Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘बालेन एक्सप्रेस’ लाई सुझाव, सबैको सुनौं, गियर आफैं चलाऔं

अनुषा थापा
असार ३२ २०८३, बिहिबार
‘बालेन एक्सप्रेस’ लाई सुझाव, सबैको सुनौं,  गियर आफैं चलाऔं

धरान्ः ससाना लापरवाही र कमजोरीले राज्यलाई कति घाटा भइरहेको छ ? यसको उदाहरण हो– निजामती सेवामा रहेको कर्मचारीलाई हटाउन ढिलासुस्ती । बालेन्द्र साह नेतृत्वको सरकार बनेपछि सेवा अवधि ३० वर्ष र उमेर ५५ वर्ष पुगेका निजामती कर्मचारीलाई हटाउने चर्चा थियो । तर, असारको मसान्त लागिसक्दा पनि ती कर्मचारी हटाउन सकिएन ।
यसले गर्दा राज्यलाई ठूलो आर्थिक भार पर्दैछ । सरकारले आर्थिक वर्ष २०८३–८४ बाट सरकारी कर्मचारीको तलबवृद्धि गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ल्याएको बजेट दुवै सदनबाट पारित भइसकेको छ । यो बजेट लागू हुनुअगावै ती कर्मचारीलाई हटाउन सक्नुपर्थ्यों ।
कमसेकम बढेको तलबबमोजिम पेन्सन त दिनुपर्दैन्थ्यो । १५–१६ हजार कर्मचारीलाई सरकारले अब बढेको तलबअनुसार पेन्सन उपलब्ध गराउनुपर्छ । यसले राज्यलाई ठूलो घाटा हुने देखिएको छ । राज्यलाई आर्थिक भार व्यापक बढ्छ । तर, सरकारले त्यसो गर्न सकेन । अब असार सकिहाल्यो, जहिले हटाएपनि बढेको तलबअनुसार पेन्सन दिनैपर्छ ।
देश आर्थिक संकटमा छ । अर्थविद् अर्थमन्त्री हुँदापनि अर्थतन्त्र चलायमान बन्न सकेको छैन । सरकारसँग आर्थिक सुधारका निम्ति योजना नै छैन । कटौती गर्नुपर्नेमा सरकार बढाउनतिर लागेको छ । सरकारले करार र ज्यालादारीका कर्मचारी हटाउन सकेको छैन । हजारौंको संख्यामा करार र ज्यालादारीका कर्मचारी छन् ।
तिनलाई सरकारी कर्मचारीसरह सेवासुविधा उपलब्ध गराउनुपरेको छ । यता, जनप्रतिनिधिको तलब, सेवासुविधा कटौतीमा पनि सरकारको ध्यान छैन । उल्टै सरकारी कर्मचारीसँगै जनप्रतिनिधिको तलब र सुविधा थपिएको छ । अधिकांश सरकारी कार्यालय भाडाको घरमा छ ।
एउटै प्रकृतिको कार्यालय पाँच मीनेटको दुरीमा राखिएको छ–त्योपनि भाडाको घरमा । ती घर बहाल पनि अस्वाभाविक छ । एकदमै चर्को भाडामा सरकारी कार्यालयहरु भाडाको घरबाट सञ्चालन भइरहेको छ । जसको एउटा नमूना सल्लाघारी र राधेराधेको यातायात कार्यालय हो ।
द्युईटै यातायात कार्यालय केही मीनेटको दुरीमा छ । न सरकारले यातायात कार्यालय सार्छ न गाँभ्छ । यस्ता कार्यालयले गर्दा सरकारलाई आर्थिक भार थपिरहेको छ । पाँच जनाले गर्ने कामका लागि तीन दर्जन सरकारी कर्मचारी नियुक्त गरिएको छ । हल्लिदै तिनको दिन कटिरहेको छ ।
ती कर्मचारीको व्यवस्थापनमा पनि सरकारलाई चासो छैन । देश कालोसूचीमा पर्ने संघारमा छ । ग्रे–लिष्टमा रहेकोमा सरकारले निकाल्न सक्छजस्तो देखिँदैन । बालेन सरकार बनेपछि उल्टै रवि लामिछानेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिइएको छ । यो सरकारलाई पनि देशभन्दा आफ्ना मान्छे प्यारा छन् भन्ने पुष्ट्याइँ यही घटनाबाट हुन्छ ।
अर्थमन्त्री वाग्ले सेयर दलाली, भ्रष्टाचारी, सिण्डिकेटधारी, भूमाफिया, कालोबजारी गर्ने, राजश्व छल्ने र सरकारी सम्पत्ति खानेलाई नसमात्ने भन्छन् । सरकारको समात्ने योजना भएको उनी सार्वजनिक कार्यक्रममै बताउँछन् । गृहमन्त्री सुधन गुरुङ्ग पनि भ्रष्टाचारको फाइल खोल्दैनन् ।
अघिल्ला सरकारमा थुप्रै छानबिन भएका छन् । तिनका प्रतिवेदन तत्कालीन सरकारले थन्काएर राखेको छ । तर, वर्तमान सरकारले पनि ती फाइल खोलेन । सरकारले मीटरब्याजको फाइल खोल्ने भएको छ । मीटरब्याज पीडितहरुले न्याय मार्च थालेपछि दबाबमा आएर सरकारले फाइल खोल्ने घोषणा गरेको हो ।
त्यसो त लघुवित्तको फाइल पनि थन्किएर बसेको छ । वर्षमान पुन अर्थमन्त्री भएको पालोमा लघुवित्तउपर छानबिन भएको थियो । त्यतिबेला लघुवित्त पीडितले ठूलै आन्दोलन गरेका थिए । तर, समितिले बुझाएको लघुवित्तसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा गएको छैन । जसले गर्दा जनताले राज्यले काम गरेको महसुश गर्न पाएका छैनन् ।
अपराध गर्ने जोसुकै भएपनि छोड्ने होइन, लगेर थुन्ने हो । तिनको सम्पत्ति राष्ट्रियकरण गर्ने हो । राजश्व सुधार पनि यसैबाट हुन्छ । सरकारका प्रमुख मन्त्रीहरु बाग्ले र सुधनले काम गर्न नसक्दा बालेन सरकार असफल भएको चर्चा हुन थालेको छ । भूमिमन्त्री प्रतिभा रावल र उद्योगमन्त्री गौरी कुमारीबाहेक अन्यले काम गरेको देखिन्न ।
यति धेरै पढेको अर्थमन्त्री सायदै देशले अहिलेसम्म पाएको थियो । विदेशबाट पढेका अर्थमन्त्री आए, तर काम गर्न सकेनन् । जुन सेयर बजारले पनि पुष्ट्याइँ गर्छ । बालेन प्रधानमन्त्री हुनुअघि सेयरको मूल्य २९ सय ७० थियो, अहिले २५ सय ७० मा झरिसकेको छ । सेयरमा लगानी गर्नेहरु चालमचुलुम्म डुबिसकेका छन् ।
घरजग्गाको कारोबार पनि सुस्ताएको छ । बालेनले अर्थमन्त्री हटाउन खोजेको चर्चा भइरहेको छ । तर, रविले हटाउन चाहेको देखिन्न । रविलाई देश र जनताभन्दा ठूलो आफ्नो मान्छे र मुद्दा रहेछ । आफ्नो टिमको वाग्लेलाई अर्थमन्त्री बनाएका छन् । महान्यायाधिवक्ता कार्यालयको प्रयोग गरेको मुद्दा फिर्ता लिइहाले ।
गलत गरेको छ भने सजाय खेप्न तयार हुनुपर्छ । रविले अलिकति नैतिकता देखाउनुपर्थ्यो । तर, सरकार बन्नेबित्तिकै आफू जोगिने काम गरे । कोसँग कति नैतिकता रहेछ ? यसबाट प्रमाणित हुन्छ । सेयर बजार यत्रो डुबेपछि वाग्लेले आफैंले राजीनामा दिएर नैतिकता देखाउनुपर्थ्यो ।
वाग्लेका कारणले बालेन सरकार असफल देखिन थालेका छन् । अहिलेको सरकारमा स्वास्थ्यमन्त्री, यातायातमन्त्री, जलस्रोतमन्त्री, संस्कृतिमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्री, नवप्रवर्तनमन्त्री, कृषिमन्त्रीले कामै गरेको देखिन्न । जसले गर्दा आम सर्वसाधारण निराश भएका छन् ।
मन्त्रीहरुले धमाधम काम गर्ने हो भने जनताले विरोध गर्दैनन् । सरकारले राम्रो काम गरेको छ भने मिडियाले किन सरकारको विरोधमा लेख्थ्यो ? काम नगरेको विषयमा लेख्दा मुख थुन्ने होइन, सुधार्ने हो । कहाँ कमजोरी भएछ ? जनता किन निराश भएछन् ? सरकारले अध्ययन गर्ने हो ।
बालेनको कारणले रास्वपाले १८२ सिट पाएको छ । जनताले रविलाई होइन, बालेनलाई पत्याएका हुन् । बालेनले काम गरेर जनतालाई प्रमाणित गर्नुपर्छ । दिन कटाउने र माना पचाउने काम मात्र नगरौं । सरकार बनेको ११० दिन भइसक्यो । तर, जनताको अपेक्षाअनुसार काम हुन सकेको छैन ।
एकल सरकार हुँदापनि बालेन सरकारको कार्य प्रगति विवरण एकदमै नाजुक छ । प्रधानमन्त्री बालेनले अध्यादेशमार्फत कर्मचारी हटाउन खोजेका थिए । तर, रविले छेकबार लगाए । उनी कानुन बनाएर जानुपर्छ भन्नतर्फ लागे । त्यो कानुन बन्न एकदेखि डेढ वर्ष लाग्छ ।
बालेनले रविको सहमति खोज्ने होइन । रवि होइन, बालेन प्रधानमन्त्री हो । देशको लागि के ठीक छ, के गलत ? यो बालेनले निर्णय गर्ने हो । रास्वपाले २०७९ को निर्वाचनमा जम्मा २१ सिट जितेको हो । बालेनकै कारणले गत फागुन २१ गतेको निर्वाचनमा १८२ सिट आयो । जनताले बालेनलाई विश्वास गरेका छन् ।
बालेनकै कारणले मधेशमा रास्वपाको ३१ सिट आयो । यसको कदर बालेनले गर्नुपर्छ । कुरा सबैको सुन्नुपर्छ तर निर्णय आफ्नो हुनुपर्छ । आज र भोलि भन्दाभन्दै दिन कटिरहेको छ । जनतामा निराशा छाइरहेको छ । रविको पछाडि लागेर बालेनले जनताको मत टोकरीमा नफालुन् ।

प्रकाशित मिति: असार ३२ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend