धरानः धरानमा चाहिनेजति खानेपानी उत्पादन हुँदै आएको जनाइएको छ ।
धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानी उत्पादन स्रोतसम्बन्धी विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो । धरानमा दैनिक ३ करोड ९ लाख लिटर पानी आवश्यक पर्ने र उत्पादन पनि सोहीअनुसार भइरहेको जानकारी दिएको छ ।
बोर्डले सार्वजनिक गरेको विवरणअनुसार धरानमा भूमिगत तथा सतही स्रोतसहित विभिन्न स्रोतबाट दैनिक ३ करोड ९ लाख लिटर खानेपानी उत्पादन भइरहेको जनाएको छ । ‘हामीलाई अहिले तत्कालै चाहिने पानी ३ करोड ९ लाख लिटर अलि बढी हो तर अहिले पर्याप्त पानी पुगिरहेको अवस्था छ’, खानेपानी बोर्डका निर्देशक राजु पोख्रेलले भने ।
बोर्डका अनुसार यी विभिन्न भूमिगत तथा सतही स्रोतलाई समेट्दा धरानमा हाल दैनिक करिब ३ करोड ९ लाख लिटर पानी उत्पादन भइरहेको छ । भूमिगत स्रोततर्फ धरान–१७ स्थित उदय वनबाट दैनिक २५ लाख लिटर, धरान–१४–५ क्षेत्रमा रहेको चारकोशेबाट ४० लाख लिटर पानी उत्पादन भइरहेको उल्लेख छ । प्रदेश सरकारबाट निर्माण गरिएका तीनवटा वेलबाट भने हाल उत्पादन शून्य रहेको बोर्डको विवरणमा छ ।
सतही स्रोततर्फ धरान–२० स्थित पुरानो सर्दु–खर्दु खोलाबाट दैनिक २ करोड ५ लाख लिटर पानी उत्पादन भइरहेको छ ।
त्यस्तै, थप गरिएका सतही स्रोतमा धरान–४ को निसाने खोलाबाट १० लाख लिटर, धरान–२० को कोकाह खोलाबाट ११ लाख लिटर, धरान–२० कै नयाँ ट्यांकी (रिचार्ज पोखरी) बाट ९ लाख ५० हजार लिटर, धरान–१४ को भालु खोलाबाट ४ लाख लिटर र धरान–११ को पकुवाबाट ३ लाख लिटर पानी उत्पादन हुने उल्लेख छ । कोकाह उपभोक्ता संघसँगको सम्झौताअन्तर्गत थप १ लाख ५० हजार लिटर उत्पादन हुने विवरणमा जनाइएको छ ।
यस्तै, बोर्डले मासिक आय–व्यय पनि सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको विवरणअनुसार श्रावण महिनामा विभिन्न शीर्षकबाट २ करोड ६ लाख ४३ हजार ३३३ रुपैयाँ ४५ पैसा आम्दानी भएको छ ।
बोर्डका अनुसार श्रावण महिनाको आम्दानीमा विभिन्न काउन्टरबाट संकलित रकम, ई–सेवा, खल्ती तथा आर्थिक वर्ष २०८२–८३ मा प्राप्त ब्याज रकम समावेश छन्। सबैभन्दा ठूलो आम्दानी ई–सेवाबाट रु. ६२ लाख ४८ हजार ५४८ रुपैयाँ ९६ पैसा भएको देखिएको छ । पिण्डेश्वर काउन्टरबाट रु. २७ लाख ३७ हजार २९६ रुपैयाँ ५० पैसा, सुमिनिमा काउन्टरबाट रु. १३ लाख ९४ हजार ०४९ रुपैयाँ ०६ पैसा, सेन्ट्रल काउन्टरबाट रु. १३ लाख ९५ हजार ४५८ रुपैयाँ ५० पैसा र रेलवे काउन्टरबाट रु. १३ लाख ४४ हजार ३७५ रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख छ ।
त्यस्तै, खल्तीबाट रु. २५ लाख ९ हजार ६९० रुपैयाँ ०७ पैसा तथा आर्थिक वर्ष २०८२÷८३ मा प्राप्त ब्याजबाट रु. १ लाख ४८ हजार ६९५ रुपैयाँ ९३ पैसा आम्दानी भएको बोर्डले जनाएको छ।
अघिल्लो महिनासम्मको मौज्दात रकम रु. १ करोड १२ लाख ९१ हजार ५६६ रुपैयाँ २३ पैसा रहेकोमा श्रावण महिनाको आम्दानी जोडिएपछि कुल मौज्दात रु. ३ करोड १९ लाख ३४ हजार ८९९ रुपैयाँ ६८ पैसा पुगेको छ।
खर्चतर्फ १ करोड २७ लाखभन्दा बढी
बोर्डले श्रावण महिनामा विभिन्न प्रशासनिक तथा प्राविधिक शीर्षकमा रु. १ करोड २७ लाख ८२ हजार ६३३ रुपैयाँ ६५ पैसा खर्च गरेको विवरण सार्वजनिक गरेको छ ।
खर्चमध्ये कर्मचारी तलबमा रु. ४४ लाख ३४ हजार ४९९ रुपैयाँ, ज्यालादारी कामदारको ज्याला रकममा रु. १३ लाख ७९ हजार १६४ रुपैयाँ, विद्युत् महसुल तथा कार्यालयतर्फ रु. १२ लाख २० हजार ७५५ रुपैयाँ ०४ पैसा खर्च भएको छ ।
त्यसैगरी ट्रान्सफर्मर मर्मतमा रु. १ लाख ३६ हजार ३४४, पम्प तथा मोटर खरिदमा रु. १ लाख ९५ हजार ४३०, विद्युतीय लाइन मर्मतमा रु. १ लाख ३५ हजार ९९२, जाली खरिदमा रु. १९ लाख रुपैयाँ ६० पैसा तथा खाल्डाखुल्डी मर्मतमा रु. ३ लाख ९५ हजार ५०८ रुपैयाँ खर्च भएको बोर्डको विवरणमा उल्लेख छ ।
अन्य खर्चमा कार्यालय टेलिफोन महसुल, कार्यालय चिया खर्च, बैठक भत्ता, अतिथि सत्कार तथा कामदारहरूको खाना–खाजा खर्चसमेत समावेश गरिएको छ ।
खर्च कटाएर बोर्डसँग रु. १ करोड ९१ लाख ५२ हजार २६६ रुपैयाँ ०३ पैसा मौज्दात रहेको विवरणमा उल्लेख छ ।