धरानः प्रदेश १ मा कोरोनाभाइरस कोभिड १९ का थप २६ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै अहिले प्रदेश १ मा संक्रमितको संख्या ३ सय ९७ पुगेको छ । धरानमा सोमबार मोरङका २५ जना संक्रमितलाई भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता एवं डा. निदेश सापकोटाले जानकारी दिए। प्रवक्ता सापकोटाका अनुसार हाल अस्पतालमा ४९ उपचारमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कोरोना सूचना डेस्कका अनुसार सोमबार एकैपटक ४ जना महिला र २२ जना पुरुष संक्रमित फेला परेका हुन् ।
यसक्रममा मोरङमा २२ जना, सुनसरीमा ३ जना र झापामा १ जनामा संक्रमण देखिएको हो । सुनसरीको बराहक्षेत्रमा १ महिला र १ पुरुष, बर्जुमा १ पुरुष, झापाको मेची नगरमा १ पुरुष, मोरङको केराबारीमा १ महिला, सुनवर्षीमा २ महिला र १९ जना पुरुषमा संक्रमण देखिएको सूचना डेस्कले जनाएको छ ।
यससँगै प्रदेशको धरान र विराटनगरस्थित कोभिड १९ अस्पतालबाट १५ जना संक्रमित सफल उपचारपछि डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ८ र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालबाट ७ जना संक्रमितको रिपोर्ट नेगेटिभसँगै डिस्चार्ज भएका हुन् ।