प्रविधिको प्रयोग कसरी गर्ने भनेर राम्रोसँग सिकाउन जरुरी छ । सूचना र प्रविधिको माध्यमबाट हामीले अनेकौ किसिमका फाइदाहरू लिन सक्छौं । तर, हामी मध्ये धेरैजसो अभिभावकको के गुनासो हुन्छ भने, सूचना प्रविधिका आधुनिक साधनहरूका कारण बालबालिकाको दैनिकी, आनीबानी र पढाइमै गम्भीर असर परिरहेको छ । यसो भनेर के यस्ता कुराबाट उनीहरूलाई जतिसक्दो टाढा राख्ने कोसिस गर्ने हो त ? अवश्य होइन । आजको समयमा सूचना प्रविधिबाट बालबालिकालाई टाढा राख्नु भनेको उनीहरूलाई पछाडि पार्नु हो । हामीले बुझ्न के जरुरी छ भने,सूचना प्रविधिका आधुनिक साधनहरू खराब होइनन् तिनको सही किसिमले प्रयोग नहुनु ठूलो चुनौती हो । हामीले बालबालिकालाई उनीहरुको रुचिका अन्य बिषयहरु समेत पहिचान गरि सिक्ने मौका दिनु राम्रो हुन्छ ।
कतिपयको रुचि चित्रकला, फोटोग्राफी, भिडियोग्राफी आदिमा पनि हुने गर्छ । अन्य कतिपयको रुचि गायन, वाद्यवादन, नाटक, खेलकुद आदिमा हुन सक्छ । यस्ता कुराले फस्टाउने मौका पाउन अभिभावकको साथ, समर्थन र सहयोग धेरै महत्वपूर्ण हुन्छ । बढी नै फुर्सदको यो समयलाई यस्ता रचनात्मक सीप र प्रतिभाको विकासका लागि खर्चने हो भने जीवनभरि कै लागि उत्पादक बन्न सक्छ । आफ्ना बालबालिकालाई समयको महत्व बुझाएर व्यावहारिक, जीवनोपयोगी र रचनात्मक कार्यमा क्रियाशील बनाउन सक्दा यो समयलाई फलदायी र प्रभावकारी बनाउन सकिन्छ भने हाम्रा चाडबाड अनि रितिथितिसहितको संस्कार सिकाएर सभ्य र परिस्कृत नागरिक बनाउन सकिन्छ । हाम्रा पौराणिक कुराहरुको जगेर्ना गर्दै भावी पुस्तालाई जिम्मेवार बनाउँदै इतिहासको संरक्षण गर्ने समेत मौका मिल्छ ।

प्रकाशित मिति: कार्तिक १२ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend