विराटनगरः प्रदेश १ मा पनि कोरोना संक्रमित बढेका छन् ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या २९६ पुगेको छ ।
बुधबार मोरङमा ८ जना, झापामा पाँचजना र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो । मोरङका संक्रमित रतुवामाई नगरपालिकाको सौठा र इटहरा क्वारेन्टाइनमा बसिरहेकाहरु हुन् ।
झापाको मेचिनगर नगरपालिकामा १ जना, कनकाई नगरपालिकामा ३ जना र गौरादह नगरपालिकामा १ जना संक्रमण देखिएको हो । गौरादहका संक्रमित महिला हुन् ।
उदयपुरको उदयपुरगढी गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरुको विराटनगरको कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । प्रदेश १ का कोरोना जितेर घर फर्किनेको संख्या १२५ पुगेको छ ।