Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरी घटना अपडेटः युवाको शरीरबाट निकालियो गोली, केटीको विषयमा झडप

हाम्रो कोशी आवाज
असोज ४ २०८३, आइतबार
सुनसरी घटना अपडेटः युवाको शरीरबाट निकालियो गोली, केटीको विषयमा झडप

धरानः सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शरीरमा अडकिएको अवस्थामा गोली निकालिएको छ ।
यादवको शरीर पछाडि कम्मरमुनिको दायाँ भागमा गोली लागेको थियो । शल्यक्रिया गरेर शरीरबाट गोली निकालिएको हो ।
देवानगन्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा शनिबार साँझ गोली प्रहारबाट घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
नोबेल शिक्षण अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.रञ्जिव झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेर यादवको शरीरमा अडकिएको गोली निकालेको हो । चिकित्सकका अनुसार यादवको अवस्था अहिले मध्यम छ ।
घटनापछि प्रहरीले घटनामा संलग्न मध्यहर्षाही वडा नं. २ बस्ने १८ वर्षीय विष्णुकुमार यादव र वडा नं. २ बस्ने २६ वर्षीय लाली भन्ने जयकृष्ण यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको बताए । घटना पुरानो रिसइबीका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । युवतीको विषयलाई लिएर उनीहरूबीच विवाद भएको खुल्न आएको प्रहरी स्रोतले जनाएको छ । केटी जिस्क्याएको निहुँमा घटना भएको हुनसक्ने प्रहरीको निष्कर्ष छ । ‘केटीको विषयलाई लिएर केही दिनअघि विवाद भएको रहेछ । त्यही विवादको रिसइबी गोली प्रहारसम्मको घटनामा परिणत भएको पाइयो,’ प्रहरी स्रोत भन्छ ।
घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्दै घटनाको विस्तृत कारण पत्ता लगाउन अनुसन्धान तीव्र पारिएको जानकारी प्रहरीले दिएको छ । घटनामा प्रयोग भएको हतियार र गोलीको प्रकृतिका बारेमा भने प्रयोगशाला परीक्षणपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनामाथि अनुसन्धान जारी राख्दै प्रहरीले फरार रहेका अन्य व्यक्तिको खोजी तीव्र बनाएको डीएसपी खड्काले बताए ।

प्रकाशित मिति: असोज ४ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend