धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरयौं भनेर यो हर्ष हाम्रा आदरणीय पाठक, दर्शकसँग बाँड्न पाउँदा खुशी छौं ।
२२ वर्षसम्म साप्ताहिकरुपमा प्रकाशित पत्रिका र त्यसपछि दैनिकरुपमा प्रकाशित हाम्रो कोशी आवाज डटकम (अनलाइन पत्रिका) आजदेखि १२ वर्षमा प्रवेश गरेको हो । हाम्रो कोशी आवाज डटकम अनलाइन पत्रिका सञ्चालन भएको समयका हिसाबले खासै लामो होइन । हामी खासमा अनलाइन पत्रिका दर्ताको हिसाबले हेर्दा १० वर्षसम्म कुदयौं । तर त्यसअघि पनि हामीले करिब दुईवर्ष अनलाइन पत्रिका चलाएका थियौं ।
हामीले सूचना विभागको ८३५ नम्बरमा हाम्रो कोशी आवाज डटकम दर्ता गरयौं, त्यसपछि दर्ता भएर दैनिकजसो समाचार अपडेट हुँदै गएर हेर्ने, मनन, चिन्तन गर्ने आम पाठक, दर्शकको माया, सद्भावका कारणले यस अनलाइनले थप उचाइ पनि लिन पुग्यो । पत्रकारिता सिक्दै सिकाउने पेशा पनि हो । काम गरिरहँदा गल्ती हुन सक्छन् । भूलचूक हुँदाका बखत माफी माग्ने नै छौँ । यसको व्यावसायिकतामा हामी कसैसँग सम्झौता गर्ने छैनौं । हामी ‘भाइरल’ हुने नाममा सनसनीपूर्ण समाचारमा होइन, तथ्यमा रहेर पत्रकारिता गर्नेछौं ।
शिक्षा, स्वास्थ्य र मनोरञ्जनलाई प्राथमिकता दिँदै समाजमा हेपिएका, दबिएकालाई प्राथमिकता दिनु हाम्रो लक्ष्य हो । समस्या छ, ‘फेक न्यूज’ बाट मान्छे छिटो हुने भाइरल बन्ने जे बिक्छ, त्यही सम्प्रेषण गर्ने नाउमा हामी जाँदैनौं । मूल्य, मान्यता र आदर्शभन्दा बाहिर गएर उत्तेजित, अपुष्ट, आाधारहीन सामग्री, कसैप्रति लान्छना लगाइने, कसैको व्यक्तिगत मान-प्रतिष्ठामा आँच पुरयाउने छैनौं, यो नै जिम्मेवार र मर्यादित पत्रकारिता हो भन्ने हामीले बुझेका छौं ।
समग्र पत्रकारिताभित्र अनलाइन पत्रकारिताको विश्वसनीयता र व्यवसायिकता बढाउन हाम्रो कोसिस रहिरहन्छ । हामी हाम्रा पाठक, स्रोता, दर्शकलाई दिग्भ्रमित पार्ने खालका सामग्री पस्किने छैनौं । हाम्रा विज्ञापनदाता, शुभेच्छुक संस्थाहरू एकमुस्ट धन्यवादका पात्र हुनुहुन्छ । हामी सबै र सधैंका लागि उहाँहरुसँग सहकार्य गर्न चाहन्छौं । सुझाव दिने, आलोचक गर्नेहरू सबै, सधैं हाम्रा लागि मूल्यवान हुन् भन्ने हामीले ठानेका छौं । सबैले, सधैंजसो यस्तै रचनात्मक सल्लाह, सुझाव अनि आलोचना नै हाम्रा लागि मार्गदर्शक हो, यसले नै हामीलाई लामो दुरीसम्म लैजान मद्दत गर्नेछ । अझै सन्तुलित, सधैं, सबैको समाचारका लागि रचनात्मक सुझाव दिनुहुन्छ, घच्घच्याइरहनुहुन्छ । तपाईंका उत्कृष्ट सुझाव, सल्लाह र निरन्तरका खबरदारी नै हाम्रो लागि प्रेरणा हुनेछन् । हामीले गरिरहेको काम फगत एउटा व्यवसायमात्र होइन, यो समाजप्रति उत्तरदायी कर्म हो, त्यसैले सधैं, सबैका लागि हामीमाझ चुनौती आएपनि हामी यताउता कतै नहेरी सदैव तपाईका पक्षमा उभिन्छौं ।
अन्त्यमा, फेरि हाम्रा सम्पूर्ण सहकर्मी, पाठकवृन्द, विज्ञापनदाता, विज्ञापन एजेन्सीलगायत सबै सहयोगी एवम् शुभेच्छुक महानुभावहरूलाई १२ औं वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।
सम्पादक/प्रकाशकः शेखरनाथ जोगी