धरानः लगातारको वर्षापछिको बाढी–पहिरो र डुबानका कारण तराई र पहाडका विभिन्न जिल्ला प्रभावित भएका छन् । सयौं मानिस घरबारविहीन भएका छन् ।
बाढी, पहिरो प्रभावित क्षेत्रमा विभिन्न रोगको संक्रमण बढ्ने जोखिम पनि उत्तिकै हुन्छ । डुबानमा परेका स्थानहरुमा मलेरिया, डेंगी, झाडापखाला, टाइफाइड, हेपाटाइटिसजस्ता रोगको संक्रमण फैलने खतरा रहेको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत गराउँदै आएको छ । ती क्षेत्रहरुमा सर्पदंशको समस्या पनि निकै बढेको छ । बाढीका कारण महोत्तरी, झापा, उदयपुर, विराटनगर, रौतहट, सुनसरी, बर्दिया र सिन्धुपाल्चोकलगायतका जिल्ला बढी प्रभावित भएका छन् ।
यस्तै, म्याग्दी, संखुवासभा, रुकुम पश्चिम, तनहुँ, लमजुङ, पर्वत र कास्कीमा पहिरोले धेरै क्षति पु¥याएको छ । ती स्थानमा डुबानको डरसँगै संक्रामक रोगहरुको जोखिम बढ्ने खतरा रहेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले डुबानमा परेका स्थानमा पहिलो चरणमा चोटपटकको बिरामी बढी हुने र एक सातापश्चात् झाडापखाला, टाइफाइड, हेपाटाइटिसलगायतका संक्रमण देखिने बताए । यस्तै, दुई सातापश्चात् लामखुट्टेको वृद्धि हुन गइ यसको टोकाइबाट सर्ने रोगहरु बढ्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा डा. पाण्डे जोड दिए ।
महाशाखाका निर्देशक डा. पाण्डे डुबानमा परेका स्थानमा स्वास्थ्य सेवा पु¥याउने र ती स्थानका व्यक्तिहरुलाईसमेत थप सचेत हुन आग्रह गरे ।