काठमाडौंः नेपालका लागि रोजगारीका प्रमुख गन्तव्य मानिएका ६ मुलुकबाट मात्रै झण्डै ४० हजार नेपालीलाई फर्काइने भएको छ । आँकडा अनुसार सबैभन्दा धेरै प्रदेश १ का नागरिक फर्किनेछन् ।
प्रदेश १ का ९ हजार ८ सय ४७ जना फर्किने विवरणमा उल्लेख छ । त्यस्तै, प्रदेश २ का ५ हजार ६ सय ३४ जना, बागमती प्रदेशका ८ हजार २ सय ५८, गण्डकी प्रदेशका ५ हजार ६ सय ९१ र प्रदेश ५ का ७ हजार ४ सय १३ जना फर्किँदै छन् । त्यस्तै कर्णाली प्रदेशका १ हजार ९७ जना र सूदुरपश्चिम प्रदेशका १ हजार ४ सय ९३ जना फर्किने भएका हुन् ।
कतार, मलेसिया, साउदी अरब, यूएई, बहराइन र ओमानबाट मात्र ३९ हजार ४ सय २० जना फर्किनै पर्ने अवस्थामा रहेको दूतावासहरुको तथ्यांक छ । विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा फर्काइने भनिएपनि कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) ले पहिलो चरणमा रोजगारदाता र सम्बन्धित देशले नै फर्काइदिने तयारी गरेका नेपालीलाई ल्याउने निर्णय गरेको छ ।
दूतावासहरुले परराष्ट्र मन्त्रालयमा दिएको जानकारी अनुसार सबैभन्दा बढी युएईबाट नेपाली फर्किने छन् ।
यूएईमा मात्रै १७ हजार ३ सय ७५ जना नेपाली फर्किनुपर्ने अवस्थामा छन् । यस्तै कतारबाट ८ हजार ३ सय ७० जना नेपालीले फर्किन फारम भरेका छन् ।
साउदीबाट ६ हजार ५ सय ४४ जना र मलेसियाबाट ६ हजार २ सय नेपाली फर्किने भएका छन् । यस्तै, ओमानबाट ६ सय ५६ र बहराइनबाट २ सय ८५ जना नेपालीले फर्किन फारम भरेका छन् ।
कुवेतबाट आममाफी पाएका तीन हजार र अन्य ५ हजारजति फर्किने आंकलन गरिएको छ । यूएईबाट शुक्रबारदेखि नै नेपाली फर्किन थाल्ने छन् । युएईले ८ वटा चार्टर्ड उडानको तालिका पठाइसकेको छ ।
शुक्रबारदेखि विदेशबाट फर्कने नेपाली नागरिकलाई राख्नका लागि काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छ ।
विदेशबाट फर्केका बाग्मती, गण्डकी र प्रदेश–५ का नागरिकलाई काठमाडौँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर र प्रदेश–१ र २ का नागरिकलाई भक्तपुरमा राख्ने गरी होल्डिङ सेन्टर निर्माण गरिएको हो । भक्तपुरमा प्रदेश–१ का नागरिकका लागि सल्लाघारीको इम्पेरियल पार्टी प्यालेस र प्रदेश–२ का नागरिकका लागि राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा राख्ने गरी तयारी गरिएको छ ।
सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) का कारण विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई उद्धार गरी स्वदेशमा आउन सहजीकरण गर्ने सम्बन्धी आदेश जारी गरी यसको सबै तयारी गरिसकेको छ ।
त्यसका लागि उपत्यकाका तीनवटै सीएमसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्केका नेपाली नागरिक अवतरण भएसँगै कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन नदिन उपत्यकामा छुट्टै राख्न तीनवटै जिल्लामा होल्डिङ सेन्टर निर्माण गरेको हो ।