धरानः धराने गीत-सङ्गीत भनेपछि हुरूक्कै हुन्छन् भन्ने धरानको औद्योगिक व्यापार तथा जुत्ता–चप्पल मेलामा दिनहुँ हुने कन्सर्टले प्रमाणित नै गरिसकेको छ । यसअघि पनि धराने दर्शक गीतसङ्गीत भनेपछि हुरुक्कै हुन्छन् भन्ने कुरा सबैलाई थाहा छ । त्यसमा पनि कन्सर्ट भएपछि त धरान जुरूक्कै उठ्छ भन्ने कुरा बुधबार साँझको आस्था राउतको कार्यक्रमले झनै प्रमाणित गरिदियो । आस्थालाई कुरेरै बसेका दर्शक ९ बजेदेखि स्टेजमा देखिएकी उनलाई सबैले साथ दिए राति १० बजेसम्म ।
चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा भन्दै आम युवतीहरुको पीडा गीतमार्फत् पोख्ने गायिका आस्था राउतको फ्यानहरु धरानमा नभएका होइनन् । उनका गीत गुन्गुनाउने मात्र होइन, स्टेजमा पर्फम गर्ने स्थानीय कलाकारहरु पनि थुप्रै छन् । उनले पनि भनिहालिन् ‘मेरो धरानमा आउजाउ धेरैपटक भइसक्यो, धराने दर्शक त खुब मन पर्छ, तपाईहरु जति हुनुहुन्छ, म त गाइदिने हो ।’
को छ यहाँ ….बोलको नयाँ गीतबाट गाउन शुरु गरेकी उनले चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमासम्म आइपुग्दा धराने दर्शक जुरुक्कै उचालिन् । उनले खोइ त मलाई झुम्के बुलाकी, नरोऊ माया, सालको पात टपरी गाँसेरजस्ता चर्चित गीतहरु गाइदिइन् । उनको बेजोड प्रस्तुतीलाई धराने युवाहरुले पनि औधी साथ दिए । उनले धरानेलाई पटक पटक आइ लभ यु समेत भनिरहिन् ।
त्यस्तै, आज (बिहीबार) लाउरेको नामबाट चिनिने आशिष रानाको प्रस्तुति रहने सिल्भर इन्टरटेन्टमेन्टका सौरभ श्रेष्ठले जानकारी दिए । यस्तै, भोलि राजेश पायल राईले धरान तताउने मेला प्रचारप्रसार संयोजक मानबहादुर विश्वकर्मा दियाली बताउँछन् । मेलाको प्रत्येक दिन राष्ट्रिय कलाकार ल्याइएको मेला संयोजक शिवराज श्रेष्ठ बताउँछन् ।
फोटोः हाम्रो कोशी आवाज डटकम
