धरानः धरानको पब्लिक स्कुलको मैदानमा सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको औद्योगिक व्यापारमेलामा आज (शुक्रबार) चर्चित गायक राजेशपायल राईको विशेष प्रस्तुति रहने भएको छ ।
अहिले निकै नै चर्चित भइरहेको उनको गीत हुरुक्कै भएँ म रमैले मायाले दिएको चिनोसँगै उनी आफ्ना सदावहार गीतहरू घुम्न जाउ धरान, न्याउली रोयो, बैगुनी रै’ छौ मायालु, दर्शन नमस्ते, किन यति धेरै, सागर सरी चोखो माया लगायत आफ्ना फ्यानहरुको अनुरोधको आधारमा गीत गाउने गायक राजेशपायल बताउँछन् ।
खोटाङमा जन्मेपनि धरानकै सांगीतिक माहोलबाट समेत आफूले धेरै माया पाएको र धरान भनेपछि तुरुन्तै आइहाल्न मन लाग्ने राजेशपायल बताउँछन् । धरानको स्थानीय तथा धरानको सांगीतिक परिवेशसँग नजिकका कलाकारहरुलाई प्राथमिकतामा पारेर दीपक लिम्बू, राजेशपायल राई, शिव लामिछाने, गंगा वरदान, डिल्ली फोम्बो लगायतका कलाकारहरुलाई मेलामा समेटिएको औद्योगिक मेलाका मूल संयोजक शिवराज श्रेष्ठले बताए ।