Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दशैं आउन दुई महिना बाँकी, व्यापार खस्किएपछि नयाँ सामान हाल्न डराए व्यापारी !

अनुषा थापा
साउन १८ २०८२, आइतबार
दशैं आउन दुई महिना बाँकी, व्यापार खस्किएपछि नयाँ सामान हाल्न डराए व्यापारी !

नेपालीको प्रमुख चाड दशैं नजिकिँदै छ । दशैं आउन अब दुई महिना मात्र बाँकी छ । पोहोरसम्म व्यापारीहरुले दशैं आउनुभन्दा तीन–चार महिना अगावै सामानहरु मगाउँथें । रेडिमेड लत्ताकपडा, झोला, जुत्तालगायतका सामान धमाधम गरिन्थ्यो । तर, यसपाला भने अवस्था फेरिएको छ ।
दशैं मुखमा आइसक्यो, व्यापारीहरुले अहिलेसम्म नयाँ सामान आयात गरेका छैनन् । कारण–पुरानै स्टक बाँकी हुनु र सामान ल्याउन पैसाको अभाव हुनु हो । दशैं ठूलो चाड हो । दशैंमा नयाँ लुगा लगाउने चलनचल्ती छ । जसका कारण बजारमा अत्याधिक लत्ताकपडाको खपत हुन्थ्यो ।
दशैं व्यापारीका लागि एउटा कमाउने मौका हो । वर्षभरिको कारोबारभन्दा बढी कारोबार व्यापारीले दशैंमा गर्छन् । चीनबाट सय रुपैयाँमा ल्याएको सामान महाबौद्ध, न्यूरोडलगायतका होलसेल व्यापारीले तीन सयमा बेच्छन् । त्यही सामान पसलमा ल्याएर खुद्रे व्यापारीहरुले हजार–१५ सयमा बेच्छन् ।
यद्यपि, कमाउने मौकामै व्यापारीहरु हात बाँधेर बसेका छन् । किन कि, बजार डामाडोल छ भन्ने कुरा उनीहरुले पनि राम्ररी बुझेका छन् । सर्वसाधारणसँग पैसा छैन । जसका कारण नयाँ सामान हाल्न उनीहरु डराएका छन् । पोहोरकै सामान नबिकिरहेको अवस्थामा नयाँ सामान हालेर के गर्नु ? भन्ने मनशाय धेरै व्यापारीमा देखिएको छ ।
सर्वसाधारणले खुद्रे व्यापारीबाट सामान किन्छन् । तर, खुद्रे व्यापारीकहाँ नै बिक्री नभएकाले नयाँ सामान लिन होलसेल जानेहरु घटेका छन् । सामान किन्न खुद्रे व्यापारी नआएपछि होलसेल व्यापारीले नयाँ सामान नमगाएका हुन् । व्यापारीहरुले विगतदेखि नै उपभोक्तालाई ठग्दै आएका छन् ।
सस्तोमा सामान ल्याएर मँहगोमा बेचिन्छ । न होलसेल व्यापारीले भ्याट बिल दिन्छन् न खुद्रा व्यापारीले । लुगामा व्यापक ठगी हुन्छ भन्ने कुरा सर्वसाधारणले राम्ररी बुझिसकेका छन् । व्यापारीले सस्तोमा ल्याएर आफूहरुलाई दोब्रयाइरहेको छर्लङ्ग भएको छ । पहिले दिनकै पचासौं हजारको व्यापार गर्ने पसलहरुमा अहिले सुख्खाराम लागेको छ ।
दिनको हजार–१५ सयको व्यापार गर्न पनि महामुस्किल छ । भनिन्छ नि, जबसम्म सच्चाई बाहिर आउँदैन, तबसम्म पनि ठग्ने हो । व्यापारीको हकमा पनि त्यस्तै भएको छ । हिजो व्यापारीले व्यक्ति छानिछानि ठगे । अहिले त्यसको परिणाम भोग्दै छन् । व्यापारीहरुले सर्वसाधारणलाई त लुटे, सरकारलाई पनि छोडेनन् ।
सर्वसाधारणबाट एउटा सामानमा हजारौं रुपैयाँ नाफा खाने अनि राज्यलाई कर पनि नतिर्ने । कुनै बेला सामान किन्नका निम्ति पसलभित्र गएर लाइन बस्नुपर्थ्यों । होटलमा समेत घण्टौं कुर्नुपर्थ्यो । तर, परिस्थिति फेरिएको छ । व्यापारीहरु बोलाईबोलाई ग्राहकलाई आफ्नो पसलमा लैजान्छन् ।
मुलुकका नाम चलेका सुपरमार्केटहरुको पनि अवस्था उस्तै छ । पहिलेको तुलनामा ग्राहक आधा घटिसकेको छ । यस्तो हुनुको प्रमुख कारण कम गुणस्तरता र अत्याधिक चर्को मूल्य हो । सुपरमार्केटहरुमा लुगा छोइनसक्नु छ । व्यापारीको नियत नै ठग्ने भयो । जसरी हुन्छ ठग्ने अनि आफू मोटाउने ।
व्यापारीमा इमान्दारिता, जवाफदेहिता र नैतिकता हुनुपर्छ । तर, यहाँ त व्यापारको नाममा ठगी मौलाएको छ । भन्ने बेला व्यापारी, गर्नेचाँहि ठगी । व्यापारीलाई सर्वसाधारणलाई मुर्गा बनाएर आफू कमाउनु छ । अनि त्यो लुटको धन्दा कतिञ्जेल चल्छ ? लुटको अनुहार कहिले न कहिले त बाहिर आइहाल्छ ।
व्यापारीहरुले यत्रो वर्ष ठगे, अहिले उनीहरुको सत्यता बाहिर आएको छ । जसको असर व्यापारीहरुले अहिले भोगिरहेका छन् । व्यापार सुकेपछि व्यापारीहरु सटर छोड्ने निर्णयमा पुगेका छन् । दशैंसम्म हेर्ने, त्यसपछि पनि व्यापार फस्टाएन भने सटर छोड्ने मनशायमा उनीहरु पुगेका छन् ।
व्यापारीहरु बरु व्यापार छोड्न तयार भए तर कम नाफा खाएर सामान बेच्न उनीहरु तयार छैनन् । एउटै सामानबाट उनीहरुलाई दशौं सामानको पैसा उठाउनु छ । त्यसैले त व्यापार खस्किँदै गयो । सर्वसाधारणको नजरमा व्यापारीहरु ठग बन्दै गए । बजार अनुगमनको लागि थुप्रै निकाय छन् ।
तर, कसैले पनि बजार अनुगमन गर्दैनन् । कुन सामानको रेट कति ? मूल्य पनि निर्धारण गर्दैन । खुल्ला अर्थतन्त्र भनेर छाडा छोडिदिएको अवस्था छ । एउटा रोचक कुरा छ, नेपाल उद्योग व्यवसायी महासंघ संस्था ऐन २०१८ अन्तर्गत दर्ता भएको छ । त्यसको छाता संगठनहरु संस्था ऐन २०३४ अन्तर्गत दर्ता भएको छ ।
यो ऐनमा दर्ता भएका उद्योगले कर तिर्नुपर्दैन । यहाँ उद्योग, कलकारखाना छैन तर आफूलाई उद्योग व्यवसायी भन्दै हिँडेका छन् । उद्योग व्यवसायीमा वास्तवमै कति उद्योग छ ? विवरण सार्वजनिक गर्नुपर्यो । किन कि सुनदेखि नुन, जनैदेखि गुन्द्रुकसम्म विदेशबाट आयात हुन्छ ।
बाहिरबाट सामान आयात गरेर बिक्री गर्ने अनि आफूलाई उद्योग व्यवसायी भन्छन् । उद्योग व्यवसायी महासंघ हुनका लागि उद्योग मन्त्रालयमा दर्ता हुनुपर्छ । संस्था ऐन गृह मन्त्रालयअन्तर्गत छ । उद्योग व्यवसायीले कर छल्नका लागि त्यसो गरेका हुन् । आफैं कर छल्ने अनि हामी बनाउँछौं देश भन्दै हिँड्ने ।
योभन्दा बढी नौटंकी के होला ? उद्योग व्यवसायीहरु दलाल हुन् । नेपालमा सियोसम्म बन्ने कारखाना छैन । अरुको देशमा बनेको सामान किन्ने अनि बीचमा बसेर कमिशन खाने । देशमा पटकपटक राजनीतिक परिवर्तन भयो । तर, पञ्चायत कालमा ल्याएको संस्था ऐन अहिलेसम्म परिवर्तन गरिएको छैन ।
पुरानै ऐनले मुलुक चलिरहेको छ । जनताले पटकपटक मतदान गरेर सांसदलाई कानुन बनाउने ठाउँमा पुर्याए । तर, पुरानो ऐन खारेज गरेर नयाँ ऐन ल्याउन चासो देखाइएको छैन् । न कुनै जनप्रतिनिधिले आवाज नै उठाए । सो ऐनमा संस्था दर्ता गर्ने, राजनीतिक पार्टीको झोला बोक्ने अनि आफूलाई व्यवसायी भन्दै हिँड्ने ।
सबै महासंघ र त्यसका छाता संगठन यही ऐनमा दर्ता भएको छ । कर नतिर्ने अनि महासंघ खोलेर नेता बन्दै हिँड्ने । पञ्चायत कालमा बनेको ऐन लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको डेढ दशक बितिसक्दा पनि परिवर्तन गर्न नसक्नु लाजमर्दो छ । यसले जनप्रतिनिधि कतिसम्म ‘कामचोर’ छन् भन्ने प्रष्ट पार्छ ।
जनतासँग काम छैन । काम गरेको ठाउँमा पनि पैसा नपाइरहेको अवस्था छ । दालभात खानै पैसा छैन भने लुगा कसले किन्छ ? बुढापाकाले भन्थे, व्यापारीले खोज्छ दाउ, उपभोक्ताले खोज्छ भाउ । एउटा सामानमा घटाएकोजस्तो गरेर व्यापारीले अर्को सामानबाट असुल्छ ।
बजारमा भएको ठगीको अन्त्य गर्ने र राजश्व असुल गर्ने हो भने सरकारले तीव्र रुपमा बजार अनुगमन गर्नुपर्छ । बिल नदिने व्यापारीलाई कारबाही गर्नुपर्छ । पैसा नहुनेलाई के दशै, के तिहार । ‘दुई छाक टार्न समस्या परिरहेको अवस्थामा जनताले कहाँबाट नयाँ लुगा किन्नु ?
पहिलेपहिले व्यापारीहरु दशैं कुरेर बस्थें । किन कि दशैंमा राम्रो आम्दानी हुन्थ्यो । लाखदेखि करोडसम्मको व्यापार गर्थें व्यापारीहरु । सरकार कानमा तेल हालेर बसेपनि जनतामा चेतना आएको छ ।

प्रकाशित मिति: साउन १८ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ६ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • सुनसरीको बसपार्कबाट प्रहरीले खोजीखोजी समात्यो

    धरानः सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । इनरुवा–४ बसपार्कमा प्रहरीले खोजीखोजी युवालाई पक्राउ गरेको हो । पूर्व–पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend