धरानः धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
बुधबार एकजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो । ‘एकजना सिकिस्त बिरामी विराटनगरबाट साढे १२ बजे ल्याइएको थियो, ती पुरुष हुन्’, प्रतिष्ठानका प्रवक्ता प्रा.डा निदेश सापकोटाले भने, ‘त्यसपछि भेन्टिलेटरमा राखेर उपचार गरियो, उपचारका क्रममा उनको निधन भयो ।’
साँझ ४ः४५ बजे पिसिआर पोजेटिभको निधन भएको हो । वर्ष ४५ का उनी मोरङ निवासी हुन् । अत्यन्तै सिकिस्त अवस्थामा चालकको मात्रै साथमा प्रतिष्ठानसँग समन्वय नगरिकन विराटनगरको कोभिड अस्पतालबाट यहाँ पठाइएको र उनको निधन भएको उनले जानकारी दिए ।
उनले ती ४५ वर्षीय पुरुषको समन्वय नगरीकन सिधै ड्राइभरले लिएर आएको बताए । ‘विराटनगरबाट समन्वय नै गरी पठाइएको समेत पाइयो’, उनले भने ‘समन्वय नभई पठाउनु दुःखद् हो ।’
प्रतिष्ठानमा यसअघि पहिलोपटक सप्तरीको राजविराजका एक वृद्धको उपचारको क्रममा निधन भएको थियो । उनी प्रदेश २ का हुन् । यस्तै, भेन्टिलेटरमा राखेर उपचार उपचार गरिएका महोत्तरी जिल्लाका ६० वर्षीय वृद्धको मृत्यु भएको थियो । उनी पनि प्रदेश २ का हुन् । प्रतिष्ठानमा विगत २४ घण्टामा ३ जना पिसिआर पोजेटिभ भर्ना भएको र हाल १९ जना उपचाररत रहेको उनले जानकारी दिए ।
धरान–१३ का युवामा कोरोना भेटियो
यता धरान–१३ का एक युवामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । २७ वर्षको एकजनाको पुरुषमा संक्रमणको पुष्टि भएको उनले जानकारी दिए ।
प्रतिष्ठानमा गरिएको पिसिआर टेष्टमा ती युवाको रिपोर्ट पोजेटिभ आएको उनले बताए । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि संक्रमित युवालाई प्रतिष्ठानको आइसोलेसनमा लगिएको उनले जानकारी दिए । यसअघि धरान–१३ कै एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको थियो । उनी निको भएर घर फर्किसकेकी छिन् । शीर्षक पुनः सच्याइएको छ ।
