धरानः विश्वब्यापी महामारी कोरोनाको कहर पहिलेभन्दा निक्कै कम भएपनि कोरोना संक्रमितहरू दिन प्रतिदिन बढ्दै गएका छन् । लगभग चार महिनाको अवधिमा विश्वकै अर्थतन्त्रमा निक्कै नै गिरावट आइसकेको छ । विश्वलाई नै प्रभावमा पारेको यो प्रकोपले हाम्रो देश नेपाललाई नछुने कुरै भएन ।
भूकम्पले थलिएर बिस्तारै चल्बलाउँदै गरेको यो अवस्थामा कोरोना प्रकोपले पुरै धरासायी भएको छ र यसको लागि हामी सबै नेपाली एक हुनु जरुरी छ र सम्पूर्ण विश्वलाई हामी नेपाली एक छौं भन्ने देखाउने यो सुनौलो दिन पनि रहेको बताउँदै चर्चित गायक शिव लामिछाने ‘शिवाज’ ले आफ्नो नयाँ गीत ‘हामी छौं साथ छ हातमा हात’ म्युजिक भिडियोसहित आएका छन् ।
कृपा अनप्लगड जस्तो चर्चित युजिकल शो समेत परिकल्पना तथा निर्माण गरेका गायक शिवले कृपा दृश्य डिजिटलको युट्युब च्यानलमार्फत् भिडियो सार्वजनिक गरेका हुन् । हर्कुलस बस्नेत को शब्द तथा सङ्गीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको सङ्गीत संयोजन रहेको छ भने रञ्जित बल्लभ उप्रेतिले भिडियो सम्पादन गरेका छन् ।

भिडियोमा कलाकारको रुपमा नेपाल लगायत चीन, जर्मनी, हङकङ लगायतका देशहरूबाट ४८ जना नेपालीहरूको संग्लनता रहेको छ । महामारीको प्रकोपसँगै देशको अर्थ राजनीति आफ्नै तालमा हराइरहेको यो रनभुल्ल परेको स्थितिमा हामी सबै नेपाली दाजुभाइ, दिदी–बहिनी, इष्टमित्र, आमाबाबु, परिवारको मुहारमा केही उज्यालो छाओस्, आओस् भन्ने मेरो मात्र नभएर हामी सबैको आकाङ्क्षा रहेको गायक शिव बताउँछन् ।
उनी थप्छन्, ‘विगतदेखि नै जे जस्तो परिस्थिति आउँदा पनि हामी नेपालीले हरेक परिस्थितिको सामना गरेका छौं र गर्ने नै छौं । हाम्रो सब भन्दा ठूलो सम्पत्ति भनेको नै एक अर्काको साथ हो । र गायक लामिछानेको यो गीतले पनि भनेको छ–हामी छौं साथ:
एउटै छ सूर्य हाम्रो
एउटै छ चन्द्रमा
बदलिनु छ परे भने
परिस्थिति मिलिजुली
सपार्नु पर्छ छोरा बनी
समाल्नु नि छ हाम्रो यो देशलाई
हामी छौं साथ छ हातमा हात
मिलाउँदै जो काँधमा काँध
हेर ती आँखाहरूमा
आशाहरू कति छन्
पढ यी हत्केलाहरू
भविष्य आफै बनाउनेछौं
आज नै हो यो आयो दिन
संसारलाई देखाउने
हाम्रो श्रम हाम्रो काम
यही हो हाम्रो उन्नति
हामी छौं साथ छ हातमा हात
मिलाउँदै जो काँधमा काँध



