धरानः नेपालमा आइतबार जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार ४२१ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।
उनीहरु मध्ये ३५७ जना पुरुष र ६४जना महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०२६ पुगेको छ । त्यस्तै, यस दिन १९४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । निको हुनेमा १८६ पुरुष र ८ महिला छन् । यीसहित कुल निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ । त्यस्तै, मृत्यु भएका २३ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जना, विराटनगरमा ४ जना, जनकपुरमा १२ र वीरगंज अस्पतालको प्रयोशालामा ३ जनामा कोरोना संक्रमण भेटिएको छ ।
त्यस्तै टेकुमा गरिएको परीक्षणमा १६९ जना, धुलिखेल अस्पतालमा ४९ जना, पोखरा अस्पतालमा ३५ जना, रुपन्देहीको प्रयोगशालामा २९ जना र भेरी अस्पताल नेपालगंजमा ७ जना नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जना, सुर्खेत अस्पतालमा ९ जना र सेती अस्पतालको प्रयोगशालामा ६९ गरी ४ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।
यता प्रदेश नं. १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार सुनसरी, मोरङ, उदयपुर र झापामा चारजना महिलासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालय प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार पछिल्लो २४ घण्टामा १५ जना नयाँ संक्रमित थपिएका हुन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको बर्जु र कोशी गाउँपालिकामा १–१ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको अर्जुनधारा ३ जना, कनकाई नगरपालिका १ जना, मेचीनगरमा २ जनामा संक्रमण देखिएको हो ।
उदयपुरको कटारीमा १ जना, उदयपुरगढीमा २ जना, त्रियुगामा २ जनामा संक्रमण देखिएको हो । मोरङको सुन्दरहरैंचा नगरपालिकामा एक महिला र एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४८ पुगेको छ । तीमध्ये २३४ जना उपचारपछि घर फर्किएका छन् ।