Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कलाले तानेको मन

हाम्रो कोशी आवाज
भाद्र ५ २०८२, बिहिबार
धरानमा कलाले तानेको मन

धरानमा अहिले जताततै पार्ककै चर्चा छ । श्रम संस्कृति पार्क, ढुङ्गेकला पार्क, झन्डा पार्क, स्व. तारा सुब्बा स्मृति पार्क आदि अन्य बनिसकेका पार्कहरूको । अहिले धेरैजसो श्रम संस्कृति पार्क र ढुङ्गेकला पार्कको कलाले धेरैको मन तानिरहेको छ । भनौं, कलाले अहिले अधिकांशको मन तानेको हो ।
श्रम संस्कृति पार्क भित्र बनेका श्रम चौतारी, आरा धरान, गोर्खा चौतारी, एसएनएस चौतारी, मौनता क्षेत्र, एसडिएस रक गार्डेन, साँगुरीगढी पुग्ने पदमार्ग आदि कलैकलाले भरिएका छन् । यहाँ बनेका जति पनि संरचनामा कलाका कारणले पनि आन्तरिक र बाह्य पर्यटकको मन लोभ्याएको मूर्तिकार रोजन राई बताउँछन् । ‘श्रम संस्कृति पार्कभित्र जति पनि संरचना बने ती कलाले भरिएका छन्, त्यही कलाले अहिले सबैको मन तानेको छ ।’ उनी भन्छन् । धरान उपमहा नगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) र उनका समर्थकले निर्माण गरेको पार्क अहिले पर्यटकीय गन्तव्यका रूपमा विकसित भइसकेको छ । भेडेटारलगायत कोशी प्रदेशभर घुम्न आउने पर्यटक अहिले यहाँ निस्किएर मात्रै जान्छन् । सर्दु खोला बगरमा उजाड र दुव्र्यसनीको अखडा बनेको ठाउँमा अहिले हेर्नलायक पार्क बनाइएको छ ।
इटहरीबाट घुम्न आएकी रमिता खड्काले पार्कको सुन्दरता र कला पहिल्यै सुनेको बताउँदै तेस्रोपटक आउँदा पनि धीत नमपरेको बताइन् । ‘खासमा यहाँ आएर टिकटक, फेसबुकमा भिडियो पोष्ट गर्न मात्रै होइन, यहाँको प्रकृतिसँग रम्नुको छुट्टै मज्जा छ, यहाँ आएपछि टिकटक, फेसबुकको लागि भिडियो बनाउनु र सेल्फी हान्नु त छँदैछ, भेडेटारको जस्तै चिसो हावापानी, प्राकृतिक वातावरणले मेरो मन तानिरहेको हुन्छ ।’ उनले यहाँका अधिकांश संरचना कलात्मक र आकर्षक लागेको बताइन् । धरान–२० र १३ मा निर्माण भएका पार्कले अहिले आकर्षकको केन्द्रमात्रै बनेको छैन, यहाँ रोपिएका फलफूललगायत अन्य वोटविरुवाले पनि मन तान्ने गरेको पाइएको उनले बताइन् । पार्कमा बनेका विभिन्न संरचनामा विभिन्न मनकारी दाताहरुले आफन्तका नाममा, आफैंले पनि फलैंचा र कुर्सी निर्माण गरिदिएपछि त्यहाँ आराम गर्दै रमित हेर्न क्या आनन्द आउने धरान–१५ का सविना राईले बताइन् । ‘खासमा घुमिसकेपछि थकाइ मार्दै यहाँका विभिन्न संरचना, शान्त र सुन्दर प्राकृतिक सम्पदा नियाल्दा क्या आनन्द आउँछ भनेको ।’ उनले थपिन्, ‘यहाँ खानेपानीको सुविधा, शौचालय निर्माण, विभिन्न खाजाका परिकार चाखिरहन पनि आउन मन लागिरहन्छ ।’

यहाँ देशका विभिन्न जिल्लाबाट घुम्न आउने गरेका छन् । दैनिक न्यूनतम करिब ४ सय बढी आन्तरिक र बाह्य पर्यटक यहाँ पुग्ने गरेको र मासिक न्युनतम १० लाख रुपैयाँ आम्दानी हुँदै आएको धरान उपमहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटा बताउँछन् । ‘पार्कमा न्यूनतम प्रवेश शुल्क लिएर अहिले ती विभिन्न पार्कबाट न्यूनतम १० लाख रुपैयाँसम्म आम्दानी हुँदै आएको छ, वर्षमा करिब १
करोड १५ लाख बढी नगरलाई आम्दानी भइसकेको छ ।’ उनले भने ।
देशभरका विभिन्न जिल्लादेखि भारतको बिहार, सिक्कम, दार्जिलिङदेखि पनि पार्कले चर्चा कमाइसकेपछि हेर्नका लागि आउने बढिरहेको उनले जानकारी दिए । उनले यो पार्क धरानको पर्यटन विकासका लागि महत्वपूर्ण माध्यम सावित भइसकेको बताए । ‘सामाजिक सञ्जालमा जति चर्चा छ, उति नै यहाँको आम्दानी पनि बढिरहेको छ’, उनले भने, ‘पार्कले धरानको पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।’
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ गोपाल श्रेष्ठ पनि घुम्न आएका पर्यटकको कारण आर्थिक चलायनमान हुँदा धरानलाई नै फाइदा पुग्ने बताउँछन् । उनले अहिले पर्यटक भित्रिएसँगै नजिकै रहेकादेखि अन्य होटल व्यवसाय, टेम्पो व्यवसाय पनि फस्टाएर गएको पाइएको समेत बताए ।
धरान–१३ का स्थानीय समेत रहेका संघकै महेन्द्र प्रधानले धरान–१३ को फुस्रे बजारमा समेत अहिले चहलपहल र पर्यटकको ओहोदोहोरले फुस्रे ब्युँतिएको महसुस हुन थालेको बताउँछन् । ‘खासमा फुस्रे बजार पुरानो चल्तीको बजार हो तर सुक्दै गएको थियो, चहलपहल थिएन, निराश लाग्थ्यो तर अहिले चहलपहलमात्रै हुँदा पनि पहिलाको फुस्रे अहिले ब्युँतिएको पो हो कि जस्तो लाग्छ’, उनले थपे, ‘अहिले थोरै भएपनि त्यहाँका व्यवसायीले राहत महसुस गरिरहेका छन् ।’ उनले त्यहाँ केही व्यवस्थित खाजा घर सञ्चालनमा ल्याउन सके राम्रो आम्दानी हुने समेत उनले बताए । उनले धरानका अन्य क्षेत्रमा पनि पार्क बनाउन सके आम्दानीको स्रोत समेत थपिने महसुस गरेको पनि बताए ।
केवी मसाल लेख्छन्–श्रम संस्कृति पार्क श्रमको सम्मानस्वरुप निर्माण भएको हो । पर्यटकहरू निर्माण भएका पार्कमा पुग्छन् र रमाउँछन् । यात्रामा एकैछिन भएपनि थकाइ मेट्छन् । श्रमदानमार्फत् हराएको गएको समाजो श्रमदान संस्कृति पुनः जागृत धरानले गरेको छ, यो सह्रानीय काम हो । श्रमदान पार्क हरियाली पार्कमात्रै नभएर श्रमिकको योगदान, ऐतिहासिक दस्तावेज र सामाजिक चेतनाको मञ्च, रंगीत र जीवन्त पार्क हो भन्ने म ठान्छु । श्रम संस्कृति पार्कले उद्योग निर्माण, यातायात, कृषि वा दैनिक मजदुरीमा खटिने श्रमिकवर्गको भूमिका धरानको विकासको मेरुदण्ड हो भन्ने सन्देश पनि पार्कले दिएको छ । जसको मूल उद्देश्य श्रमको मूल्य, श्रमिकको इज्जत र श्रमप्रतिको सकारात्मक दृष्टिकोणलाई प्रवद्र्धन गर्नु हो ।
भानुचोकबाट करिब ६ किलोमिटर माथि बनेको पार्कसँगै ओशो र बीपी पार्क पनि छन् । अहिले त्यहाँ वृद्धवृद्धाहरुको लागि भनेर ज्येष्ठ नागरिक पार्क निर्माणको तरखरमा छ । त्यो पनि आकर्षक र लोभलाग्दो बनिन लागेको मेयर साम्पाङको दावी छ ।

कतिपयले खोला छेऊमा संरचना बनेको र खोला १२ वर्षमा फर्किने हुनाले दीर्घकालीन नभएको बताउँदै आएका छन् । तर पनि आफूहरुले पार्क बचाउन वर्षेनीजसो श्रमदानमार्फत् खोलाको संरचना गर्दै आएको स्वतन्त्र नागरिक समाजका अध्यक्ष समिर तामाङ बताउँछन् । ‘धरानमा पार्क बनाउन उपयुक्त अन्य खाली जमीन छैनन्, त्यही भएर पनि हामीले खोलाकै छेऊमा भएपनि मनोरम पार्क बनाएका छौं’, उनले भने, ‘खोलाबाट बचाउन हामीले श्रमदान गर्दै आएका छौं ।’ अहिले आरा धरान, रक गार्डेनलगायतका ठाउँमा श्रमदानमार्फत् लगाइएको ग्याविन वालले काम गरिरहेको उनले बताए । अझै खोलालाई केही भाग छाड्दै दीर्घकालीन संरचना बनाउने विषयमा आफूहरुले छलफल चलाइरहेको उनले बताए ।
खानेपानीको मुहान सर्दु जलाधार क्षेत्रमा पार्क बनिनु हुँदैन थियो भन्दै कतिपयले टिकाटिप्पणी गर्दै आएपनि वर्षायाममा मुहान क्षेत्रबाटै आउने पानीमात्रै प्रयोग गरिने र पार्कदेखि तलतिरको पानी प्रयोग नहुने मेयर साम्पाङको तर्क छ । ‘वर्षायाममा सर्दु, खर्दु र निशानेको मुहानमै पाइप विछ्याएर पानी ल्याइन्छ’, उनले भने, ‘हिउँदमा मात्रै पार्क तलतिरको पानी ल्याइन्छ, त्यतिबेला फोहोर हुँदैन, अझ भन्ने हो भने हामीले खोलाखाल्सी फोहोर हुन नदिन सर्दु, खर्दु र अन्य ठाउँमा जान प्रतिबन्ध नै लगाएका छौं ।’
ढुङ्गेकला पार्क
धरान–४ मा ढुङ्गेकला पार्क निर्माण भइरहेको छ । मूर्तिकार शंकर बराइलीलगायत १० जना भन्दा बढी मूर्तिकारहरूले त्यहाँ ढुङ्गामा कला देखाइरहेका छन् । डा. सन्दुक रुइत, डा. महावीर पुनः, उज्यालो अभियानका नायक कुलमान घिसिङ, मेयर साम्पाङ, पूर्वमन्त्री सुदन किरातीलगायत विभिन्न चर्चित खेलाडी, कलाकारहरूको मूर्ति निर्माण भइरहेको छ ।
विभिन्न संघसंस्था र दाताहरूको सहयोगमा निर्माण भइरहेको पार्कमा आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने किसिमको बनाइएको धरान–४ वडाध्यक्ष धनबहादुर राई बताउँछन् । ‘अहिले हामीले त्यहाँ जीवित व्यक्तिका आकृतिहरू कुँदेर ऐतिहासिक र सांस्कृतिरूपमा निकै महत्वपूर्ण बनाएका छौं, यो साँच्चै नै आन्तरिक र बाह्य पर्यटकको थलो बन्ने निश्चित छ ।’ उनी भन्छन् । -हाम्रो कोशी आवाज साप्ताहिकबाट

 

प्रकाशित मिति: भाद्र ५ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend