सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ५ हजार ८ सय २० केजी माछा बरामद गरी नष्ट गरेको छ ।
इनरुवा–४ बाट भारतीय नम्बर प्लेटको डब्लु बि २५ जे ६१४१ नम्बरको ट्रकमा लोड गरी ल्याएको माछा प्रहरीले बरामद गरेको हो । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा भारतबाटै ल्याएको सोपरिमाणको माछा फेला पारी बरामद गरेको हो ।
भारतमा उत्पादित तर नेपालमा प्रतिबन्धित गरिएको माछा ल्याइएको पाइएपछि ट्रकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्रक र ट्रक चालक भारत पश्चिम बंगाल स्वरुप नगर बस्ने २४ वर्षीय मो. इमामुल गोल्दारलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि सेतु बन्धु भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको र बरामद गरिएको माछा पशुपंक्षी तथा सत्स्य विकास निर्देशनालयको रोहोवरमा खाडल खनि नष्ट गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
प्रहरीका अनुसार प्रहरीले अनुसन्धान केही कागजात पनि फेला पारेको जनाएको छ । सोर्नाली एक्स्पोट कोलकोत्ता भारत लेखिएको ५८२० केजीको बिल, पशु क्वारेन्टाइन कार्यालय विराटनगरको मिति २०७७।०४।०२ को प्रमाणपत्र, विराटनगर महानगरपालिकाको सेवा शुल्क रसिद, राजश्व अनुसन्धान विभागको २०७७।०४।०२ ( १५,९५,०५७) को अनलाइन बिल, राष्ट्रिय वाणिज्य वैंकको १ लाख ३१ हजार ७ सय दुई नगद बिललगायत पनि फेला पारेको प्रहरीले जनाएको छ ।

