Hamro Koshi Aawaj

मंगलबार, भाद्र २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नागको फोटो किन घरको मूलढोका माथि नै टाँसिन्छ ?

हाम्रो कोशी आवाज
भाद्र १ २०८३, सोमबार
नागको फोटो किन घरको मूलढोका माथि नै टाँसिन्छ ?

धरानः आज नागपञ्चमी । आज घरको मूलढोका माथि नागको चित्र टाँसेर नागको पूजा आराधना गरिन्छ ।
तपाईलाई थाहा छ किन टाँसिन्छ घरको मूलढोका माथि नागको चित्र ? यसरी ढोकामाथि टाँसिएको नागको चित्रले वर्षभरि उक्त घर परिवारका सदस्यहरूको रक्षा गर्ने जनविश्वास छ ।
श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो पर्व नाग देवताका लागि समर्पित गरी पूजा अर्चना गरेमा वास्तवमै नाग देवता समक्ष पुग्ने समेत जनविश्वास रहेको छ । नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्ट नागकाे चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरु भएको मानिन्छ ।
नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ । नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र जुन घरमा टाँसिन्छ त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्प बिच्छीलगायतका जीवले दुःख नदिने धार्मिक विश्वास रहेको छ ।
ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नाग पञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिँदैन ।
प्रत्येक घरको जगमुनि नाग देवताको बास रहेको हुन्छ । त्यसैले घरको जग खन्दा नाग देवतालाई कुनै क्षति भएमा उनी रिसाउँछन् र उनी रिसाएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो ।
हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो ।
नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको सम्वाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।
प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो ।
नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको हो ।

नागपञ्चमीमा नागको पूजा गर्दा पाठ गरिने नाग स्तोत्र यस प्रकार छ:

ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमास्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सवर्दा।१।

इन्द्रलोकेषु ये सर्पास् वासुकी प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।२।

कद्रबेयाश्च ये सर्पास् मातृभक्ति परामा।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।३।

इन्द्रलोकेषु ये सर्पास् तक्षका प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।४।

सत्यलोकेषु ये सर्पास् वासुकिन च रक्षता।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।५।

मलये चैव ये सर्पास् कर्कोतक प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।६।

प्रार्थव्याचैव सर्पेभ्यस् ये साकेत वासित।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।७।

सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।८।

ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।९।

समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिनस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।१०।

रसातंलेषु ये सर्पास् अनन्तादि महाबलास्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।११।

प्रकाशित मिति: भाद्र १ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend