Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुईदिने बिदाले कर्मचारीलाई झनै मोज !

रुषा थापा
जेष्ठ ४ २०८३, सोमबार
दुईदिने बिदाले कर्मचारीलाई झनै मोज !

धरानः पेट्रोलियम पदार्थको खपत घटाउन भन्दै केही समयअघिको क्याबिनेट बैठकले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गर्यो । सँगै सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खुल्ने निर्णयसमेत गरिएको थियो । तर, सरकारको यो निर्णयले पेट्रोलियम पदार्थको खपत घटाउनुको साटो उल्टै बढाएको छ भने जनता मर्कामा परेका छन् ।
दुई दिने बिदा (शनिबार र आइतबार) का कारण सरकारी कार्यालय तथा अस्पतालमा खेपिनसक्नु भीड बढ्न थालेको छ । कर्मचारीहरु भने बिदाका दिन सरकारी गाडी लिएर घुमफिरमा हिँड्छन् । यतिमात्र होइन, बिहान ९ बजेदेखि कार्यालय खोल्ने भनिएकोमा कर्मचारीहरु बल्लतल्ल साढे १० वा ११ बजेमात्र आइपुग्छन् ।
अनि दिउँसो ४ बजे नै घरतिर दौडिन्छन् । मालपोत, यातायातलगायत सरकारी कार्यालयमा लेखनदास, बिचौलियाहरुलाई प्रवेश निषेध गर्नेसमेत सरकारले निर्णय गरेको थियो । केही समय यो निर्णय कार्यान्वयन पनि भयो तर अहिले फेरि सरकारी कार्यालयमा बिचौलिया (लेखनदास) हरु बढ्न थालेका छन् ।
यसको ज्वलन्त उदाहरण, भक्तपुरका यातायात र मालपोत कार्यालय हुन् । सल्लाघारी तीनकुने चौरनजिक र राधेराधेमा दुईटा यातायात कार्यालय छन् । यी कार्यालयमा बिचौलियाहरुको बिगबिगी देखिन्छ । सेवाग्राहीलाई ठग्ने क्रम जारी छ । पाँच हजारमा हुने कामका लागि एक लाख रुपैयाँ असुलिरहेको अवस्था छ ।
यतिमात्र होइन, कर्मचारीको मिलेमतोमा लाइसेन्स बेचबिखन भइरहेको छ । सरकारी कर्मचारी जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । पदअनुसार मासिक ३५ हजारदेखि लाखौं रकम तलब हुन्छ । महँगी भत्ता अलग्गै । फिल्डमा गएको, बैठक बसेको पनि भत्ता दिइन्छ । जनताकै करबाट वर्षमा दुईजोर पोशाक दिइन्छ ।
कार्यालयका सामग्री तोडफोड गर्छन्, नयाँ किन्दा कमिशन पचाउँछन् । आफन्तलाई सिकाउन सरकारी गाडी प्रयोग गर्छन्, बिग्रिएपछि राज्यको ढुकुटीबाट मर्मत गरिन्छ । पचास हजार खर्च भएमा डेढदेखि तीन लाखको बिल बनाइन्छ । कर्मचारीलाई सुविधैसुविधा छ । आपतविपत पर्दा सरकारले सहुलियत ऋण दिन्छ । परिवारको निःशुल्क उपचार गरिदिन्छ ।
सँगै सेवानिवृत्त भएपछि महिनैपिच्छे पेन्सनसमेत दिइन्छ । तर, उनीहरु नै जनतालाई ठग्छन् । घुसबिना काम गर्दैनन् । घुस नदिए वर्षौसम्म काम अड्काइदिन्छन् । बाध्य भएर सेवाग्राहीले घुस खुवाउनुपर्छ । यतिमात्र होइन, कतिपय कर्मचारीले कार्यालयमै खाजाघर सञ्चालन गर्छन् । तलब खान्छन् एउटा पदको, काम गर्छन् खाजा घरमा । फेरि त्यो खाजा घरको भाडा तिर्दैनन् । बत्ती, पानीलगायत शुल्क पनि तिरिँदैन । यसरी दोहोरो आम्दानी कर्मचारीहरु गर्छन् ।
वालेन्द्र शाह (वालेन) सरकार आएपछि कर्मचारी प्रशासनमा सुधार आउने आशा धेरैको थियो । यद्यपि, यो सरकार त कर्मचारीलाई उल्टै काम नग।राउन लागिपरेको देखिन्छ । नभए दुई दिने बिदा निर्णय किन गरिन्थ्यो । निर्णय त गरियो, त्यसको कार्यान्वयन भइरहेको छ वा किन ? सरकार अनुगमन गर्दैन । कर्मचारीहरु त्यसकै फाइदा उठाउँदै मोज गरिरहेका छन् ।
पहिला शनिबारमात्र पर्यटकीयस्थल, मनोरञ्जनस्थल, फिल्म हलहरुमा भीड हुन्थ्यो । दुई दिने बिदा निर्णय लागू भएसँगै आइतबार पनि त्यस्ता ठाउँमा लर्को लाग्न थालेको छ । सरकार चाँहि पेट्रोलको खपत घटाउन भन्दै बिदा दिने, कर्मचारीहरु घुसफिर गर्ने । अनि जनता सेवाका निम्ति बाक्लो लाइनमा बस्नुपर्ने ।
दुई दिने बिदाका कारण गम्भीर बिरामीहरु निकै मर्कामा परेका छन् । सरकारी कार्यालयका ओपीडी सेवा आइतबार बन्द हुँदा उनीहरु निजी अस्पताल जान बाध्य भएका छन् । पैसा हुनेले त निजी अस्पताल गएर सेवा लेलान्, नहुने चाँहि सेवा नपाएरै मर्नुपर्ने । सरकारी अस्पतालमा ओपीडीका निम्ति थेगिनसक्नु भीड देखिन्छ ।
महिनौं लाइन बस्दासमेत पालो नआउने अवस्था छ । यस्तो अवस्थामा सेवालाई झन् चुस्त र दुरुस्त बनाउन २४ सै घण्टा अस्पतालका सम्पूर्ण सेवा खुला रहने निर्णय गर्नुको साटो सरकार आफ्नै पारामा देखिन्छ । जनता उपचार नपाएर मरेपनि सरकारलाई कुनै मतलब देखिन्न । अहिले आम नागरिक सरकारसँग माग गर्छन्–दुई दिने बिदा निर्णय खारेज गरियोस् ।
सँगै बिहान ९ बजेभित्र कार्यालय नआउने र बेलुका ५ बजेअगावै घर जाने कर्मचारीमाथि कारबाही होस् । हुन त प्रधानमन्त्री र मन्त्रीहरु नै बिहान साढे १० बजेदेखि ११ बजेसम्म मात्र सिंहदरबार पुग्ने गरेको देखिन्छ । मन्त्री आफैं ढिलो पुगेपछि अरुलाई के सिकाउने । अरु कर्मचारीले के सिक्ने । बरु मन्त्री ढिलो आउँछन् भनेर कर्मचारीहरु पनि ढिलो जान्छन् ।
अर्कोतर्फ, हाकिम नै १२ बजे कार्यालय पुगेपछि ढिलो आउने कर्मचारीलाई कसरी कारबाही गर्ने ? पहिले आफू तोकिएको समयमा पुग्नुपर्यो नि । वालेन सरकारले कर्मचारीलाई थितिमा बसाल्न नसके देशमा केही हुने छैन । किनकि जनताको काम कर्मचारीले गर्ने हो । तर, कर्मचारी जबसम्म जिम्मेवार, अनुशासित र लगनशील हुँदैनन्, तबसम्म हुनेवाला केही छैन । अहिले प्रायजसो कर्मचारी राजनीतिक दलमा आबद्ध छन् । यसले उनीहरु आफूले जेसुकै गरेपनि कसैले छुन नसक्नेमा ढुक्क छन् । त्यसैले, वालेन सरकारले कर्मचारी सफाई अभियान शुरु गर्न आवश्यक छ । कुन कर्मचारी कुन दलमा आबद्ध छ ? खोजतलास गर्नुपर्छ ।
र, दलमा लागेका कर्मचारीमाथि कारबाही गरिनुपर्छ । केही कर्मचारी कारबाहीमा परेपछि अरु कर्मचारी आफैंले कि त दल त्याग्छन्, कि सेवा । यसो नगरिए केही हुनेवाला छैन । सँगै कर्मचारीलाई १५–१५ दिनमा तलब दिने होइन, घण्टाको हिसाबले तलब दिने निर्णय गर्नुपर्छ । जसले जति काम गर्छ, उति नै तलब पाउँछ । अनावश्यक भत्ता काट्नुपर्छ । गाडी दिने व्यवस्था हटाउनुपर्छ । सरकारले आउँदो आर्थिक वर्ष २०८३–८४ को बजेट जेठ १५ गते ल्याउँदैछ ।
चालु आर्थिक वर्ष २०८२–८३ को संघीय बजेटमा कर्मचारीलाई मासिक तीन हजार महँगी भत्ता दिने र बागमती प्रदेश सरकारको बजेटमा पाँच हजार भत्ता दिने व्यवस्था गरिएको छ । तर, आउँदो बजेटमा यो हटाउनुपर्छ । कर्मचारीलाई पर्याप्त तलब दिइएको छ अनि किन महँगी भत्ता दिनुपर्यो । जतिसुकै सेवासुविधा दिएपनि कर्मचारीहरु घुस खान छोड्दैनन् । त्यसैले, सरकारले आउँदो बजेटमा कर्मचारी पोस्ने खालका व्यवस्था नल्याओस् ।
जनता कर तिर्न नसक्ने अवस्थामा पुगेका छन् । वैदेशिक ऋण ३२ खर्बमाथि पुगिसक्यो । वालेन सरकार बनेयता मात्र खर्बौ ऋण लिइसक्यो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सरकारीतर्फ ८४ अर्ब ७७ करोड ४५ लाख र निजीतर्फ २७ खर्बको क्षति पुगेको छ । निर्माण व्यवसायीको ४५ अर्ब, कोरोना बीमाको २४ अर्ब, स्वास्थ्य बीमाको ४३ अर्ब, दुग्ध तथा उखु किसानको सात अर्ब भुक्तानी नदिएको वर्षौ बितिसक्यो ।
आउँदो माघभित्र नेपाल गे लिष्टबाट नहटे कालोसूचीमा पर्छ । यसो भएमा नेपालले वैदेशिन ऋण पाउँछ न अनुदान । विदेशमा रहेका नेपालीलाई फिर्ता पठाइन्छ । नेपालीहरु विदेश जान पाउँदैनन् । त्यसैले, यस्तो अवस्थामा सरकारले कर्मचारीलाई पोस्ने होइन, देश धान्ने बजेट ल्याउन आवश्यक छ । यसपालि व्यापक खर्च कटौती गरेर बजेट ल्याइओस् ।

प्रकाशित मिति: जेष्ठ ४ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • लोभ, अहंकार र प्रतिशोध: सामाजिक तथा संस्थागत विनाशका कारण

    -तोमनाथ उप्रेती मानव समाजको विकासलाई स्थिर, न्यायपूर्ण र विश्वसनीय बनाउने आधार नैतिक मूल्य, सामाजिक विश्वास र जिम्मेवार व्यवहार हुन्। जब व्यक्तिको सोच र व्यवहारमा लोभ,...

    • ३ दिन अगाडी
    • ७ मिनेट पाठ
  • धरानलाई नठगिने बजार बनाउन सकिन्छ !

    बेदप्रसाद सापकोटा, धरान उपमहानगरपालिका बजारलाई गुणस्तरीय, स्वच्छ, पारदर्शी र उपभोक्तामुखी बनाउन व्यवस्थित बजार अनुगमन अपरिहार्य छ । व्यवसायीलाई व्यावसायिक मर्यादा र कानुनको परिधिभित्र राख्न तथा...

    • ४ दिन अगाडी
    • ६ मिनेट पाठ
  • ग्याँस नपाउँदा कोठाभाडामा बस्ने भोकै !

    अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन । ग्याँस नपाउँदा डेरामा बस्ने झनै समस्यामा परेका छन् । सरकारले २१ सय ६५ रुपैयाँ तोकेको ग्याँस...

    • ५ दिन अगाडी
    • ७ मिनेट पाठ
  • लोककल्याणकारी विज्ञापन कटौटीः छापा पत्रकारिता संकटमा

    सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट व्यवस्थापन,...

    • ५ दिन अगाडी
    • १२ मिनेट पाठ
  • झापातर्फ: जहाँ धरतीले हरियालीमा इतिहास लेख्छ

    -तोमनाथ उप्रेती पूर्वको क्षितिजतर्फ जाने यात्राहरूमा एउटा अनौठो आकर्षण हुन्छ। सूर्य त्यतैबाट उदाउँछ। उज्यालो पनि त्यतैबाट आउँछ। त्यसैले पूर्वको यात्रा सम्भावनातर्फको यात्रा पनि हुन्छ। यही...

    • ७ दिन अगाडी
    • १८ मिनेट पाठ
  • भोटेकोशी महाप्रलय बित्यासः अब पाठ सिकौं

    पछिल्लो समय बजारमा व्यापक चर्चा छ–काठमाडौं उपत्यका छिट्टै भासिन्छ । चिया पसलदेखि सार्वजनिक स्थलसम्म यही कुरा भइरहेको सुनिन्छ । यद्यपि, यो सत्य हो या...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend