Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनको मूल्य एकैचोटी १६ हजार घटेपछि बजारमा सुन किन्नेको भीड

हाम्रो कोशी आवाज
मंसिर ११ २०८१, मंगलबार
सुनको मूल्य एकैचोटी १६ हजार घटेपछि बजारमा सुन किन्नेको भीड

धरानः सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको संख्या बढेको छ । सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु स्वभाविक रहेको बताउँछन् । ‘बजार भाउ घटेपछि त्यसको प्रभाव स्वाभाविक रूपमा मागमा देखिन्छ । सस्तो भएपछि मान्छेले किन्न खोज्छन्’, उनले भने । सोमबार बजारमा सुनचाँदीको राम्रो कारोबार भएको उनको भनाइ छ ।
पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ । आइतबार प्रतितोला एक लाख ६७ हजार दुई सयमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला एक लाख ५१ हजार तीन सय कायम भएको थियो । त्यस्तै, मंगलबार सुन प्रतितोला दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सरकारले सुनमा २० प्रतिशत भन्सार लगाउँदै आएकोमा १० प्रतिशत विन्दु अर्थात् आधा घटाएर १० प्रतिशत कायम गरेको छ । उच्च भन्सार दरका कारण नेपाली बजारमा सुनको मूल्य उच्च रहेको र छिमेकी भारतमा सस्तो सुन पाइने भएपछि त्यहाँबाट अवैध आयात बढेको आशंकाकाबीच सरकारले भन्सार दर घटाएको हो ।
हिजो र आज (मंगलबार) दुई दिन काठमाडौंको न्युरोड क्षेत्रका सुनचाँदी पसलमा ग्राहकको भिड बढेसँगै कारोबार पनि बढेको व्यवसायीको भनाइ छ । सुनचाँदी व्यवसायी महासंघका निर्देशक राजेन्द्र तुलाधर सुनचाँदी पसलमा भिड देखिएको भए पनि कति कारोबार भयो भन्ने विवरण उपलब्ध नरहेको बताउँछन् । ‘हरेक पसलमा ग्राहकको भिड देखिएको जानकारी आएको छ । तर, कारोबारको यकीन तथ्यांक उपलब्ध छैन । महासंघले कारोबारको तथ्यांकसमेत मागेको थियो । तर व्यापारीले दिँदैनन्’, उनले भने ।
सुन आयातको अधिकार वाणिज्य बैंकहरूले पाएका छन् । तर, बजारमा माग नहुँदा यसअघि बैंकहरूले सुन आयात नगरेको महासंघका पूर्वअध्यक्ष शाक्य बताउँछन् । ‘बैंकहरूले आयात गरेका छैनन् । भन्सार घटेपछिको दरमा आयात गरेर सुन बजारमा पुग्न एक हप्ता समय लाग्छ’, उनले भने । नेपालमा सुन आपूर्ति आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाउँदै आएको छ । सुनको बजार मूल्य निर्धारण भने महासंघमा रहेको मूल्य निर्धारण समितिले गर्ने गरेको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रअनुसार सुन आयातसम्बन्धी हालको व्यवस्था हेर्दा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन उपलब्ध गराउन राष्ट्र बैंकले बैंकमा स्वर्णकोषको व्यवस्था गरेको छ । उक्त कोषमा रहेको सुनको मौज्दातबाट सम्बन्धित बैंकहरूले निर्यातकर्ता तथा विदेशी मुद्रा स्वीकार गर्ने इजाजत प्राप्त स्थानीय बिक्रेतालाई सुन बिक्री गर्ने गर्छन् ।
राष्ट्र बैंकले सुनको बिक्री मूल्य अमेरिकी डलरमा निर्धारण गर्ने गर्छ । जसकारण अमेरिकी डलरको मूल्य तलमाथि हुँदा त्यसको असर सुनको नेपाली मूल्यमा देखिने गरेको छ । राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक प्रतिशतभन्दा बढी घटबढ भएमा सोअनुसार समायोजन गरी कायम गरिएको सुनको संशोधित बिक्री मूल्यको जानकारी राष्ट्र बैंकले बैंकलाई गराउँदछ । बैंकहरूले राष्ट्र बैंकले निर्धारण गरेको मूल्यको आधारमा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन बिक्री गर्दछन् ।
बैंकहरूले यसरी स्वर्णकोषबाट बिक्री गरेको सुनको भुक्तानी अमेरिकी डलरमा राष्ट्र बैंकलाई गर्छन् । निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई स्वर्णकोषबाट सुन बिक्री गरेबापत सेवा शुल्कस्वरुप बिक्री गरेको सुनको मूल्यको शून्य दशमलव २५ प्रतिशत रकम नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकलाई उपलब्ध गराउँछ । बैंकहरूले निर्यातकर्तालाई सुनका गरगहना निर्यात गर्न प्राप्त अग्रिम भुक्तानी प्रमाणपत्रको आधारमा सुन उपलब्ध गराउँछन् । बैंकहरूले निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई न्यूनतम एक सय ग्राम र बढीमा १० ग्रामको गुणन खण्डले हुन आउने परिमाणमा सुन बिक्री गर्नुपर्ने व्यवस्था छ । वाणिज्य बैंकहरूले दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न पाउने व्यवस्था छ ।
भन्सार विभागका अनुसार पछिल्लो पाँच वर्षमा मात्र १६ हजार ९ सय ४७ किलोग्राम सुन आयात भएको छ । चालु आर्थिक वर्षको चार महिनामा मात्र एक अर्ब ४२ करोड ७५ लाख २८ हजार बराबरको एक सय ३३ किलोग्राम सुन आयात भएको छ । जसबाट राज्यले २८ करोड ५५ लाख सात हजार बराबर भन्सार राजस्व प्राप्त गरेको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार बराबरका दुई हजार छ सय ५२ किलोग्राम सुन आयात भएको विभागको तथ्यांकमा देखिन्छ । जसबाट सरकारले तीन अर्ब ६४ करोड ८३ लाख बराबर भन्सार राजस्व प्राप्त गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार बराबरको दुई हजार नौ सय १७ किलोग्राम सुन आयात भएको देखिन्छ । जसबाट राज्यले २ अर्ब ५३ करोड ८३ लाख ५८ हजार बराबर राजस्व प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७८/८९ मा ३५ अर्ब ६१ करोड ९६ लाख बराबरको पाँच हजार ५३ किलोग्राम सुन आयात भएको थियो । सो वर्ष सुन आयातबाट सरकारले चार अर्ब २९ करोड ५० लाख ५६ हजार राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा तीन हजार नौ सय २५ किलोग्राम सुन आयात भएको थियो । सो आर्थिक वर्षमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार बराबरको सुन आयात हुँदा सरकारले तीन अर्ब ३३ करोड ५८ लाख राजस्व प्राप्त गरेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा १३ अर्ब ४६ करोड पाँच लाख बराबरको दुई हजार चार सय किलोग्राम सुन आयात भएको थियो भने त्यसबाट एक अर्ब ५० करोड ७५ लाख बराबर राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति: मंसिर ११ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend