धरानः प्रहरीलाई देखेपछि भागेका युवा लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
सुनसरीको रामधुनीं–५ लगुनाचोकमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा पकलीबाट झुम्कातर्फ जाँदै गरेको को२७प ९४३३ नम्बरको मोटरसाइकल चालक र पछाडि सवार युवा सडकको साइडमा मोटरसाइकल रोकी भागेका थिए ।
पिछा गर्दै जाने क्रममा उनीहरुले त्यहाँ नजिकै रहेको चिया पसलको पछाडि पर्खालको चेपमा प्लाष्टिकको पोका फालेका थिए । खोली हेर्दा प्लाष्टिकको स–साना पोकामा राखिएको अवस्थामा लागूऔषध ब्राउन सुगर १.७० ग्राम फेला परेको थियो ।
मोटरसाइकल चालक रामधुनी–७ बस्ने वर्ष २७ को शिशिर गुरागाई र मोटरसाइकलमा पछाडि सवार वर्ष २५ को विमल लम्साललाई सो लागूऔषध, मोटरसाइकल र डिजिटल तराजुसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरी बराहक्षेत्र नगरपालिका–९ राजाबास स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटीएको प्रहरी चेकिङ टोलीले निम्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगर भेटेको छ ।
को२ह ८९९२ नम्बरको अटो चालक बराहक्षेत्र–१ बस्ने वर्ष २७ को राजन राई र अटोमा सवार वर्ष २८ को अभिषेक भुजेलको साथबाट २.०८ ग्राम ब्राउन सुगर भेटेको प्रहरीले जनाएको छ ।
प्रदेश १–०२–०४६ प ९०५४ नम्बरको मोटरसाईकल चालक जिल्ला उदयपुर बेलका नगरपालिका–४ बस्ने वर्ष २७ को रविन राई र मोटरसाइकल पछाडि सवार निजकै श्रीमती वर्ष १९ की आयुषा राईको साथबाट १६.३१ ग्राम ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ ।
स११प ४१४० नम्बरको मोटरसाइकल चालक बराहक्षेत्र नगरपालिका वडा नं.–१ बस्ने वर्ष २८ को सुमन राई र मोटरसाइकल पछाडी सवार वर्ष ४० सन्देश राईको साथबाट ८.३१ ग्राम ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ ।