तोमनाथ उप्रेती
१.
तृष्णा सल्कियो
मनभित्र आगो बन्यो
शान्ति हरायो।
२.
लोभको बादल
ढाक्यो चेतनाको सूर्य
मन अँध्यारो।
३.
बुद्धको बाटो
तृष्णा पग्लिँदै गयो
प्रज्ञा उदायो।
४.
नदी बगिरह्यो
महासागर मुस्कायो
अहङ्कार डुब्यो।
५.
खाली हात आयो
चेतनाको बीउ बोकी
जीवन फुल्यो।
६.
त्यागको दीप
अन्तर्मन उज्यालो
मुक्ति मुस्कान।
७.
मोहको जाल
आत्मालाई बाँधिरह्यो
ध्यानले काट्यो।
८.
फल नखोज
कर्मको फूल फुलाऊ
शान्ति फल्छ।
९.
मनको दर्पण
लोभले धमिलो भयो
सत्य झल्कियो।
१०.
प्रज्ञाको मूल
करुणाले सिञ्चियो
जीवन हरियो।
११.
ईर्ष्याको आगो
आफ्नै मन जलिरह्यो
प्रेम वर्षियो।
१२.
तुलना छोड
आफूलाई चिन आज
मन उज्यालो।
१३.
चेतना जाग्यो
अज्ञान टाढा भाग्यो
सूर्य उदायो।
१४.
मौन विपश्यना
श्वासभित्र ब्रह्माण्ड
मन निस्पन्द।
१५.
अहङ्कार झर्यो
विनम्रता फुलिरही
आत्मा हाँस्यो।
१६.
तृष्णा किनार
चेतनाको महासागर
अनन्त शान्ति।
१७.
स्वार्थ गल्यो
करुणा नदी बन्यो
जगत् हरियो।
१८.
क्षणिक भोग
शाश्वत आनन्द खोज
भित्र फर्क।
१९.
आत्माको ज्योति
मोहको रात हरायो
प्रभात आयो।
२०.
मन जितेपछि
संसार सहज लाग्यो
मुक्ति यतै छ।