धरानः स्पेनविरुद्धको अन्तिम-१६ को खेलमा हारसँगै आफ्नो र पोर्चुगलको विश्वकप जित्ने सपना टुटेपछि क्रिस्टियानो रोनाल्डो भावुक हुँदै रोए ।
खेलपछि, रंगशालामा रहेका पोर्चुगिज समर्थकहरूलाई ताली बजाउँदै र हात हल्लाउँदै बिदा गर्दा रोनाल्डो भावुक देखिए र उनका आँखामा आँसु थिए । खेलको अन्तिम सिठ्ठी बजेपछि, स्पष्ट रूपमा भावुक देखिएका रोनाल्डोले डलास स्टेडियममा रहेका समर्थकहरूको अभिवादन स्वीकार्दै आफ्ना आँसु पुछे ।
४१ वर्षीय रोनाल्डोको विश्वकप यात्रा २७ खेलमा सीमित भयो– जुन अर्जेन्टिनाका लियोनेल मेसी (३० खेल) पछि दोस्रो सर्वाधिक हो– तर उनको संग्रहमा एउटा प्रमुख उपाधि (विश्वकप) भने अधुरै रह्यो ।
यो आफ्नो अन्तिम विश्वकप हुने कुरा उनले खेलअघि नै पुष्टि गरेका थिए, तर अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नै लिने भनेर भनेका थिएनन् । ‘यसरी विश्वकपबाट बाहिरिनुपर्दा म दुःखी छु,’ उनले भने । ‘मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरें । मैले आफ्नो उत्कृष्ट प्रदर्शन गरें र अब सफा मनले बिदा लिँदैछु । हो, यो मेरो अन्तिम विश्वकप थियो, तर अब मलाई सोच्न र परिवारसँग समय बिताउन फुर्सद मिल्नेछ । म कुनै हतारमा निर्णय लिने छैन ।’
उनले अगाडि भनेका छन्– ‘यो मेरो अन्तिम विश्वकप थियो, हो । तर बाँकी कुराको हकमा, सोच्न र परिवारसँग समय बिताउन अझै समय छ; त्यसैले आवेशमा आएर कुनै कुरा भन्नुहुँदैन ।’
खेलको अधिकांश समय बराबरीको स्थितिमा रहे पनि, ‘स्टपेज टाइम’ मा मिकेल मेरिनोको निर्णायक गोलले स्पेनलाई अग्रता दिलायो । खेलको अन्तिम क्षणहरूमा गोल गर्ने नजिक पुगे पनि पोर्चुगलले बराबरी गोल फर्काउन सकेन । विश्वकप नै यस्तो एकमात्र ठूलो प्रतियोगिता हो जुन रोनाल्डोले जित्न सकेका छैनन् । अब छैटौं प्रयासमा पनि असफल भएपछि, ४१ वर्षीय पोर्चुगिज कप्तानले अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा ठूलो उपाधि जित्न नसकेको यथार्थलाई स्वीकारेका छन् ।
व्यक्तिगत तथ्याङ्कको कुरा गर्दा, रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा सबैभन्दा सफल खेलाडीहरूमध्ये एक हुन्; उनले आफ्नो देशका लागि २३३ खेलमा १४६ गोल गरेका छन । उनको करियरको सबैभन्दा गौरवपूर्ण क्षण सन् २०१६ मा आयो जब पोर्चुगलले युरोपियन च्याम्पियनसिप जित्यो ।
उनका पूर्व सहकर्मी वेन रुनीले भनेः ‘उनी एक प्रतिभाशाली खेलाडी (जिनियस) र सुपरस्टार हुन् । उनले फुटबललाई धेरै कुरा दिएका छन्; पक्कै पनि उनी अहिले साउदीमा खेलिरहेका छन्, तर यति उच्च स्तरमा लाखौं मानिसहरूका लागि उनले जे गरेका छन्, त्यो निकै दुर्लभ कुरा हो; यस्तो दृश्य बारम्बार देख्न पाइँदैन ।’
‘उनी पूर्ण रूपमा फुटबलमै रमाउँछन् र आफ्नो सम्पूर्ण जीवन यसैमा समर्पित गरेका छन् । उनीसँग यस्तो मानसिकता छ जुन मैले पहिले कहिल्यै देखेको थिइनँ; उच्च स्तरमा खेल्दा खेलाडीमा एक प्रकारको मानसिकता हुन्छ, तर उनको सोच त्योभन्दा पनि माथि छ । ‘उनी हरेक खेल खेल्न र हरेक कीर्तिमान तोड्न चाहन्छन्। प्रशिक्षणका क्रममा उनी कहिल्यै पछि हट्दैनन् । उनी आफूलाई अहिलेसम्मकै उत्कृष्ट खेलाडी मान्छन्, उनको खेल जीवन निकै शानदार रह्यो ।’
खेलपछि पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोको बारेमा भने, ‘उनी एक अनुकरणीय कप्तान रहेका छन् । म पोर्चुगल आउँदा क्रिस्टियानोको बारेमा धेरै अन्योल र शंकाहरू थिए, तर उनी एक आदर्श पात्र बनेका छन्- केवल गोल र असिस्ट वा ‘बक्स’ भित्रको प्रदर्शनका कारण मात्र होइन, बरु उनको प्रतिबद्धता र फुटबलप्रतिको लगावका कारण पनि । उनी एक उदाहरण हुन्, हामीले उनको सम्मान र उत्सव मनाउनुपर्छ ।’ उनी साउदी प्रो लिग क्लब अल–नास्रबाट क्लब फुटबल खेलिरहने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विश्वकपको ट्रफी उचाल्ने सपना अधुरै रहे पनि रोनाल्डोले बनाएका कीर्तिमान र विश्व फुटबलमा दिएको योगदानले उनले सधैं स्मरणीय बनाएका छन् ।
पोर्चुगललाई १–० ले पराजित गर्दै स्पेन क्वार्टरफाइनल (अन्तिम ८) मा प्रवेश गरेको छ ।
अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा जारी विश्वकपको दाबेदार मानिएको पोर्चुगल स्तब्ध भएको हो । खेलमा स्पेनका मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो ।
उनले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासमा गोल गरेका हुन् । यो हारसँगै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ। यसअघि सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगे बाहिरिएको थियो ।
स्पेन भने १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सन् २०१० मा विश्व च्याम्पियन बनेको स्पेन त्यसयता प्रिक्वार्टरफाइनल र समूह चरणबाटै बाहिरिँदै आएको थियो । सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ को विश्वकपमा अन्तिम १६ सम्म पुगेको थियो । यसअघि राउन्ड अफ ३२ को खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको थियो ।
अब स्पेनले आज बिहान हुने अमेरिका र बेल्जियमबिचको खेलको बिजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।