Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जसलाई धरानको खहरे उर्लियो भने फाप्छ !

हाम्रो कोशी आवाज
साउन १४ २०७७, बुधबार
जसलाई धरानको खहरे उर्लियो भने फाप्छ !

धरानः धरानमा वर्षा भएपछि धेरैजना खुशी हुँदैनन् । हुन पनि हो, धरानमा पनि वर्षाले बितण्डा मच्चाइरहेको छ । सुकुम्बासी वस्तीका कतिपय बासिन्दालाई घरबारविहीन पनि बनाएको छ, अझै धरानमा सर्दु र सेउतीको बाढीले कटान जारी राखेको छ । केही हप्ताअघि धरानको सर्दुखोलाले मान्छे समेत बगायो । भारी वर्षा भएपछि सबैलाई चिन्ता हुनु स्वभाविक हो ।
पानी परेपछि धेरैले गुनासो पनि पोख्छन्– धरानमा अविरल वर्षा, वर्षाका कारण रोकिएको छु है आदि इत्यादि । भनौं अधिकांशको बहाना नै वर्षा अर्थात् झरी बनिदिन्छ । तर धरानकै एक व्यक्ति जो पानी वर्षा भएपछि रमाउँछन्, उनलाई जति भारी वर्षा भयो अनि खहरे उर्लियो उति धेरै मनमा सन्तोष लाग्ने गरेको बताउँछन् ।
उनी हुन् धरानका शम्भु रेग्मी (क्षत्री) । धरानमा बसोबास गर्ने उनी भारी वर्षा होस्, पानी दर्कियोस्, खहरे उर्लियोस् भन्ने कामना गरिरहेका हुन्छन् । कारण– खोलाकै कमाइले उनले ३ जना छोराछोरीको पढाइलेखाइ धानिरहेका मात्रै छैनन् वर्षभरी खानको लागि केही सहज होस् भनेर कमाउने समेत गरेका छन् ।
भन्छन्, ‘मलाई वर्षा भारी होस्, खहरे उर्लियोस् अनि फाप्छ, मेरो जीविका चल्छ, नत्र के गरेर खाने ?’ उनले यस्तो कार्य गरेको वर्षौ भयो । ‘गरिखान के को लाज ? अघिल्लो वर्षको खहरे उर्लिँदा ६५ हजार कमाइएको थिएँ, यसपटक एक लाख रूपैयाँ कमाउने योजनामा लागिरहेको छु’, उनले भने ।
दर्केर भारी वर्षा भएपछि धरानका बीच–बीच भएर बग्ने खहरे उर्लिएपछि उनको कमाइ शुरू हुन्छ । उनी जब वर्षा हुन्छ अनि खहरे उर्लिन्छ अनि केही सेलाएजस्तो भएपछि पुगिहाल्छन् । धरानेले फालेका रित्ता प्लाष्टिकका खाली बोतल, टिन, फलाम साथै धरानेले कामै नलाग्ने भनेर फालेका अन्य वस्तु टिप्दै उनी कमाइ गर्छन् । उनले विशेषतः कोक, डिउ, फेन्टा, मिनीरल वाटर (पानीका बोतल) सङ्कलन गर्दै आएका छन् ।
उनले सेउती, सर्दु होइन धरान सहरका बीच–बीच भएर बग्ने खहरेबाटै आम्दानी गर्दै आएको सुनाए । ‘सर्दु र सेउतीमा केही हुन्नँ’, उनले थपे, ‘धरानका बीच भएर बग्ने खहरेबाट कमाइ हुन्छ ।’ उनले धरानबाट निस्कने फोहोरबाट पैसा कमाउन सकिन्छ भन्नेबारे थाहा पाएपछि यस्तो कार्य गर्दै आएको बताए । ‘साहुले किलोको १५ रूपैयाँ दिन्छन्’, उनले भने, ‘दिनमै २५ किलोसम्म पनि निकाल्ने गरेको छु ।’
घरमा तीन जना छोराछोरी रहेको उनको श्रीमती छैनन् । ‘श्रीमती बितिन्, अहिले तीनजना छोराछोरी छन्, उनीहरूकै पढाइलेखाइ साथै खानपिनका लागि भएपनि मरिहत्ते गरिरहेको छु ।’
धरान बाहिर जति सफाचट देख्छन् उनी खहरे पसेपछि दुर्गन्धित र फोहोरमैलाले भरिएको देख्छन् । उनी आखिर बोतल टिप्ने मात्रै काम गर्दा रहेनछन् । उनी बोतल टिप्दा आम्दानी हुने र खहरे पनि सफा हुने काम गरेको सुनाउँछन् । उनले खुलाए, ‘म बोतल मात्रै टिप्दिनँ, यहाँको वातावरणलाई सफाचट बनाउन यहाँ अल्झिएका र जेलिएका फोहोरका सामगञ्ी पनि मिल्काइदिँदै खहरेमै मिसाइदिने गरेको छु ।’
धरानेको घर सफा देख्ने उनी यस्ता सामगञ्ीको महत्व नबुझ्ने भन्छन् । ‘जे पायो त्यही बाटोमा मिल्काएको छ, खहरेमा स्वाट्टै ल्याएर मिल्काएको छ तर पनि यसको महत्व छ’, उनी हँस्यौली पारामा थप्छन्, ‘यस्ता सामग्री मुल्यवान कसिङगर हुन्, महत्व नबुझ्दा हाम्रो लागि बाँच्ने आधार बन्यो, यस्ता बोतलहरू खहरेभरी फालिदियौं है धराने ।’
सामग्री खोज्दा र छान्दा फोहोर हुने, बिरामी हुने साथै हातखुट्टा समेत काट्ने गरेको सुनाउने उनी गुनासो पनि गर्छन् । ‘आखिर जे जसरी भएपनि जीवन जिउनु रहेछ, जीवन जिउन कहाँ सजिलो छ र ?’
अहिले पनि धरान उपमहानगरपालिकाले फोहोर जङ्गलमा लगेर थुपार्ने गरेको थाहा पाएका उनले भने, ‘त्यहाँ पनि यस्ता खाली बोतलहरू थुप्रै पुगेको देखेको छु, धरानले फोहोरबाट मोहर पनि कमाउन सक्थ्यो तर त्यसो गर्दैन ।’
उनले धरानेले यस्तै फोहोर सामग्री फालेर खहरेमा वातावरण प्रदुषण गर्दै धरानलाई नै प्रदुषित गर्दै आएको गुनासो पोखे । ‘खाली बोतल मात्रै फालिदिए त हुन्थ्यो नि’, उनले भने, ‘थोत्रा कपडा, शिशा, तार लगायत जे भएको सबै फाल्छन, यस्ता सामग्रीले खहरेमा जेलिएर अन्य फोहोर सामग्री जम्मा हुँदा हुँदा फोहोर जम्छ, त्यस्ता सामग्रीले वातावरण प्रदुषण गराउँछन्, खोइ यतापट्टि ध्यान गएको ?’
फोटोः हाम्रो कोशी आवाज

प्रकाशित मिति: साउन १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend