Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘भानुचोकमा दाल, बेसार र खोर्सानी बेच्दै हिसाब सिकिरहेकी छु’

हाम्रो कोशी आवाज
साउन ४ २०७७, आइतबार
‘भानुचोकमा दाल, बेसार र खोर्सानी बेच्दै हिसाब सिकिरहेकी छु’

धरानः भानुचोकस्थित सब्जीमण्डी छेऊ लगाइएको टायलले बिछ्याइएको सडक । सडक छेऊ खाली जमीनमा दाल, खोर्सानी, बेसारको पोका । निकेतन गल्ली बस्ने आर्या चौधरीको हातमा पैसाको पोको पनि ।
यसपटक युकेजीमा पढ्ने उनको दैनिकी हो–भानुचोकमा व्यापार गर्नु । उनको दैनिकी यसरी नै बितिरहेको छ । आमाले ती सामग्री ल्याएर त्यहाँ राखिदिएपछि उनी बेच्न बस्छिन् । उनी सधैंजसो ग्राहकसँग डिल गरिरहेकी हुन्छिन् । कहिले भाउ सोध्ने ग्राहक आउँछन्, कहिले किन्ने नै ग्राहक आइपुग्छन् । सोध्नेलाई भनिदिन्छिन्, किन्नेलाई बेचिदिन्छिन् । उनलाई दाल, खोर्सानी अनि बेसारको भाउ सहजै आउँछ ।
‘व्यापारीको छोराछोरी हुन्, नपढ्दा पनि सघाउनै परयो, पढ्दा पनि सघाउनुपरयो’ आमा सविता चौधरीले भनिन्, ‘यसले गर्दा छोरीले हिसाब सिकेको पत्तै नहुँदो रहेछ ।’ आर्याले पनि दिनहुँ हिसाब सिकिरहेको बताइन् । ‘कतिमा बेच्ने, कति पैसा फिर्ता लिने आदिबारे जानकारी छु’, उनले भनिन्, ‘ममी नहुँदा पनि म आफैं बेच्छु ।’
अहिले उनी विद्यालय जान पाएकी छैनन् । चार महिनादेखि विद्यालय बन्द रहेकोले उनको दैनिकी आमाबाबुलाई सघाउँदै बितिरहेको छ । ‘लकडाउनका समयमा घरमै ममीलाई खाना बनाउन सघाउने, भाडा माझ्ने अनि खाली समयमा टिभी हेर्ने, मोबाइलमा ज्ञानगुनका कुरा सिक्दै बितिरहेको थियो’, उनले भनिन्, ‘लकडाउन खुकुलो भएपछि र धरानमा व्यापार व्यवसाय खुल्न थालेपछि व्यापारमा ममीलाई सघाउँदै बितिरहेको छ ।’
अहिले अधिकांश बालबालिका परिवारलाई सघाउँदै समय बिताइरहेका छन् । उनले अनलाइन कक्षाबारे सुनेकी छिन् । अनलाइन कक्षामा अहिलेसम्म सहभागी भएकी छैनन् । ‘घरमा ल्यापटप र भनेजस्तो मोबाइल छैन, अहिलेसम्म अनलाइन कक्षा हुन्छ रे भन्ने सुनेकी छु’, उनले भनिन्, ‘तर सहभागी भएकी छैन ।’ उनले अनलाइन कक्षा पनि बन्द भएको छ भनेर प्रश्न गरिन् । ‘साँच्ची सर अनलाइन कक्षा पनि बन्द भयो रे नि हो ?’ उनले भेटमा थपिन्, ‘खै अनलाइन कक्षा पनि बन्द भयो भनेको समेत सुनेकी छु ।’
उनले अहिले जोड, घटाउबारे आफैले सिकिरहेको बताइन् । ‘यहाँ दाल, खोर्सानीलगायतका सामग्री बेचेपछि घरमा जान्छु अनि आमाले यति नाफा भएछ भनेर भनिदिनुहुन्छ ।’ उनले भनिन् । यी सामग्री बेचेको रकमले आफूले कापी, कलम किन्ने योजना रहेको उनले सुनाइन् । ‘ममीले बेचेर आएको रकमले कापी, कलम किनिदिन्छु भन्नुभएको छ’, उनले फुरुङ्ग हुँदै भनिन्, ‘नाफा आएछ भने किन्छु ।’ उनले अहिले ग्राहकसँग कसरी बोल्ने भन्नेबारे पनि सिकिरहेको बताइन् । ‘ग्राहक आउँछन् दालको कति रुपैयाँ हो नानी भन्छन्, म सहजै उत्तर दिन्छु, कतिले सानी नानी बेच्न बसेकी रहेछिन् भनेर फिर्ता दिनुपर्ने ५–१० रुपैयाँ पनि छोडिदिन्छन्’, उनले भनिन्, ‘त्यो रकमचाहिँ छुट्टै गोजीमा राख्छु ।’
अनलाइन कक्षाबारे जानकारी छैन, सहभागी छैनन्
उनी त एक उदाहरण पात्र मात्रै हुन् । अहिले अनलाइन कक्षा नलिने नानीहरू प्रायः आमाबाबुलाई सघाउँदै दिन बितिरहेको आमा सविता भन्छिन् । धरान–९ मा बस्दै आएकी सपना श्रेष्ठ आमाबाबुलाई पसलमा सघाउँदै दिन बितिरहेको बताउँछिन् । ‘म दिनहुँ आमाबाबुसँगै पसल आइरहन्छु’ उनले भनिन्, ‘अनलाइन कक्षामा अहिलेसम्म सहभागी भएकी छैन ।’
धरान–१६ बस्ने लिला श्रेष्ठलाई म्यासेज आयो–तपाईंको नानीको रिजल्ट अनलाइन छ, हेर्नुहोला । उनी शुरूमा अक्क न बक्क भइन् । छिमेकीको सहाराले बल्लतल्ल रिजल्ट हेरिन् । छोरी पास भएको चाल पाइन् तर कति रोल नं. हो उनलाई अहिलेसम्म थाहा छैन । उनलाई अहिले अनलाइन कक्षाबारे थाहा छ तर पनि नानीलाई पढाएकी छैनन् । ‘स्कुलमै पढाउँदा त निकै समस्या हुन्छ’, उनले भनिन्, ‘अनलाइन कक्षाले त के होला भनेर पढाएकी छैन ।’ उनले अनलाइनबाट होमवर्क आदि पठाउन समस्या भएर पनि अनलाइन कक्षा नहालेको बताइन् । ‘अहिले त बन्द छ रे भन्ने सुनेकी छु’, उनले भनिन्, ‘जे भयो ठीकै भयो ।’ फोटोः हाम्रो कोशी आवाज

प्रकाशित मिति: साउन ४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend