Hamro Koshi Aawaj

मंगलबार, असोज ६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सियोन स्कुलमा कुलमान घिसिङ

हाम्रो कोशी आवाज
असोज ६ २०८३, मंगलबार
धरानको सियोन स्कुलमा कुलमान घिसिङ

धरानः नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा उज्यालो नेपाल पार्टीका संस्थापक अध्यक्ष कुलमान घिसिङ सोमबार धरान–१६ स्थित सियोन स्कुलमा पुगेर विद्यार्थीहरू र शिक्षक सँग आफ्ना संघर्ष, सफलता र असफलताका अनुभव साझा गरेका छन् ।
एक हजारभन्दा बढी विद्यार्थीमाझ आफ्ना जीवनका अनुभव सुनाउँदै घिसिङले सफलताका लागि निरन्तर प्रयास आवश्यक रहेको बताए । उनले गाउँमा जन्मिएर खाली खुट्टा करिब डेढ घण्टा हिँडेर स्कुल जानेदेखि राति टुकीको उज्यालोमा पढेको र पछि काठमाडौं पुगेर अध्ययन गरेको अनुभव विद्यार्थीहरूसँग साझा गरे ।
‘जीवनमा जुनसुकै क्षेत्रमा लागे पनि पटक–पटक असफलता आउन सक्छ। तर निरन्तर लागिरहनुपर्छ। असफलता नै सफलताको चिनारी हो,’ घिसिङले विद्यार्थीहरूलाई भने । सियोन स्कुलका प्रिन्सिपल, निर्देशक खड्गबहादुर थापामगर, भाइस प्रिन्सिपल राकेश चौधरीलगायतले फूलको बुके र खदा लगाएर घिसिङलाई विद्यार्थीहरूमाझ स्वागत गरेका थिए ।
घिसिङले स्कुलका शिक्षक–शिक्षिकासँग पनि आफ्ना अनुभव साझा गरे । विद्युत् प्राधिकरणको सीईओ हुँदा दैनिक १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्य गर्न आफूले गरेका प्रयास तथा प्राधिकरणलाई नाफामा लैजान सफल भएको अनुभव उनले सुनाए ।

बिहानी प्रार्थना सभामा विद्यार्थीहरूसँगको अन्तरक्रियाका क्रममा घिसिङले आफ्नो शैक्षिक तथा व्यावसायिक जीवनमा आफू धेरैपटक पहिलो भएको तर राजनीतिमा आएपछि गत वर्षको निर्वाचनमा असफल भएको प्रसंगसमेत सुनाए । असफलतालाई अन्त्य नभई अर्को प्रयासको सुरुवातका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।
सियोन स्कुलका प्रिन्सिपल थापामगरले विगतमा काठमाडौंमा सभा तथा सेमिनारमा जाँदा होटलमा बत्ती कहिले जाने र कहिले आउने भन्ने निश्चित नहुने गरेको स्मरण गर्दै घिसिङ प्राधिकरणको सीईओ बनेपछि लोडसेडिङ अन्त्य भएको बताए ।
“उहाँलाई भेट्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो। यसपटक धरान आउनुभएको अवसरमा आफैँले अनुरोध गरेर बोलाएँ, उहाँ आउनुभयो। खुशी लागेको छ,” थापामगरले भने । घिसिङको संघर्षपूर्ण बाल्यकालदेखि प्राधिकरणको नेतृत्वसम्मको यात्रा र पछिल्लो राजनीतिक असफलताको प्रसङगले विद्यार्थीहरूलाई जीवनमा चुनौती र असफलताबीच पनि निरन्तर अघि बढ्न प्रेरित गरेको स्कुलले जनाएको छ ।

प्रकाशित मिति: असोज ६ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend