पाँच वर्षअगाडि २०७८ भदौ ३ गते एक कित्ता सेयरको ३२ सय ८७ पुग्यो । केही दिनअघि त्यही सेयर घटेर २५ सय ७० मा आयो । सेयर बैंक तथा वित्तिय संस्था, हाइड्रोपावर, इन्स्योरेन्स कम्पनी लगायतका संघसंस्थामा एक सय रुपैयाँ प्रति कित्ता निष्काशन गरेको सेयर दलालीले ३२ सय सम्म पुर्याएका थिए ।
सार्वजनिक बिदाको दिनबाहेक बिहान ११ बजेदेखि दिँउसो ३ बजेसम्म सेयर कारोबार हुन्छ । सरकारी कर्मचारीहरु कामै छोडेर सेयर कारोबारमा रुमलिन्छन् । सेवाग्राहीलाई सेवा दिन छोडेर उनीहरु फोन चेक गरिरहन्छन् । आफूसँग भएको सेयर घट्यो कि बढ्यो ? सेयर किन्ने कि बेच्ने ? ध्यान नै यतातिर हुन्छ ।
शिक्षकहरुको पनि त्यही नै हो । विद्यार्थी पढाउन छोडेर उनीहरु सेयर खरिदबिक्रीमा लाग्छन् । थुप्रै सांसदको सेयरमा लगानी छ । उनीहरु पनि यहीँ नै गर्छन् । जनताको कुरा उठाउनमा ध्यान हुँदैन, सेयर बढ्यो कि घट्यो ? त्यतैतिर केन्द्रित हुन्छन् । सेयर बजार ५५–६० जनाले चलाएका छन् ।
उनीहरुले सेयरको मूल्य घटाउने–बढाउने गर्छन् । सेयरको ठूलो खेलाडीमध्ये एक दीपक भट्ट अहिले जेल पुगेका छन् । उनीसँगै सुलभ अग्रवाल पनि कारागार चलान भएका छन् । ८३ लाख ६७ हजार नागरिकको सेयरमा लगानी छ । बैंकको एक खर्ब ६८ अर्ब सेयरमा कर्जा लगानी छ ।
बैंकबाट दोब्बर व्यक्तिले सेयरमा लगानी गरेका छन् । सरकार भन्छ–१५ खर्ब भन्दा बढी रकम बैंकमा थुप्रियो । चार वर्षदेखि कर्जा गएन । बैंक तथा वित्तिय संस्थाले दिएको कर्जा पनि उठाउन सकेको छैन । यसले बैंक तथा वित्तिय संस्था संकटमा रहेको देखाउँछ । अधिकांश बैंकमा समस्या देखिइसकेको छ ।
सहकारी डुबेको वर्षौं बितिसक्यो । लघुवित्त पनि धमाधम डुब्ने क्रममा छ । फाइनेन्स पनि टाँट पल्टिरहेको छ । हाइड्रोपावर कम्पनी पनि संकटमा छ । इन्स्योरेन्स कम्पनीले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्षतिको क्षतिपूर्ति दिन सकेको छैन । बीमा गराउनेहरु घट्दै गएका छन् ।
यस्तोमा सेयरको मूल्य मात्रै कसरी बढिरहेको छ ? गम्भीर प्रश्न उठेको छ । यसले दलालीले सेयरको मूल्य बढाइरहेको देखिन्छ । कर्णाली विकास बैंकले बचतकर्तालाई पैसा फिर्ता दिन नसकेपछि नेपाल राष्ट्र बैंकले संकटग्रस्त घोषणा गर्यो । अहिले त त्यो बैंक बन्द नै भइसकेको छ ।
अहिले पनि बैंकका बचतकर्ताले पैसा फिर्ता पाउन सकेका छैनन् । रोचक प्रसंग के भने, बैंक संकटग्रस्त घोषित भएपछि सेयरको मूल्य बढेको बढ्यै थियो । एकातिर बैंक पैसा फिर्ता दिन नसकेर संकटग्रस्त घोषणा भयो, अर्कोतिर सेयरको मूल्यचाँहि निरन्तर उकालो लागेको लाग्यै भयो ।
सेयर बजार दलालीको कब्जामा छ । दलालीको हिसाबले बजार चल्छ । कानुनले भन्छ,‘जुवातास र सट्टाबाजी खेल्न पाइँदैन ।’ सेयरका नाममा सरकारले जनतालाई जुवा खेलाइरहेको छ । केही व्यक्ति यो जुवाबाट धनी बनेका छन् भने धेरै नागरिक सुकुम्बासी । बैंकले कर्जा असुलउपर गर्ने धितोबाट हो ।
ऋणीले ऋण तिर्न सकेनन् भने बैंकले धितो खाने हो । बैंकले सबै धितो खाइदिँदा अहिले बर्जा लिन जाने मान्छे नभएका हुन् । अर्को कुरा बैंकले आफैंले एक सय रुपैयाँ प्रतिकित्तामा निष्काशन गरेको सेयरमा २८ सय रुपैयाँ कर्जा लगानी गरिरहेको छ । जबकि, अहिले सेयरको मूल्य घटेर २५ सय ७० मा आएको छ ।
बजार मूल्य भन्दा बढी सेयरमा बैंकको कर्जा लगानी छ । यसरी लगानी गर्नुको कारण हो, सेवाशुल्क, घुस । तर, भोलि ऋणीले ऋण तिर्न सकेनन् भने त्यही सेयर छोडिदिन्छन् । अनि बैंक डुब्छ कि डुब्दैन ? बैंकले सेयरवालालाई नाफाको बोनस दिनुपर्छ । आफैं घाटामा भएपछि कहाँबाट नाफाको बोनस दिनु ?
बैंकहरुको कर्जा लगानी घरजग्गा, सेयर, गाडी र सुनमा हो । यी अनुत्पादक क्षेत्रमा बैंकले आँखा चिम्लेर लगानी गरेको छ । पाँच दश हजारमा नजाने डाँडाकाँडा धितो राखेर बैंकले करोडदेखि अर्ब लगानी गरेको छ । खरिद गर्नेबित्तिकै सेकेण्ड ह्याण्ड हुने सवारी साधनमा बैंकले ८० प्रतिशत कर्जा लगानी गरेको पाइन्छ ।
हिजो बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार पुग्यो । जबकि, २०२२ सालमा तोलाको ८० रुपैयाँ थियो । चाँदी ४८ सय प्रतितोला पुगेको छ । सुनको गहना बनाउने ज्याला ४५ हजार, चाँदीको दुई हजार तिर्नुपर्यो । पसलमा हिजो सुन किन्नेभन्दा बेच्ने बढी थिए । तर, पसलेहरु सुन लिनै मानिरहेका थिएनन् । हामीसँग पैसा छैन, अन्तै लगेर बेच्नु भन्दै फर्काइदिन्थे ।
आफूले बेच्ने तर नकिन्ने । पैसाको खाँचो परेकाबाट ६० ७० हजारमा लिने अनि बजार भाउअनुसार बेच्ने । दिनदहाडै यो ठगीधन्दा चलिरहेको छ । सरकार भन्छ–पाँच प्रतिशत व्याजमा कर्जा दिँदा पनि किन्न कोही आएनन् । तीन वर्षअघि तीन करोड पर्ने घरजग्गा एक करोडमा झर्दा पनि किन्ने मान्छे छैनन् ।
बेच्ने बढेको बढ्यै छन्, किन्ने कोही छैनन् । निजी प्लेटका गाडी बैंकले तानेर थुपारिरहेको छ । अनि सेयरको मूल्यचाँहि कसरी बढिरहेको छ ? कसरी ? यहाँ जनतालाई सुकुम्बासी बनाउने खेल दलालीबाट भइरहेको छ । जनता सचेत हुन आवश्यक छ । प्रधानमन्त्री फेरिबित्तिकै सेयर दलाली अर्थमन्त्रीमा विष्णु पौडेललाई माग गर्थें ।
यसले राजनीतिक दलहरुले नै सेयर दलालीसँग मिलेर जनता लुटेको देखाउँछ । राजनीतिक दल र दलाली मिल्ने, सर्वसाधारणलाई सडक छाप बनाउने । राज्यको काम जनता बचाउने हो कि डुबाउने ? जनता फसाउने, दलालीसँग मिल्ने अनि कमिशन खाने । यस्तो देशमा सोझासाझी जनता बाँच्न सक्छ ?
उसको सम्पत्ति सुरक्षित हुन्छ ? ऋण तिर्न नसकेर जनता धमाधम कालोसूचीमा परिरहेका छन् । कालोसूचीमा पर्नेको संख्या पाँच लाख नाघिसकेको छ । सहकारीबाट ६३ लाख नागरिकले ऋण लिएका छन् । उनीहरु सडकछाप अवस्थामा पुगिसकेका छन् । लघुवित्तबाट २७ लाखले ऋण लिएका छन् ।
लघुवित्त पीडितहरु अहिलेपनि आन्दोलनमै छन् । बैंकबाट २२ लाखले कर्जा लिएका छन् । यता, मीटरब्याजबाट महिनाको एक लाखको पाँच देखि ३० हजार ब्याज तिरेर लाखौंले कर्जा लिएको पाइन्छ । बजारमा ९८ प्रतिशत व्यक्तिको घरजग्गा, सेयर, गाडी बैंक तथा वित्तिय संस्थाको नाममा छ ।
ऋण तिर्न नसकेपछि बैंक तथा वित्तिय संस्थाले ती सम्पत्ति खाइदिन्छन् । अनि जनता कहाँ जाने ? सबै सडकमा आउने होइनन् ? आफू कमाउनका निम्ति बैंक तथा वित्तिय संस्था र दलालीले जनता फसाइदिए । बालेन्द्र सरकार बनेको पाँच महिना भइसक्यो । तर न राजस्व बढ्यो न अर्थतन्त्र चलायमान भयो ।