Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेस्सीको विश्वकपमा कीर्तिमानहरू, के २०३० मा सहभागी बन्लान् ?

हाम्रो कोशी आवाज
साउन ४ २०८३, सोमबार
मेस्सीको विश्वकपमा कीर्तिमानहरू, के २०३० मा सहभागी बन्लान् ?

धरानः मेस्सी २०३० को सातौँ विश्वकपमा सहभागी बन्लान् । यो प्रश्न अहिले पनि छ ।
यदि मेस्सीले २०३० सम्म राष्ट्रिय टोलीमा निरन्तरता दिए भने, उनी ४३ वर्षको उमेरमा विश्वकप खेल्ने इतिहासकै सबैभन्दा उमेर पुगेका आउटफिल्ड खेलाडी बन्ने छन्। यदि त्यसबेलासम्म क्रिस्टियानो रोनाल्डोले पनि खेलिरहेनन् भने। यससँगै उनले अर्को ऐतिहासिक अवसर पनि पाउनेछन्। सन् २०३० विश्वकपको शताब्दी संस्करणअन्तर्गत अर्जेन्टिनामा आयोजना हुने उद्घाटन खेलमध्ये कुनै एकमा आफ्नै समर्थकमाझ खेल्ने सम्भावना छ।
स्पेनी फुटबल विश्लेषक गिलेम बालागुए का अनुसार, २०२६ मेस्सीको अन्तिम विश्वकप नहुन पनि सक्छ। उनले भने,’सबैले यो अन्तिम हो भन्छन्, तर म त्यस्तो सोच्दिनँ। मेस्सी राष्ट्रिय टोलीसँग खेल्न रमाउँछन्।’ उनका अनुसार मेस्सीको अन्तर्राष्ट्रिय फुटबलप्रतिको मोह अझै समाप्त भएको छैन।
३९ वर्षमा पनि अद्भुत प्रदर्शन
२०२६ विश्वकपमा मेस्सीको प्रदर्शन अविस्मरणीय रह्यो। सात खेलमा उनले ८ गोल गरेका छन्। प्रतियोगिताका सर्वाधिक गोलकर्ता एम्बाप्पेभन्दा उनी दुई गोलले मात्र पछाडि छन्। साथै, उनले आफ्नो जादुमयी प्रदर्शनमार्फत अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याएका छन्। प्रशिक्षक स्कालोनीले भने, ‘मेस्सी इतिहास हुन्, एक जीवित किंवदन्ती । ३९ वर्षको उमेरमा विश्वकप फाइनल पुग्नु नै अविश्वसनीय उपलब्धि हो। उनी संसारले देखेको सबैभन्दा महान् फुटबलर हुन्।’ उनले थपे, ‘डिएगो म्याराडोनालाई हामी अहिले पनि सम्झन्छौँ। तर मेस्सी अझै हामीसँग छन्, त्यसैले उनको खेल खुलेर आनन्द लिनुपर्छ।’
स्कालोनीले मेस्सीको भविष्यबारे भने, ‘यो उनको अन्तिम खेल हो कि होइन, मलाई थाहा छैन। हामीले यसबारे कुरा गरेका छैनौँ।’ विश्वकपमा मेस्सीका २१ गोलमध्ये १५ गोल उनले ३५ वर्षपछि गरेका छन्।
२०२२ मा विश्वकप जितेपछि धेरैले उनको अन्तर्राष्ट्रिय यात्रा सकिएको ठानेका थिए। तर २०२६ मा उनले फेरि आफू किन महान् हुन् भन्ने प्रमाणित गरे । बालागुए भन्छन्, ‘मलाई लाग्छ, मेस्सीले अझै अन्तिम शब्द बोलेका छैनन्।’ उनका अनुसार मेस्सी ३९ वर्षको उमेरमा पनि १२० मिनेटसम्म खेल पूरा गर्न सक्षम छन् । केप भर्डेविरुद्धको खेलमा उनले पहिलो ९० मिनेटमा ६.५ किलोमिटर दूरी तय गरेका थिए, जसको ६२ प्रतिशत समय उनी हिँडिरहेका थिए । बालागुएको निष्कर्ष छ, ‘उनी अझै फुटबलप्रति उत्तिकै भावुक छन्। यही कारणले मलाई लाग्दैन कि उनले राष्ट्रिय टोली छाड्नेछन्।’
आफ्नै देशमा विश्वकप खेल्ने अवसर
सन् २०३० विश्वकप स्पेन, पोर्चुगल र मोरक्को मा मुख्य रूपमा आयोजना हुने छ। तर प्रतियोगिताको शताब्दी विशेष कार्यक्रमअन्तर्गत अर्जेन्टिना, उरुग्वे र पाराग्वे मा पनि उद्घाटन खेलहरू हुने छन् । आफ्नै देशका समर्थकमाझ विश्वकप खेल्ने अवसर मेस्सीका लागि अस्वीकार गर्न गाह्रो हुन सक्छ । यद्यपि, २०२२ को फाइनलअघि उनले भनेका थिए, ‘विश्वकप यात्राको अन्तिम खेल फाइनल हुनु मेरो लागि अत्यन्तै खुसीको कुरा हो। अर्को विश्वकपसम्म पुग्न सकूँला जस्तो लाग्दैन। यसरी अन्त्य हुनु नै उत्कृष्ट हुने छ।’ तर त्यो अनुमान गलत सावित भयो। त्यसैले २०२६ को फाइनलपछि उनले जे भने पनि, २०३० विश्वकपका लागि ढोका पूर्ण रूपमा बन्द भइसकेको भन्न सकिँदैन।
मेस्सीका विश्वकप कीर्तिमानहरू
इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा गोल नगरे पनि मेस्सीले दुई असिस्ट दिए। यससँगै विश्वकपमा उनका १२ असिस्ट पुगेका छन्, जसमध्ये १० असिस्ट नकआउट चरणमा आएका छन्। यो कीर्तिमान अहिलेसम्म कुनै खेलाडीले बराबरी गर्न सकेको छैन। त्यस्तै विश्वकपमा सबैभन्दा धेरै ३३ खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन्। क्रिस्टियानो रोनाल्डोसँगै पुरुष विश्वकपका ६ संस्करण खेल्ने दुई खेलाडीमध्ये उनी एक हुन्। दुई पटक गोल्डेन बल जित्ने एकमात्र खेलाडी (२०१४ र २०२२) मा यो उपलब्धि हासिल गरेका छन्।
त्यस्तै २०२२ मा समूह चरणदेखि फाइनलसम्म प्रत्येक चरणमा गोल गर्ने एकमात्र खेलाडीको कीर्तिमान पनि मेस्सीलेनै बनाएका छन्। लगातार ११ विश्वकप खेलमा गोल वा असिस्ट गर्ने कीर्तिमान पनि मेस्सीकै नाममा छ। लगातार ९ विश्वकप खेलमा गोल गर्ने विश्व कीर्तिमान पनि मेस्सीले बनाएका छन्। आइतबारको फाइनल खेल्दै उनले काफु पछि तीन विश्वकप फाइनल खेल्ने दोस्रो खेलाडी बन्ने छन्। मेस्सीले आइतबार ट्रफी उचाल्न सके, उनी केवल अर्जेन्टिनाका नायक मात्र होइन, विश्व फुटबल इतिहासकै सबैभन्दा महान् उपलब्धि बोकेका खेलाडीका रूपमा आफ्नो विरासतलाई अझ उज्ज्वल बनाउने छन्।

प्रकाशित मिति: साउन ४ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend