Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फाइल अड्काउने प्रवृत्ति रोक्न सरकारको कडा कदम

हाम्रो कोशी आवाज
चैत्र २८ २०८२, शनिबार
फाइल अड्काउने प्रवृत्ति रोक्न सरकारको कडा कदम

धरानः सरकारले सरकारी कामकाजलाई चुस्त बनाउन आगामी चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल सप्ताह अभियान’ सञ्चालन गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस सम्बन्धमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन मार्गदर्शन, २०८२’ जारी गर्दै सबै सरकारी निकायलाई कार्यान्वयनका लागि निर्देशन दिएको छ । कार्यालयमा दर्ता भएका फाइल, सुरु भएका टिप्पणीलगायतका कागजात विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने तथा निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्न यस्तो अभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यस अभियानको मुख्य उद्देश्य चालु अवस्थामा रहेका कुनै पनि फाइल अनिश्चित समयसम्म अड्केर नबसून्, जिम्मेवारी स्पष्ट होस् र काम हुने वा नहुने विषयमा समयमै टुङ्गो लागोस् भन्ने रहेको छ ।
मार्गदर्शनअनुसार, कार्यालयमा थन्किएका तथा अनिर्णित फाइलहरूको प्रक्रिया पूरा गरी छिटो टुङ्गो लगाउनुपर्नेछ । साथै, कुन फाइल कुन पदाधिकारीकहाँ कति दिन रह्यो भन्नेबारे दैनिक रूपमा अभिलेख राख्नुपर्ने छ ।
सात दिनभन्दा बढी रोकिएका फाइलहरूमा महाशाखा प्रमुख वा कार्यालय प्रमुखबाट अनिवार्य समीक्षा गरी ढिलाइको कारण पत्ता लगाउने, जिम्मेवार पक्ष स्पष्ट गर्ने र टुङ्ग्याउने समयसीमा तोक्नुपर्नेछ ।
अभियान सञ्चालनका लागि ‘शून्य बाँकी फाइल सप्ताह अभियान समन्वय समिति’ गठन गरिएको छ । समितिमा कार्यालय प्रमुख संयोजक रहनेछन् भने सम्बन्धित महाशाखा प्रमुख, प्रशासन प्रमुख र योजना अनुगमन शाखा प्रमुख सदस्य रहनेछन् ।
सूचना प्रविधि प्रतिनिधि तथा कार्यालय प्रमुखले तोकेको कर्मचारी सदस्य सचिव रहने व्यवस्था गरिएको छ । यो अभियान सञ्चालनपछि पेन्डिङ फाइलको संख्या घट्ने, जिम्मेवारी स्पष्ट हुने, निर्णय प्रक्रियामा गति आउने र सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: चैत्र २८ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend