धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय सुनसरीका प्रमुख रामबाबु साहलाई ५ लाख ५३ हजार नगदसहित पक्राउ गरेको छ । घुसबापत लिएको सो रकम लिएर सुनसरीबाट रौतहटतर्फ गइरहेका उनलाई इटहरीबाट खटिएको अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
आयोगले साह र उनकी श्रीमती किरण साहलाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ । शुक्रबार आयोगका कार्यालय इटहरीबाट खटिएको टोलीले ५ लाख ५३ हजार रूपैयाँ स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डिएफओ) साहले घुस वापतको अवैध रकम लिई रौतहटतर्फ जाँदै गरेको भन्ने सूचना र उजुरीको आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सोही कार्यालयको सवारी साधनमा लुकाइछिपाई राखेको अवस्थामा साह र उनकी श्रीमतीको साथबाट स्रोत नखुलेको ५ लाख ५३ हजार रूपैयाँ फेला पारी नियन्त्रणमा लिइएको अधिकारीले बताए।
उनलाई कोशी गाउँपालिका–८ कोशी ब्यारेज सुनसरीबाट नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको जनाइएको छ । कार्यालयको बा२झ ४१० नम्बरको सवारी साधानमा श्रीमतीसहित रौतहट गइरहेका उनले रकम सवारी साधनमा लुकाएको उजुरी परेपछि नियन्त्रणमा लिइएको हो ।