धरानः गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटना जातीयताकै कारण सुनियोजित तरिकाले भएको राष्ट्रिय दलित पत्रकार संघ, नेपालको ठहर रहेको छ ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष गोपाल बाराइलीको संयोजकत्वमा एक अध्ययन टोलीले गरेको स्थलगत अध्ययन प्रारम्भिक प्रतिवेदन शनिबार सुनसरी शाखाका अध्यक्ष दिनेश गजमेरको अध्यक्षतामा धरानको भानुचोकमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको छ ।
७ पृष्ठ लामो प्रतिवेदनलाई राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश १ का सचिव रणध्वज लोहारले बाचन गरेका थिए । प्रतिवेदन वाचन गर्दै लोहारले घटनाको जरिया (जड) अन्तर जातीय प्रेम–सम्बन्ध नै रहेको दावी गरेका छन् ।
दलित अधिकारकर्मी, राजनीतिककर्मी, पत्रकार, समाजसेवी, न्यायप्रेमीहरूको उपस्थिति रहेको कार्यक्रममा दलित अधिकारकर्मी गंगा कालिकोटेले बोलेका थिए । उनले जातकै कारण भुस्या कुकुरलाइ जस्तो खेदीखेदी मार्नेलाई कार्वाही नभए जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी दिए ।
सञ्चारमाध्यमहरूले कुनैपनि विषय र तथ्यलाई बङ्ग्याउन नहुने उनको भनाइ छ । उनले संघले तयार पारेको प्रारम्भिक प्रतिवेदनले हामी सबैलाई सो घटनाबारे सही जानकारी दिएको भन्दै संघ लाई धन्यवाद समेत दिए । कार्यक्रममा घटनास्थलमै गएर घटनाको अध्ययन गरेको र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको स्पष्ट पारियो ।
प्रारम्भिक प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सञ्चालन गर्दै संघका सचिव विनोद दर्नालले नवराज विकसहित ६ जनाको हत्याराले कुनै पनि राजनीतिक दबाव या अन्य प्रलोभनमा पारी कुनैपनि हालतमा उन्मुक्ति पाउन नहुने बताए ।
