ताप्लेजुङ: मान्छे जब यो धर्तीमा पाइला टेक्न पुग्छ उसले अवश्य केही न केही कला लिएर आएको हुन्छ तर यति मात्र फरक हो कसैले आफूभित्रै दबाएर राख्छन् भने कसैले भने आफ्नो कलाको सही पहिचान गरेर समाज, देशकै गहनाको रूपमा स्थापित गराउँछन् ।
यस्तै, फक्ताङलुङ गाउँपालिका–३ थिवा गाउँमा निल प्रसाद र मनमाया लाबुङको पाँचौ सन्तानको रूपमा चीरन लाबुङको जन्म भयो । सामान्य परिवारमा जन्म भएकोले गाउँकै सामुदायिक स्कुलबाट आफ्नो पढाइ सुरु गरे । उनी स्कुलको विभिन्न कार्यक्रममा गीत गाउने र आफ्नो साथीहरूलाई गीत गाएर सुनाउने गर्थे ।
सानै उमेरदेखि सङ्गीतप्रति खुब रुचि राख्थे । सानै उमेरदेखि नै विभिन्न प्रतियोगिताहरूमा भाग लिने गर्थे । धेरैजसो प्रथम, दोस्रो हात पार्न सफल हुन्थे । गाउँदेखि नै एसएलसी पास गरेर ताप्लेजुङको सदरमुकाम फुङलिङ भानु जन उच्च माविमा पढाइसँगै सङ्गीत यात्रालाई अगाडि बढाउन थाले ।

२०६८ सालमा मेची आइडल सञ्चालन भएको थियो । २ सय ६० जनाले प्रतियोगितामा भाग लिएका थिए, त्यतिखेर चिरन लाबुङले २ सय एक जनालाई पछाडि पार्दै पाँचौ स्थानमा उभ्याउन सफल भए । त्यतिबेला मेची आइडलको आयोजकबाट एउटा गीत रेकड गर्ने अवसर पाएका लाबुङ निकै नै खुशी भए ।
पहिलो गीतको ‘आँशु झारी’ बोलको गीत रेकर्ड गरे । त्यसपछि उच्च शिक्षाको परीक्षा दिएर आफ्नो सङ्गीत यात्रामा निखार ल्याउनको लागि गाउँदेखि काठमाण्डौं पुगे । काठमाण्डौंमा पुगेर सङ्गीतको कक्षा लिन थाले । उनका लागि काठमाण्डौंको बसाइ त्यति सहज भएन । दिनहरू बित्दै गए, विभिन्न समस्याहरू आउन थाल्यो । पहिलो त गाउँले जीवनशैलीबाट शहरिया जीवनशैलीमा घुलमेल गर्ने सकेनन्, सामान्य परिवार भएकोले आर्थिक अभावको कारण चीरनको सङ्गीतको कक्षा लिएर एउटा राम्रो कलाकार बन्ने सपना ७ महिनामै पूर्णविराम लाग्यो ।
अध्ययनको सिलसिलामा अहिले चीरन जापान पुगेका छन् । नेपालमा रहँदा आर्थिक अभावले सङ्गीतको कक्षा लिन रोकेपनि अहिले जापान बसेर भएपनि आफ्नो गीत सङ्गीतको यात्रा रोकिएको छैन । पहिलो गीत रेकर्ड गरेको ७ वर्षपछि दोस्रोपल्ट आफ्नो गीत ‘माया यस्तो हुन्छ’ जापान बसेरै रेकर्ड गर्न उनी सफल भए ।
गीतमा चीरन र मेलिना राई स्वर रहेको छ भने शब्द हिरोज सुब्बा र सङ्गीत ताराप्रकाश लिम्बूको रहेको छ । म्युजिक भिडियोमा अभिनयमा हिरोजन सुब्बा र निशु थापाले अभिनय गरेका छन् । समुन्द्र बारी भएपनि आफ्नो गाउँघरको माया र आफ्नो देशको लागि गीत सङ्गीतको यात्रा भने कहिले नरोकिने चीरन बताउँछन् ।



