धरानः तिहार नजिकिएसँगै बजारमा भाइमसलाको मूल्य छोइनसक्नु भएको छ ।
भाइटीकामा दाजुभाइलाई सगुनका रूपमा दिइने काजु, बदाम, पिस्ता, किसमिस, ओखरलगायत ड्राइफ्रुट्सको मूल्य गत वर्षको तुलनामा उल्लेख्य बढेको हो ।
केही ड्राइफ्रुट्सको मूल्य प्रतिकिलो १ हजार ८ सय रुपैयाँसम्मले बढेको छ भने अधिकांशको मूल्यमा सामान्य वृद्धि भएको छ । विशेषगरी पिस्ताको मूल्यमा भएको वृद्धिले उपभोक्तालाई बढी प्रभावित बनाएको छ ।
तिहारमा भाइटीकाका लागि भाइमसलाको विशेष महत्त्व हुन्छ । ओखर, नरिवल, किसमिस, आलमण्ड बदाम, छोकडा, काजु, पिस्ता, मखना, खुर्पानी, अञ्जिर, ल्वाङ, सुकुमेल, अलैँची, दालचिनी, मिश्री, काँचो बदाम र कटुसलगायतका सामग्री भाइमसलाका रूपमा प्रयोग गरिन्छन् । यही समयमा यी सामग्रीको खपत पनि उच्च हुने गर्छ ।
तर, यस वर्ष तिनै सामग्री किन्न उपभोक्ताले गत वर्षभन्दा बढी रकम खर्च गर्नुपर्ने भएको छ । भाइटीकाका अवसरमा दाजुभाइलाई सगुनका रूपमा काजु, बदाम, किसमिस, पिस्ता र ओखर दिने चलन छ ।
नेपालले केही सीमित सामग्रीबाहेक अधिकांश ड्राइफ्रुट्स भारत, चीन, अमेरिका, इन्डोनेसिया र थाइल्यान्डलगायतका मुलुकबाट आयात गर्दै आएको छ ।
यस वर्ष प्रतिकिलो १ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म मूल्य बढेको होलसेल व्यापारी जित दास बताउँछन् । उनका अनुसार सबैभन्दा बढी पिस्ताको मूल्य बढेको छ । ‘मूल्य नबढेको केही छैन । सबैको मूल्य बढेको छ,’ उनले भने, ‘पिस्ता त राखेकै छैनौँ, ३ हजार ५ सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । जुन गत वर्ष करिब २ हजारदेखि २ हजार २ सय रुपैयाँ थियो ।’
केही ड्राइफ्रुट्सबाहेक अन्यको मूल्यमा सामान्य वृद्धि भएको उनको भनाइ छ । आयात गर्दा नै मूल्य बढेर आएकाले बजारमा पनि महँगो भएको उनले बताए ।
हिले पिस्ता प्रतिकिलो ४ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । गत वर्ष यसको मूल्य २ हजार २ सय रुपैयाँ थियो । यस हिसाबले एक वर्षमा पिस्ताको मूल्य प्रतिकिलो १ हजार ८ सय रुपैयाँसम्म बढेको छ ।
काजु प्रतिकिलो १ हजार ८ सयदेखि २ हजार २ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ । गत वर्ष यसको मूल्य १ हजार ८ सयदेखि १ हजार ९ सय रुपैयाँसम्म थियो ।
त्यस्तै, किसमिस प्रतिकिलो ७ सयदेखि ८ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । गत वर्ष यसको मूल्य ४ सय ५० रुपैयाँ थियो ।
बदाम अर्थात् आलमण्ड प्रतिकिलो १ हजार ८ सयदेखि १ हजार ९ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । गत वर्ष यसको मूल्य १ हजार ६ सय रुपैयाँ थियो ।
ओखर प्रतिकिलो ५ सय ५० देखि ६ सय ५० रुपैयाँसम्ममा कारोबार भइरहेको छ । गत वर्ष प्रतिकिलो ४ सय ५० रुपैयाँमा बिक्री भइरहेको थियो ।
मिश्रीको मूल्य पनि बढेको छ । अहिले प्रतिकिलो १ सय ८० देखि २ सय रुपैयाँसम्ममा कारोबार भइरहेको मिश्री गत वर्ष १ सय ४५ रुपैयाँमा बिक्री हुन्थ्यो ।