धरानः उदयपुरको बेलका नगरपालिका–३ भोटेपुल नजिक कल्भर्टमा आएको बाढीले बगाएर बेपत्ता भएका धरान उपमहानगरपालिका–५ का ३५ वर्षीय कर्णबहादुर राई मृत फेला परेका छन् ।
साउन १२ गते धरानबाट सब्जी खेती लगाउन बेलका नगरपालिका–३ सिसौली टप्पु गएका राई साउन १३ गते राति ८ बजे प्रदेश १–०२–००२ च ४००५ नम्बरको गाडीमा घर फर्कदै गर्दा सो कल्भर्टमा बाढी आएको देखी चालकलाई गाडी रोक्न लगाई गाडीबाट ओर्लेर बाटो नियाल्ने क्रममा अचानक बाढीले बगाउँदा बेपत्ता भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
राई बेपत्ता भएको खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बुधबार बिहान ९ बजे बगाएको स्थान भन्दा करिव ५०० मिटर दक्षिण मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो प्रहरीले जनाएको छ ।