Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘अनलाइन कक्षा मात्रै होइन सिर्जनशील काम गराऔं’

हाम्रो कोशी आवाज
असार १३ २०७७, शनिबार
‘अनलाइन कक्षा मात्रै होइन सिर्जनशील काम गराऔं’

बालबालिकामा कोरोनाको त्रास छँदैछ नि ?
कोरोना भाइरसको सङ्क्रमणका कारण विद्यालयहरू बन्द भएपछि बालबालिकामा पर्ने वास्तविक असरबारे धेरै छलफल भएका छन् । तर, निचोड निस्किन सकेको छैन । उनीहरूको व्यवहारिक, भावनात्मक र सामाजिक विकासमा यसले नकारात्मक असर पुरयाउँछ । अझ ठूलो चिन्ताको विषय के हो भने, लामो समय विद्यालयहरू बन्द रहँदा बालबालिकाले आफूले पहिल्यैदेखि जानी राखेको कुरा पनि बिर्सन थाल्नेछन् । यसको परिपूरण निकै कठिन हुनेछ । बन्दाबन्दीको परिणामले अहिलेका बालबालिका वयस्क हुँदा उनीहरूको वौद्धिक स्तरमा गम्भीर प्रभाव पार्न सक्छ ।
बालबालिकामा कोरोनाको त्रास हटाउन के गर्न सकिन्छ ?
बालबालिका भनेका गिलो माटोजस्तै हुन् । हामीले जस्तो बनाइदियो त्यस्तै बन्ने हुन् । त्यसैले यसमा अभिभावक सचेत बन्नुपर्छ । बालबालिकामा कोरोनाका कारण सबै बर्वाद हुन्छ, सबै सकियो खत्तमै भयो भन्ने सोच पर्न नदिन अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ । भनौं, अभिभावक त्रसित भए बालबालिका पनि त्रसित हुन्छन् । विश्वभरकै समस्या हो, आत्तिनु, पात्तिनु हुँदैन भनेर भनिरहनुपर्छ ।
अहिलेसम्म बीपी प्रतिष्ठानमा बालबालिकामा मनोवैज्ञानिक असर परेको छ भनेर अभिभावकहरू आउनुभएको छ कि ?
–हालसम्म कोही आएको छैन । तर पनि बन्दाबन्दीले विद्यालय बन्द भई घरभित्रको बास हुँदा बालबालिकाको मनोविज्ञानमा असर पर्ने भएकाले यसतर्फ सचेत रहनै पर्छ ।
यदि त्रास फैलिए बालबालिकाको शिक्षामा कस्तो असर गर्ला ?
–भय, त्रासको वातावरणले बालबालिका र शिक्षामै पनि दीर्घकालीन असर गर्छ नै । यसो भन्दैमा सबै आत्तिनु भएन । अभिभावक, शिक्षक लागे मात्रै पनि हुन्छ, त्यसका लागि राज्य दरिलो भएर लाग्नुपर्ने हुन्छ । बालबालिकालाई त्रसित नबनाइ, यो रोग भनेको सहज हो भन्दै, सहज वातावरण बनाउँदै इन्टरटेन्टमेन्ट दिनुपर्छ, नत्र भविष्यमा बाल मनोविज्ञानमा त्रास दह्रो भएर बस्छ र उनीहरूको मानसिक, शारीरिक, बौद्धिक क्रियाकलापमा असर गर्दै शिक्षा, स्वास्थ्य, मनोसामाजिक असर पनि पर्न सक्छ ।
मैले माथि पनि भनिसकें यसको लागि अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, मनोचिकित्सक र राजनीतिज्ञ सबैको ठोस प्रयासबाट मात्रै हामी कोभिड–१९ ले बालबालिका र शिक्षामा परेको असरबारे बुझ्दै अभिभावक र शिक्षकलाई नै विशेष तालिमको व्यवस्था गर्नुपर्छ । बालबालिकाको विद्यालय कहिले खुल्छ, ठेगान छैन, उनीहरूको मनमा विद्यालय नखुलेका कारण अनेक किसिमका भावना खेलिरहेका हुन्छन् र त्यसले मनोविज्ञानमा असर पर्न सक्ने भएकाले उनीहरूलाई बढीभन्दा बढी सिर्जनशील काममा सक्रिय बनाउन अभिभावकले ध्यान दिनुपर्छ ।
घरमै पनि अनलाइन कक्षा लिने, अनलाइन कक्षा नलिए विभिन्न काम जस्तैः घरमा बाबुआमालाई सघाउने, तरकारी पकाउने, खेतबारीमा सघाउने गराउन सकिन्छ । यस्तै, भान्सामा पाइने वस्तुका नाम भन्न लगाएर पठन सीपका क्रियाकलाय सिकाउन सकिन्छ भने ती वस्तुहरूबाट नै गणितीय सीप सिकाउन सकिन्छ । जस्तै २ वटा गिलास र २ वटा कचौरा जोड्दा कति हुन्छ ? ४ वटा गिलासमा २ वटा हराए भने कतिवटा गिलास बाँकी रहन्छन् ? यस्ता प्रश्न गर्दै बालबालिकामा भाषिक तथा गणितीय सीप सिकाउन सकिन्छ ।
थप यसो पनि गरौं
–सम्बन्ध विस्तार गरौं र बालबालिकासँगै पढौं
–कला र सिर्जनात्मक क्रियाकलापमा सहभागी गराऔं र सिकाऔं
–घरायसी कामबाट सिकाऔं
–घरको सरसफाइमा संलग्न गराऔं र सिकाऔं
–अभिनयका माध्यमबाट सिकाऔं
–समाचार हेरौं, सुनौं र छलफल गरौं
–शारीरिक क्रियाकलापमा सहभागी गराऔं
सापकोटा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मानसिक रोग विभागमा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मिति: असार १३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend